२०७६ मङ्सिर ११ बुधबार ०८:१२:००

राजा वीरेन्द्रले बसाएको वीरेन्द्रनगर

सहर संवाद

प्रेमदेव गिरी, रंगकर्मी

सुर्खेतको वीरेन्द्रनगरलाई स्थानीयस्तरमा दोभानचौर, चौहान बजार र कालापानीका नामबाट पनि चिनिन्छ । यहाँ कहिलेदेखि बस्ती बस्न थाल्यो भन्ने यकिन छैन । खासगरी, दैलेखको गोठीकाँडाबाट सरकारी अड्डा यहाँ सार्न थालिएपछि बस्ती विकासको सुरुवात भएको मान्न सकिन्छ ।

०२४ सालमा औलो उन्मुलन भएको घोषणा हुनु अघिसम्म यहाँ थारू जातिका मानिस मात्र बस्थे । औलोको डरले त्यसअघिसम्म अन्य जातिका मानिस दिनभर खेतीपाती गर्ने र राति गौझेनी, गोठीकाँडा, जर्बुटा र कटकुवामा गएर बस्ने गर्थे । सबै जातजाति वीरेन्द्रनगरमा बस्न थालेको ०२४ सालपछि नै हो ।

तत्कालीन युवराज वीरेन्द्रले सुर्खेत उपत्यका खुबै मन पराएका थिए । सोही कारण तत्कालीन अञ्चलाधीश रामबहादुर रावलले कटकुवा नगरपञ्चायतलाई वीरेन्द्रनगर नामाकरण गराएका थिए । राजा भएपछि वीरेन्द्रले नै ०२९ सालमा नगर विकासका लागि निर्देशन दिएका थिए । सोही वर्ष वीरेन्द्रनगरमा नापी भयो । त्यसक्रममा राजा वीरेन्द्रले क्षेत्रीयस्तरको दरबार निर्माणका लागि रत्न राजमार्ग, भेरी नदी र सुर्खेत उपत्यकाको दक्षिणपूर्वी क्षेत्रमा रहेको ३४ बिघा जंगल छुट्याउन लगाएका थिए । ०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमालाई साथमा ल्याएर वीरेन्द्रले नै उपत्यकाको गुरुयोजना बनाउन लगाएका थिए ।

०२४ सालमा पब्लिक हाइस्कुल (हालको नमुना जन मावि) स्थापना भयो । त्यसपछि कर्णाली र भेरी अञ्चलका पहाडी जिल्ला तथा तराईका बाँके, बर्दिया र कैलालीका मानिस पनि सुर्खेतमा बसाइँ सर्न थाले । ०३० सालअघि नै यहाँ राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भइसकेको थियो । ०३० को दशकसम्म उपत्यकाको तल्लो भागमा उर्वर कृषियोग्य फाँट र माथितिर झाडी थियो । बढ्दो सहरीकरणसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ । यहाँको बस्ती र पर्यटन विकासमा काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै र शिव मन्दिरको महत्वपूर्ण भूमिका छ ।

वीरेन्द्रनगरले सहरको रूप लिनु अघिसम्म मंगलगढीचोकदेखि गणेशचोकसम्म बजार थियो । सुर्खेतको ग्रामीण भेग तथा दैलेख, कालिकोट, जुम्लालगायत जिल्लाका बासिन्दाको हाटबजार थियो, त्यो । कर्णालीका जिल्लामा उत्पादित घ्यू, सिमी, भटमास र मकै बिक्रीबाट आएको रकमबाट उनीहरू दैनिक आवश्यकताका सामान खरिद गरेर फर्किन्थे ।

खासगरी, पुस–माघमा यहाँ व्यापार राम्रो हुन्थ्यो । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा भएपछि वीरेन्द्रनगरमा बस्ती विकास तीव्र बन्यो । त्यसपछि नै हो वीरेन्द्रनगर मध्यपश्चिमाञ्चलका दशवटै जिल्लाको आकर्षणको केन्द्र बनेको पनि ।

तत्कालीन युवराज वीरेन्द्रले सुर्खेत उपत्यका खुबै मन पराएका कारण कटकुवा नगरपञ्चायतलाई वीरेन्द्रनगर नामाकरण गरिएको थियो । राजा भएपछि वीरेन्द्रले नै ०२९ सालमा यहाँ नगर विकासका लागि निर्देशन दिएका थिए ।

पहिलेको वीरेन्द्रनगरका सडक साँघुरा र धुलाम्य थिए । ०३३ सालमा रत्न राजमार्ग सञ्चालनमा आउनुअघि नेपाल वायु सेवा निगमले काठमाडौंबाट सीधा उडान गथ्र्यो । हवाई सेवा प्रयोग गर्न सक्ने वर्ग जहाज चढेर काठमाडौं जान्थे । कमजोर आर्थिक अवस्थाका मानिस पैदल नेपालगन्ज पुगेर गाडी चढ्थे । ०४० को दशकमा मात्र निजी विद्यालय खुल्न थाले । वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थी आउन थाले ।

सुर्खेत कर्णाली प्रदेशको प्रवेशद्वार हो । सोही कारण प्रदेशका सबै जिल्लासँग सुर्खेतको गठिलो सम्बन्ध छ । यहीँबाट सुरु हुने कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड दुई सय ३२ किलोमिटर लामो छ । छिन्चु हुँदै जाजरकोट र रुकुमको चौरजहारीसम्म पनि सडक निर्माण भएको छ । सुर्खेतबाट जुम्ला, मुगु, डोल्पा र हुम्लामा सीधा हवाई सम्पर्क छ । कर्णाली प्रदेशको स्थायी राजधानी तोकिएसँगै यसको भविष्य आशालाग्दो बनेको छ । तथापि, विद्युतीकरणको समस्याका कारण यहाँ उद्योग, कलकारखाना खुल्न सकेका छैनन् । पछिल्लो समय ठूला लगानीका होटेलहरू खुल्ने क्रम बढेको छ । शुभ, सिद्धार्थलगायत होटेलले पर्यटकीय आकर्षण पनि बढाएका छन् ।