तस्बिर : दीपेन्द्र ढुंगाना
२०७६ मङ्सिर १२ बिहीबार ०९:२६:००
प्रविता श्रेष्ठ

केही पुरिँदै केहीको पुनर्निर्माण

सहरका पोखरी

काठमाडौं बौद्धनाथ स्तुपाको पछाडि ‘घ्योइ लिसाङ शान्ति वाटिका’ छ । त्यसको मध्यभागमा रहेको पोखरीबारे स्थानीय बासिन्दाबाहेक कमैलाई जानकारी होला । बौद्धनाथ विकास समितिका अनुसार स्तुपा निर्माणका क्रममा हाल पोखरी रहेको स्थानको माटो प्रयोग गरिएको थियो । स्तुपा तयार भएपछि खाडल बनेको यस स्थानलाई पोखरीको रूप दिइयो ।

त्यसो त, प्राचीनकालमा काठमाडौं उपत्यका नै ठूलो ताल रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । जब तालको पानी बगेर बाहिर निस्कियो, उपत्यकामा मानवबस्ती बस्न थाल्यो । त्यसयता पनि उपत्यकामा प्रशस्त पोखरी थिए, जुन उपत्यकामा सहर विकाससँगै मासिँदै गएका छन् । त्यसरी नै मासिएको छ, ललितपुरस्थित प्रयागपोखरी । हाल जिल्ला खेलकुद विकास समितिको भवन रहेको यस ठाउँमा पोखरीको नामोनिशान छैन । हरेक वर्ष गाईजात्राका दिन पोखरीको सानो भागमा पानी भरिन्छ र पाटनका बासिन्दाले दिंवगत पितृको सम्झनामा बत्ती बाल्छन् । गाईजात्रा सकिनासाथ पानी सुकाइन्छ ।

ललितपुरकै इटापुख पोखरी विसं १९९० को भूकम्पका कारण सुकेको स्थानीय बासिन्दाको भनाइ छ, जुन अहिले सानो चतुर्भुज आकारमा खुम्चिएको छ । ललितपुरकै कुमारीपाटीमा सानो आकारमा खुम्चिएको छ, ‘तः पुखु’ । कुनै समय यो ११ रोपनीमा फैलिएको थियो । स्थानीय शैलेन्द्र श्रेष्ठका अनुसार यस पोखरीको जग्गा पञ्चायतकालमै लिलामी गरिएको थियो ।

हाल पोखरी परिसरमा गणेश, सरस्वती, नारायण, महांकाल र बुद्धका मूर्ति राखिएको छ । यस्तै, पुलचोकमा ३२ रोपनीमा फैलिएको ‘पलेस्वाँ पोखरी’ थियोे । नेपाली भाषामा यसको अर्थ कमलपोखरी हुन्छ, जुन अहिले सानो आकारमा खुम्चिएको छ । पोखरीको जग्गामा ललितपुर महानगरपालिकाको भवन, त्रिपद्म मावि र पर्यटक बसपार्क बनाइएको छ । ०२९ सालमै सर्वोच्च अदालतले अतिक्रमण हटाएर पोखरीलाई पुरानै स्वरूपमा फर्काउन आदेश दिएको थियो, तर कार्यान्वयन भएको छैन ।

पोखरी मासेर भवन, बसपार्क र विद्यालय भवनलगायत संरचना बनाउने क्रम बढेपछि अहिले स्थानीय बासिन्दा र नगरपालिकाहरूको पहलमा यस्ता पोखरी पुनर्निर्माण हुने क्रममा छन्

ललितपुर पाटनढोकानजिकै पर्छ, पिमबहाल पोखरी । पञ्चायतकालमै यसलाई पुरेर बजार स्थापना गर्ने प्रयास भएको थियो । तर, स्थानीयवासीको विरोधका कारण त्यो प्रयास असफल भयो । पाटनका बासिन्दाका लागि अहिले यो साँझबिहान टहलिने गन्तव्य बनेको छ । यस पोखरीलाई नेपाल भाषामा ‘जग मदु पुखु’ भनिन्छ, जसको अर्थ ‘जग नभएको पोखरी’ हुन्छ । यस पोखरीमा माछापालन पनि गरिएको छ । पानीको फोहरा, चाडपर्व विशेषमा चलाइने डुंगा र ढुंगेधाराले पोखरीको सौन्दर्य बढाएका छन् । पोखरी छेउमै रहेको मन्डा फल्चामाथि तीन सय वर्ष पुरानो माटोको गजुर यहाँको अर्को महत्वपूर्ण वस्तु हो । राजा सिद्धिनरसिंह मल्लको पालामा परेको खडेरीबाट पार पाउन यो पोखरी निर्माण गराइएको जनश्रुति छ ।

भक्तपुरको सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको करिब तीन सय वर्ष पुरानो भाजुपोखरी पनि पुनर्निर्माणको क्रममा छ । मध्यपुर ठिमी नगरपालिकाले पोखरीलाई पुनर्जीवन दिने प्रयास थाल्नुअघिसम्म यहाँ घाँसे मैदान थियो । सोही नगरपालिकाले स्थानीय ‘विष्णुकुण्ड’लाई पनि पुनर्जीवन दिएको छ । भक्तपुरमा मात्र आठवटा पोखरी पुनर्निर्माणको क्रममा छन् । ‘सहरी इलाकाका लागि पोखरी अपरिहार्य छन्,’ संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, ‘लिच्छवी र मल्लकालीन राजाहरूले उपत्यकामा पोखरी निर्माण गराएको पाइन्छ, जुन सहरी विकाससँगै मासिँदै गएका हुन् ।’ पोखरीको पानी जमिनले सोसेर मूल फुट्ने एक मुख्य आधार रहेको जानकारहरूको भनाइ छ । अहिले स्थानीय बासिन्दा र नगरपालिकाहरूको पहलमा पोखरीहरू पुनर्निर्माणका क्रममा छन् ।