मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नया पत्रिका
२०७५ पौष २८ शनिबार ११:३१:००
Read Time : > 2 मिनेट
अर्थ

१२ औं चितवन महोत्सव : के भन्छन् संयोजकहरु

Read Time : > 2 मिनेट
नया पत्रिका
२०७५ पौष २८ शनिबार ११:३१:००

गुरुयोजनाअनुसार नारायणी  नदी–किनारको विकास
प्रचण्डलाल प्रधान 
पूर्वसंयोजक, महोत्सव मूल आयोजक समिति
पूर्वअध्यक्ष, उद्योग वाणिज्य संघ चितवन

पहिलो, दोस्रो र तेस्रो संस्करणको चितवन महोत्सव लगातार भरतपुरको क्याम्पाचौरमा आयोजना भयो । ०५९ सालदेखि भने चितवन महोत्सव नारायणी नदी–किनारमा आयोजना गरिँदै आएको छ । महोत्सवको चौथो संस्करणसम्म आइपुग्दा स्टलको संख्यासँगै अवलोकनकर्ताको आगमन पनि उल्लेख्य रूपमा बढ्यो ।  त्यसैले नारायणी किनार एक मात्र विकल्प बन्न पुग्यो । तर, त्यस समयसम्म नारायणीको ढुंगेबगर फोहोरको डंगुरले भरिएको थियो । नदीमा पर्यटकले नौका बिहारमा देखाएको चासोले महोत्सव नारायणी किनारमा गर्ने योजना मात्र बनेन, त्यसले नदी–किनारको संरक्षणमा सहयोग पुग्न थाल्यो । महोत्सवको खर्च कटाएर बचत रहेको रकम नदी–किनारको सरसफाइमा खर्च गरियो । त्यसपछि हरेक वर्ष महोत्सव नारायणी किनारमै गरिँदै आएको छ ।

सार्वजनिक निजी–साझेदारी कार्यक्रमको विकसित र परिस्कृत रूप दिँदै नदी–किनारको बहुउपयोग गर्न गुरुयोजनासमेत बन्यो । ०५७ सालमा बालकुमारी उच्च माविअगाडि बृहत् महायज्ञ गरेर गुरुयोजनाको खाका तय गर्ने क्रम सुरु भएको थियो । नारायणी नदीसँंगै रहेको नगरवनको समुचित प्रयोग गरी रात्रि सफारी पार्कका रूपमा स्थापित गर्न सकिए पर्यटन विकासमा एउटा इँटा थपिनेछ । नदीमा डुंगा सयरले व्यावसायिक रूप लिँदा यसको प्रयोगमा विस्तार हुनेमा पनि दुई मत छैन । नदी–किनारलाई पार्कको रूप दिन विभिन्न संघ–संस्था लागिपरेका छन् । तर, केहीले जथाभावी निर्माण गरेको संरचनाले गुरुयोजनामै असर पार्ने पनि देखिएको छ । त्यसैले तत्काल गुरुयोजना लागू गर्नुपर्ने देखिएको छ ।

अवलोकनकर्ताको सहजताका लागि सचिवालय
चिरञ्जीवी सुवेदी  
संयोजक, महोत्सव सचिवालय तथा व्यवस्थापन समिति

हाम्रो टिमले सचिवलयसँगै महोत्सवको विभिन्न पक्षको व्यवस्थापन गर्नेे जिम्मेवारी पाएको छ । सचिवालय निर्माण, आकर्षक बगैँचा निर्माण, शौचालय व्यवस्थापन, महोत्सवको सिसी क्यामेराको जिम्मा समितिलाई छ । महोत्सवस्थलमा देखिएका कुनै पनि समस्या समाधानका लागि हाम्रो टिम सक्रिय छ । हामीले यसपटक दर्शकलाई सहज होस् भनेर महोत्सव एरिया बढाएको छौँ भने बीचको बाटो पनि त्यहीअनुरूप व्यवस्थित बनाएका छौँ । महोत्सवमा आउने हरेक अवलोकनकर्ताको सहजताका लागि सचिवालय र व्यवस्थापन समिति निरन्तर लागिपरेको छ । 

छुट्टै परिसर बनाएर प्रदर्शनी
चुननारायण श्रेष्ठ 
संयोजक, प्रदर्शक व्यवस्थापन समिति

महोत्सवमा वस्तु प्रदर्शनी एकदमै व्यवस्थित तरिकाबाट गरिएको छ । एकै किसिमका वस्तुको प्रदर्शन छुट्टै परिसर नै बनाएर थप व्यवस्थित बनाउने काम भएको छ । विद्युतीय परिसर, पोल्ट्री परिसर, आइटी परिसर, कन्सल्टेन्सी परिसर, मेड इन नेपाल परिसर, अटो मोबाइल परिसरमा सन्तुलित ढंगबाट राखिएको छ । महोत्सवमा ३३ भन्दा बढी जिल्लाबाट राष्ट्रिय तथा स्थानीयस्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरू प्रदर्शन गर्न ल्याइएका छन् । वैज्ञानिक तथा व्यवस्थित प्रदर्शनीका कारण प्रदर्शक र अवलोकनकर्ता दुवैलाई सहज भएको देखिएको छ ।

महोत्सवलाई टेवा पु-याउन स्मारिका र गोष्ठी
सिद्धार्थलाल चुके
संयोजक, स्मारिका प्रकाशन तथा साहित्य गोष्ठी व्यवस्थापन समिति

साहित्य गोष्ठी तथा स्मारिका प्रकाशनले चितवन महोत्सवलाई थप टेवा पु-याउने हाम्रो अपेक्षा छ । महोत्सव अवधिमा आयोजना गरिँदै आएको राष्ट्रियस्तरका गोष्ठीहरूले जिल्लाका कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलगायतका थप क्षेत्रलाई समेत उजागर गर्न सहयोग पुग्दै आएको छ । यस वर्ष पनि हामीले १२औँ चितवन महोत्सव– २०७५ को स्मारिका प्रकाशन गरिसकेका छौँ भने माघ २ गते हुने साहित्यिक गोष्ठी हुँदै छ । गोष्ठीमा गीत, गजल तथा कविता वाचन हुनेछ । यसले जिल्लाका साहित्यकारलाई प्रोत्साहन गरेको छ । महोत्सवकै अवसरमा उद्योग वाणिज्य संघ चितवनले नेपाली र अंग्रेजी दुवै भाषामा पर्यटक गाइड बुक पनि विमोचन गरेको छ ।

सुरक्षामा कमी हुन नदिन स्मार्ट टेक्नोलोजी
राजेन्द्र ओली 
संयोजक, आन्तरिक  सुरक्षा व्यवस्थापन समिति

१२औँ चितवन महोत्सवको सुरुवात गर्दै गर्दा विगतका महोत्सवहरूले हामीलाई धेरै पाठ सिकाएको छ । विगतका सुरक्षा चुनौतीहरूलाई विश्लेषण गरेर यसपटक महोत्सवलाई सभ्य र भव्य बनाउन त्यहीअनुसारको सुरक्षा व्यवस्था मिलाएका छौँ । महोत्सव स्थलमा पर्याप्त मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले पनि एकदमै राम्रो सहयोग गरिरहेको छ । सुरक्षामा कुनै कमी हुन नदिन स्मार्ट टेक्नोलोजी प्रयोग गरिएको छ । व्यावसायिक स्टलमा सुरक्षाका लागि सिसी क्यामेरा, ड्रोन पनि प्रयोग गरिएको छ । त्यस्तै नारायणी नदी–किनारमा उद्धार टिम पनि खटाइएको छ ।

महोत्सवको आकर्षण बढाउन सांस्कृतिक कार्यक्रम
रोहितकुमार श्रेष्ठ 
संयोजक, सांस्कृतिक कार्यक्रम व्यवस्थापन समिति

महोत्सवका लागि सांस्कृतिक कार्यक्रम आकर्षण बढाउने माध्यम बन्दै आएको छ । त्यसैले पनि महोत्सवमा सांस्कृतिक कार्यक्रम अनिवार्य रहेको छ भने त्यसका लागि सांस्कृतिक उपसमिति नै गठन गरिँदै आएको छ । नारायणी कला मन्दिर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवन र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति चितवन सहसंयोजक रहने गरी काम भएको छ । महोत्सवमा चितवन डान्सिङ स्टार, अन्तरविद्यालय नृत्य प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता र नारायणी कला मन्दिरबाट अप्रतियोगी नृत्य मात्रै २५ वटाभन्दा बढी रहनेछ । महोत्सवमा विभिन्न जातजातिको वेशभूषा तथा झाँकी प्रदर्शन पनि रहेको छ ।