मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी नयाँदिल्ली
२०७६ मङ्सिर ११ बुधबार ०९:५२:००
Read Time : > 1 मिनेट
विश्व

बहुमत जुटाउन नसकेपछि महाराष्ट्रका मुख्यमन्त्रीले दिए राजीनामा

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७६ मङ्सिर ११ बुधबार ०९:५२:००

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाभिसले राजीनामा दिएका छन् । मुख्यमन्त्रीको पद सम्हालेको ८० घन्टापछि फडनाभिसको राजीनामा आएको हो । सरकार गठन गर्न आवश्यक बहुमत नपुगेपछि उनले राजीनामा दिएका हुन् । उनलाई अदालतले बुधबारसम्म फ्लोर टेस्ट पास गर्न निर्देशन दिएको थियो ।

फडनाभिस र अजित पवारले शनिबार बिहान मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ लिएका थिए । सरकार गठन प्रक्रिया अप्रजातान्त्रिक र असंवैधानिक भएको भन्दै अन्य पार्टीले सर्वोच्चमा उजुरी दिएका थिए । 

२८८ सिट भएको महाराष्ट्रको विधानसभामा सामान्य बहुमत जुटाउन १४५ सांसदको समर्थन आवश्यक पर्छ । १०५ सिट भएको भाजपालाई ४० सिट आवश्यक थियो । विधानसभामा प्रतिनिधित्व गर्ने एनसिपीका ५४ सांसदको सहयोगबाट उसले सरकार गठन गर्ने दाउ गरेको थियो । तर, एनसिपीबाट तीनजना मात्र सांसदको समर्थन मिलेपछि भाजपा संकटमा परेको थियो । 

सरकार गठन गर्न आवश्यक बहुमत नपुगेपछि आफूले राजीनामा दिएको फडनाभिसले बताएका छन् । ‘एनसिपीका अजित पवारले उपमुख्यमन्त्रीबाट राजीनामा दिए । एनसिपीको साथ छ भनेर हामीले सरकार गठन गरेका थियौँ । तर, अजितले नै राजीनामा दिएपछि हामीसँग सरकार गठनका लागि पर्याप्त संख्या पुगेन ।

तसर्थ, मैले पनि राजीनामा दिएँ,’ फडनाभिसले भने । शिवसेनासँग शक्ति बाँडफाँडमा सहमति नभएपछि सरकार गठनमा समस्या भएको उनले स्वीकार गरे । ‘भाजपा र शिवसेनाको गठबन्धनलाई सरकार बनाउन जनताले म्यान्डेट दिएका थिए, तर शिवसेनाले यसलाई गणितीय रूपमा व्याख्या गर्न खोज्यो । उनीहरूको बार्गेनिङ पावर अझै बढ्न सक्ने हामीले महसुस ग-यौँ,’ उनले थपे ।

फडनाभिसलाई बुधबारसम्म फ्लोर टेस्ट पास गर्ने अदालतले निर्देशन दिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित साहबीच भेटवार्ता भएको थियो । तर, पार्टीले बहुमत सिद्ध गर्न नसक्ने भएपछि उनीहरूले फडनाभिसलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । फडनाभिसको राजीनामासँगै सरकार गठनका लागि दाबी पेस गर्दै आएको शिवसेना, राष्ट्रवादी कंग्रेस र कंग्रेस पार्टीलाई सरकार बनाउन गभर्नरले आह्वान गर्र्ने सम्भावना बढेको छ ।