मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ मङ्सिर १० मंगलबार ११:४४:००
Read Time : > 1 मिनेट
नयाँCity

भक्तपुरका वडापिच्छे जिमखाना

Read Time : > 1 मिनेट
प्रविता श्रेष्ठ काठमाडाैं
२०७६ मङ्सिर १० मंगलबार ११:४४:००

वर्ष दिनअघि भक्तपुर नगरपालिकाले निःशुल्क व्यायाम गर्ने सामानको जोहो थाल्यो । सुरुमा केही वडामा परीक्षणका रूपमा व्यायामकेन्द्र खोलियो । तिनमा नगरवासी आकर्षित भएको देखेर वडापिच्छे विस्तार गरियो । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिका अनुसार सुरुमा वडाका लागि मात्र तोकिएका व्यायामकेन्द्र अहिले पायक पर्ने स्थानमा राख्न थालिएको छ ।

त्यसपछि नै हो, भक्तपुर डेकोचास्थित ख्वप उच्चमाविको खेल मैदाननजिक निःशुल्क व्यायामकेन्द्र खुलेको । केही महिनायता यस व्यायाम केन्द्रमा साँझबिहान शारीरिक अभ्यास गर्न स्थानीय बासिन्दाको जमघट हुने गरेको छ । ख्वप कलेजमा अंग्रेजी विषयमा स्नातकोत्तर अध्ययनरत पलिस्था रञ्जितकार ‘क्लास बे्रक’ मा जिउ तन्काउँदै जिमका साधन चलाउँछिन् । ‘साथीभाइसँग जिम गर्दा रमाइलो हुन्छ, शरीर पनि फुर्तिलो,’ उनी भन्छिन् । उनीजस्तै ख्वप कलेजका विद्यार्थी ‘क्लास बे्रक’मा शारीरिक व्यायाम गरिरहेका भेटिन्छन् । ख्वप इन्जिनियरिङ कलेजमा पनि निःशुल्क व्यायामकेन्द्र स्थापना भएको छ ।

कमलविनायक–१० का ६५ वर्षीय कृष्णलाल श्रेष्ठ स्थानीय कमलपोखरी छेउको व्यायामकेन्द्रमा नियमित पुग्छन् । ‘मलाई खुट्टा दुख्ने समस्या छ । यहाँ आएर खुट्टाको व्यायाम गर्छु,’ उनी भन्छन्, ‘साथीभाइलाई पनि यहीँ भेट्दा समय बिताउन सजिलो भएको छ ।’ पूर्वखेलाडी राजेन्द्रमान श्रेष्ठका अनुसार व्यायामकेन्द्रमा रहेका सबै उपकरण जोखिममुक्त छन् । तर, आफूखुसी गरिने व्यायामका क्रममा सतर्कता अपनाउनुपर्ने उनी बताउँछन् । विदेश भ्रमणका क्रममा देखेका जिमखानाबाट प्रभावित भएर नगरमा पनि त्यस्तै व्यवस्था मिलाएको मेयर प्रजापति बताउँछन् ।

सुरुमा बालबालिका र वृद्धवृद्धा व्यायामकेन्द्रमा बढी देखिन्थे । अहिले गृहिणी पनि आउन थालेका छन् । युवायुवती र कलेजका विद्यार्थी पनि दैनिक व्यायामकेन्द्रमा आएर शारीरिक अभ्यास गर्छन् ।

‘विगतमा खेती किसानीका कारण प्रसस्त शारीरिक कसरत हुन्थ्यो र रोग पनि कमै लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले शारीरिकभन्दा मानसिक व्यायाम बढी हुनाले हाडर्जोनी, मधुमेह, मुटु, नसा र दमजस्ता रोग नगरवासीमा बढी देखिएको छ ।त्यसैले नगरवासीलाई शारीरिक व्यायाममा आकर्षित गर्ने प्रयास थालेका हौँ ।’ व्यस्त जीवनशैलीमा जंगफुडको अधिक उपभोग र शारीरिक अभ्यास कम हुने भएकाले नगरवासीमा रोग लाग्ने समस्या बढी देखिएको प्रजापतिको भनाइ छ । नगरवासीलाई त्यस्ता रोगबाट मुक्त राख्न व्यायामकेन्द्र स्थापनाको सल्लाह दिएको उनी बताउँछन् ।

हालसम्म भक्तपुर नगरपालिकाका १३ स्थानमा व्यायामकेन्द्र खुलिसकेका छन् । सुरुमा बालबालिका र वृद्धवृद्धा व्यायामकेन्द्रमा बढी देखिन्थे । अहिले गृहिणी पनि आउन थालेका छन् । व्यायामकेन्द्रमा बिहान केही समय बिताउँदा शरीर फुर्तिलो बनेको कमलविनायक–१० की सप्तलक्ष्मी लवजु बताउँछिन् । व्यायामकेन्द्र खुल्नुअघि उनी बिहान कमलपोखरी वरिपरि फेरो मार्थिन् । भन्छिन्, ‘अहिले जिमखानातिर आफैँ पाइला मोडिन्छन् ।’ युवायुवती र कलेजका विद्यार्थी पनि दैनिक व्यायामकेन्द्रमा आएर शारीरिक अभ्यास गर्छन् । बिहान र साँझ यस्ता केन्द्रमा नगरवासीको भिड लाग्छ ।