२०७६ मङ्सिर १० मंगलबार ११:३७:००
उज्वल काफ्ले

छैनन् बालबालिका खेल्ने मैदान

कुनैवेला खुला टुँडिखेलमा मानिस भेला भएर दुःख, सुखका कुराकानी गर्थे । फुटबल खेलेर मनोरन्जन गर्थे । अहिले काठमाडौं उपत्यकामा खुला ठाउँ कम हुँदै गएका छन् । खुला ठाउँमा रुख, चराचुरुंगी, पुतली र बगैँचा हुन्छन्, जसले आँखा र मन दुवैलाई आनन्द दिन्छन् । त्यस्ता ठाउँमा खेल्दा बालबालिकामा यस जगतमा मानिस मात्रै होइन, अन्य जीवजन्तुसमेत छन् र तिनलाई पनि आदर गर्नुपर्छ भन्ने सोच पलाउँछ ।

सार्वजनिकस्थल आममानिसको प्रयोगका लागि हुन् । व्यक्तिले बनाएका पार्कमा बालबालिका दौडिने ठाउँ हुँदैन । उनीहरूले हरियो घाँस किताबमा मात्र पढेका छन् । फूलको बासना नजिकबाट अनुभूति गर्न पाएका छैनन् । पुतलीलाई नजिकबाट नियाल्न पाएका छैनन् ।

ट्याब्लेट, मोबाइललगायत विद्युतीय सामग्रीमा एकोहोरिँदा बालबालिका खेल्ने अवसरबाट वञ्चित भएका छन् । आपसमा कसरी बोल्ने भन्ने पनि उनीहरूले सिक्न पाएका छैनन् । यो हरेक अभिभावकका लागि डरलाग्दो अवस्था हो ।

त्यसको कारण हो, सहरी इलाका होचा, अग्ला भवनले भरिनु । एउटा ठूलो ‘अपार्टमेन्टमा’ एक सय परिवार बस्छन् । ती परिवारमा एक मात्र सन्तान हुँदा पनि तीन सय जनसंख्या बस्छ । धेरै परिवार भएको ठाउँमा खुला ठाउँ कम हुन्छ । बालबालिकाले घरभित्र खेल्न पाउँदैनन् । ‘बालबालिकासम्बन्धी ऐन’को दफा १४ को उपदफा १ मा ‘प्रत्येक बालबालिकालाई निजको उमेर र रुचिअनुसार खेल्ने र खेलकुदमा सहभागी हुने अधिकार हुनेछ,’ भनिएको छ । तर, अहिलेका बालबालिकालाई खेल्ने ठाउँ नै छैन । उनीहरूमाथि अन्याय भइरहेको छ । शारीरिक र मानसिक विकासका लागि बालबालिकाले खेल्न जरुरी छ । खेल्न पाएका बालबालिकाको स्मरणशक्ति तेज हुने विज्ञानले नै प्रमाणित गरेको छ । त्यसैले उनीहरूका लागि प्रशस्त खेल मैदान हुनुपर्छ । घरबाट १० मिनटमा पुग्ने ठाउँमा खुला स्थान हुनुपर्ने मान्यता छ । तर, अहिले हुर्किँदै गरेको बच्चा एक कोठाबाट अर्काे र धेरै भए भर्‍याङसम्म पुग्न सक्छ । खुला ठाउँमा पुगेर दौडिन र उफ्रिन पाउँदैन ।

पार्कमा राखिने पिङ, सुरेलीजस्ता खेलबाट बालबालिकाले शारीरिक अभ्यास मात्र होइन, अनुशासन पनि सिक्छन् । साथमा उनीहरूले समाजको नियम पनि सिक्न पाउँछन् । घरमै बसेर ट्याब्लेट, मोबाइललगायत विद्युतीय सामग्रीमा एकोहोरिँदा उनीहरूले त्यस्तो अवसरबाट वञ्चित हुनुपरिरहेको छ । बालबालिकाले आपसमा कसरी बोल्ने भन्ने पनि सिक्न पाएका छैनन् । यो हरेक अभिभावकका लागि डरलाग्दो अवस्था हो ।

काठमाडौं उपत्यकामा अहिले उपलब्ध खुला ठाउँ पर्याप्त छैनन् । अझै धेरै पार्क र खेल्ने ठाउँ आवश्यक छन् । खुला ठाउँ भाडामा दिएर महल बनाउने र विद्यालयको खाली मैदानमा पसल थाप्न दिने शृंखला अन्त्य हुनुपर्छ ।

सहरी इलाकाका घरछेउमा ससाना ‘ग्रिन स्पेस’ देख्न पाइन्छ । तर, ती कुनै मापदण्डमा आधारित छैनन् । प्रशस्त खुला ठाउँ नहुँदा सहरी इलाकामा सास फेर्नै गाह्रो भएको छ ।

नक्सालको फोहोर फाल्ने चौरलाई अहिले आममानिस मिलेर सुन्दर ‘नारायणचौर’ बनाएका छन्, जहाँ वयस्कले मर्निङवाक गर्न पाएका छन् भने बालबालिकाले खेल्न । फनपार्कहरू र जावलाखेलस्थित चिडियाखाना परिसरका पिङ र सुरेलीमा बालबालिका रमाइरहेका भेटिन्छन् । त्यसरी खेल्न पाएका बालबालिकाको मुहारमा धेरै खुसी झल्किन्छ । चिडियाखानामा चराचुरुंगी, बाघ, हात्ती, बाँदरलगायत जनावर देख्न पाउँछन्, उनीहरूले । शंखधर उद्यानमा पनि बालबालिकाको आकर्षण देखिन्छ । तर, त्यति ठाउँ मात्र पर्याप्त छैनन् । अझै धेरै पार्क र खेल्ने ठाउँ आवश्यक छन्, काठमाडौं उपत्यकामा । खुला ठाउँमा गाडीका टायरलाई बलियो गरी झुन्ड्याएर राख्दा पिङ बन्छ भने आधा–आधा गरेर भुँइमा राखे सुरुङ । बालबालिकाले कागज, काठको गाडी बनाएर खेल्न सक्छन् । ससाना सामग्रीबाट घर र तिनका ढोका बनाउन सक्छन् । त्यसबाट उनीहरूमा सिर्जनशीलताको विकास हुन्छ । त्यसैले खुला ठाउँ भाडामा दिएर महल निर्माणको शृंखला रोक्नुपर्छ । विद्यालयको खाली मैदानमा अन्य मानिसलाई पसल थाप्न दिनुहुँदैन । स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।