१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ११ बुधबार ०८:४१:००
Read Time : > 1 मिनेट
सम्पादकीय

टोलटोलमा जिमखाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ११ बुधबार ०८:४१:००

केही महिनापहिले मात्र नेपाललाई घरघरमा शौचालय भएको देश भनेर घोषणा गरियो । एक समय थियो, खासगरी २००७ पछिका केही दशक नेपालमा गाउँगाउँमा विद्यालयको माग हुन्थ्यो । कुनै समय छोरी पढाउन अपिल गर्ने नेता र सामाजिक अभियन्ताले केही वर्ष शौचालयको वकालत गर्र्दै बिताए । आधुनिकतामा प्रवेश गरेसँगै नेपालीले परम्परागत सामाजिक तथा पारिवारिक र व्यक्तिगत मूल्य, पालना गर्दै आएका धारणा र मानिसको खाने, पिउने, बस्ने र दैनिक कर्मका अनेक पक्षलाई जाँच्न थाले । यसमा मन नपरेका पक्ष त्याग्दै गए । आफूलाई बाह्य विश्वअनुकूल बनाउँदै लगे ।

खाना बनाउन र खाने तरिका बदले । रुखासुुक्खा खानामा हरियोपरियो खानाको मात्रा बढाए । पोषणयुक्त खानाप्रति ध्यान गयो । यी परिवर्तनले हाम्रो जीवनशैली बदल्दै लग्यो । यससँगै कैयन् पुराना रोगले बिदा लिए । बिफर हरायो । हैजा लगभग हराउने दिशातिर गएको छ । तर, यही क्रममा मानिसको जीवनशैली अल्छे, कुर्सीमा बसेर बिताउने, गाउँबेसी नगर्ने, खेतीपाती खासै नगर्ने दिशामा बदलिँदै गयो । खाद्यान्नमा विषादी र रासायनिक पदार्थको मिसावट थपियो । जैविक खानालाई जंक फुडले विस्थापित गर्न थाल्यो । 

आफ्नो भान्छामा मात्र पाकेको खाएर नपुग्ने गरी जीवन व्यस्त भयो । यसले नयाँ रोग लाग्ने संख्या पनि थप्दै लग्यो । मुख्यतया सुगर, उच्च रक्तचाप, मुटुको समस्या, क्यान्सर लाग्नेहरूको संख्या थपिँदै गयो । यसबाट बच्ने अहिलेसम्मको कारगर उपाय भने मानिसको सक्रिय जीवनशैली नै देखिएको छ । यसको अर्थ सबैले कोदाली खन्नु या भारी बोक्नुपर्छ भन्ने होइन । सहरमा त बिहान–साँझ हिँड्न पनि बाटाको भिडभाड, सवारी साधनको चाप र धुलोधुवाँ बाधक बनेर देखा परेको छ । यसको समाधानको उपाय भनेको सकेसम्म धेरै नागरिकको सुलभ तरिकाले व्यायामशालासम्म पहुँच विस्तार गर्नु हो ।

भक्तपुर नगरपालिकाले टोलटोलमा निःशुल्क जिमखाना निर्माण गरेपछि व्यायामकै लागि महँगो शुल्क तिर्नुपर्ने निजी जिमखानासम्म पहुँच नभएका नागरिकलाई सुविधा पुगेको छ

अहिलेसम्म सरकारले आममानिसलाई लक्षित गरेर यस्ता व्यायामशाला बनाउने गरेको थिएन । केही खेल मैदान र कोठाभित्र खेलिने खेलका लागि खेल रंंगशाला भए पनि तिनमा गैरखेलाडीको पहुँच थिएन । यसको समाधान खोज्ने कामको अगुवाइ गरेको छ भक्तपुर नगरपालिकाले । यसै पनि भक्तपुर नगरपालिका आफ्ना नागरिकको जीवन सहज बनाउन अनेक उपाय अवलम्बन गर्नमा अग्रणी छ ।

स्वास्थ्य, शिक्षा, सार्वजनिक सडक र पूर्वाधार निर्माणमा जनपक्षधर काम गर्दै आएको भक्तपुर नगरपालिकाले नगरका विभिन्न टोलमा सबैले सहज रूपमा उपयोग गर्न पाउने गरी जिमखाना या व्यायामशाला बनाउन थालेको छ । यस्ता व्यायामशालामा स्थानीय वृद्धवृद्धा, बालबालिकासहित सबै उमेर समूहका नागरिकले निःशुल्क प्रवेश पाउँछन् ।

यो भक्तपुर नगरपालिकाको एक कदम अघि बढेको प्रगतिशील कार्य हो । यसले व्यायामशालाका लागि महँगो शुल्क तिर्नुपर्ने निजी जिमखानामा पहुँच नभएका नागरिकलाई सुविधा पु-याएको छ । मानिसलाई मनोरञ्जन, भेटघाट र व्यायामका लागि सार्वजनिक वृत्त उपलब्ध भएको छ । देशका सबै स्थानीय तहले यस्तो अभियान चलाउने हो भने जनस्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण फड्को हासिल गर्न सकिने निश्चित छ ।