१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कमल खत्री 
२०७५ पौष २८ शनिबार ११:४९:००
Read Time : < 1 मिनेट
प्रदेश

मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण

Read Time : < 1 मिनेट
कमल खत्री 
२०७५ पौष २८ शनिबार ११:४९:००

म्याग्दीको मालिका गाउँपालिकाको ७ वटै वडामा हेलीकोप्टर अवतरण गर्न (हेलीप्याड) निर्माण गरिएको छ ।

शसस्त्र प्रहरी बल गलेश्वर बेस क्याम्पका प्रहरी नायव उपरीक्षक अनिल कार्कीको नेतृत्वमा खटिएको टोलीले सबै वडामा ढलान गरेर हेलीप्याड निर्माण गरेका हुन् । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउन जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको एक नगरपालिका र  ५ गाउँपालिकाका ४५ वटै वडामा हेलीप्याड बनाउने निर्णय गरेको थियो ।

गाउँपालिका र वडा कार्यालयले उपयुक्त रुपमा जग्गा छनौट गरेपछि सुरक्षा निकाय, जनप्रतिनिधि, युवा क्लब र स्थानीयबासीको सहयोगमा हेलीप्याड निर्माण भएको हो । सबै वडामा हेलीप्याड निर्माण गर्ने मालिका गाउँपालिका नेपालकै पहिलो स्थानीय तह बनेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । 

'गत कात्तिक अन्तिमबाट जिल्लाको हरेक वडामा हेलीप्याड निर्माण गर्ने अभियान सुरु भएको थियो, मालिका गाउँपालिका प्रत्येक वडामा हेलीप्याड निर्माण गरिएको छ, अन्य स्थानीय तहमा बनाउने तयारीमा छौं', प्रअिज अधिकारीले भने, 'अहिले मंगला गाउँपालिकाको हिदी र कुहुँको महभिर, रघुगंगा गाउँपालिकाको पाखापानीमा हेलीप्याड निर्माण भइसकेको छ ।'

सबै वडामा हेलीप्याड निर्माण पश्चात भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तीहरुमा आकस्मिक बिरामी, दुर्घटना, प्राकृतिक प्रकोप र विपदको समयमा उद्धार तथा राहतको कामलाई सहज हुने अपेक्षा गरिएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

जिल्लामै पहिलो नाइट ल्याण्डीङ हेलीप्याड निर्माण
हेलीप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले प्राबिधिक सहयोग गरेको छ । गुल्मले रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माणको तयारी गरेको छ । 

अर्थुङ्गेस्थित नेपाली सेनाको गुल्म परिसरमा रहेको हेलीप्याडलाई स्तरोन्नती गरी जिल्लामै पहिलो रात्रीकालिन अवतरणयुक्त ‘नाईट ल्याण्डीङ्ग’ हेलीप्याड निर्माण भएको गुल्मपति राजन दाहालले बताए ।