Skip This
Skip This

पर्यटनमा केन्द्रित चितवन महोत्सव

२०७५ पौष २८ शनिबार ११:२७:००

चितवन महोत्सवको मुख्य प्रवेशद्वारको सजावट निकै आकर्षक बनाइएको छ । चितवनका मुख्य १० वटा पर्यटकीय स्थललाई प्रवेशद्वारको माथिपट्टि फोटोमार्फत कलात्मक ढंगले देखाइएको छ । सौराहा, बीसहजारी ताल, देवघाटधाम, पटिहानी जिप सफारी, लामो झरना, मेघौली, कसरा, वाल्मीकि आश्रम, सिन्ती झरना र सिलाइचुलीले प्रवेशद्वारमा स्थान पाएका छन् । आकर्षक गेट र त्यसमाथिको तस्बिरले महोत्सवमा आउने सबैलाई एकपटक नजर माथितिर पनि पु¥याउन बाध्य बनाइरहेको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । त्यसैले सरकारको योजनालाई सहयोग पु¥याउने उद्देश्यले चितवन महोत्सव पनि पर्यटनमा केन्द्रित गरिएको महोत्सव आयोजकहरूले बताएका छन् । पर्यटनलाई बढावा दिने काम महोत्सव स्थलको मुख्य प्रवेशद्वारबाटै सुरु गरिएको छ ।

हुनत चितवन यसै पनि नेपालको एक मुख्य पर्यटकीय गन्तव्य हो । पर्यटक आगमन संख्याका हिसाबले तेस्रो स्थानमा रहेको चितवनलाई दोस्रो गन्तव्य बनाउने महोत्सवको मूल उद्देश्य नै हो । त्यसैले महोत्सवमा आउने अवलोकनकर्ता तथा पर्यटकलाई समग्र चितवनको पर्यटकीय स्थलहरूबारे जानकारी दिन यस्तो अभ्यास गरिएको हो । वन्यजन्तु, ताल र वन क्षेत्रका तस्बिरहरूले प्रवेशद्वारलाई थप आकर्षक बनाइएको छ । महोत्सवभित्र जाने र आउने छुट्टाछुट्टै बाटोमा हात्तीका दुईवटा मूर्ति कुँदिएका छन् । मूलगेटबाटै महोत्सवका आकर्षणहरू देख्न सकिन्छ । जहाँ महोत्सव अवलोकनकर्ताहरू तस्बिर लिन भ्याइनभ्याई भएको देखिन्छ ।

पर्यटन प्रबर्द्धनका लागि स्टल  
५ सय ७० वटा स्टल रहेको महोत्सवको मुख्य उद्देश्य भनेकै चितवनको पर्यटन क्षेत्रहरूको विकास गर्नु र ती क्षेत्रहरूलाई चिनाउनु हो । चितवनलाई पर्यटनको दोस्रो गन्तव्य बनाउन महोत्सवमा त्यहीअनुसारको काम भएको देखिन्छ । चितवन महोत्सवमा रहेका केही स्टल विशेष रूपमा नै पर्यटकीय गतिविधि झल्कने गरी सजाइएको छ । स्थानीयस्तरबाटै महोत्सवको माध्यमबाट पर्यटकीय क्षेत्र चिनाउन सकिने उद्देश्यले स्थानीयहरू सक्रिय भएको देखिन्छ । 

धार्मिक पर्यटनप्रबर्द्धनका लागि माडी नगरपालिकाको संयोजनमा माडी नगर विकास समितिले पनि महोत्सवमा स्टल राखेको छ । माडीको पर्यटकीय क्षेत्रको प्रबर्द्धन र प्रचार–प्रसारका लागि महोत्सवमा स्टल राखिएको समितिका सचिव गोविन्द न्यौपाने बताउँछन् । स्टल चितवनको हरियो वनभित्रको स्वर्ग माडीको प्रचार–प्रसारका लागि महत्वपूर्ण हुनेमा माडीका स्थानीय ढुक्क देखिन्छन् ।

माडी नगर विकास समितिको उक्त स्टलमा प्रख्यात चित्रकारहरूले बनाएको माडीको पहिचान झल्कने २६ वटा क्यानभास चित्र, माडीको विषयमा लेखिएका ब्रोसर र पम्प्लेटहरू पनि राखिएको छ । जसमा माडीमा सोमेश्वर क्षेत्र, पाण्डवनगर क्षेत्र, वैकुण्ठताल क्षेत्र, गोद्दक क्षेत्रलगायतका दर्जनौँ पर्यटकीय स्थलहरू रहेका छन् ।

सरकारले छनोट गरेको नयाँ सयवटा पर्यटकीय स्थलमध्ये चितवनकै पटिहानी पर्यटकीय क्षेत्रको पनि महोत्सवमा विशेष स्टल राखिएको छ । पटिहानी पर्यटन सूचना केन्द्रको उक्त स्टलमा पटिहानीको पर्यटकीय स्थलहरूलाई भिडियो, ब्रोसर र पम्प्लेटहरूमार्फत चिनाउन र देखाउन खोजिएको छ । माडी र पटिहानीको जस्तै विभिन्न स्थानीय होटेलहरूले पनि महोत्सवमा पर्यटक भित्र्याउने गतिविधिलाई तीव्रता दिएको पाइन्छ । यसअघि महोत्सवकै अवसरमा उद्योग वाणिज्य संघ चितवनले नेपाली र अंग्रेजी दुवै भाषामा रहेको पर्यटक गाइड बुक पनि विमोचन भएको छ ।

 सांस्कृतिक घरहरू
१२औँ चितवन महोत्सवको आकर्षणका रूपमा सांस्कृतिक घरहरू पनि परेको छ । महोत्सव स्थलमा आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरूको निर्माण गरिएको छ । महोत्सवमा कुमाल, चेपाङ, बोटे र दरै जातिका जातीय घरहरू पनि प्रदर्शनमा राखिएको छ । नेपाल आदिवासी जनजाति महासंघ चितवनको संयोजनमा ती घरहरू निर्माण गरिएका हुन् । निर्माण भएका घरहरूमा उनीहरूका संस्कार र संस्कृतिअनुसारको परम्परागत सामग्रीहरूसमेत राखिएको छ । महोत्सव अवलोकन गर्न आउने नयाँ तथा पुराना पुस्ताहरूले उक्त घरहरूलाई विशेष महŒवका साथ अवलोकन गरेको देखिन्छ । विभिन्न जातजातिको वेशभूषा लगाएर फोटो खिच्न सकिने व्यवस्थासमेत आयोजकले गरेको छ ।

 महोत्सवमा चिडियाघर
महोत्सव स्थलभित्र कृत्रिम चिडियाघरमा नेपालमा रहेका दुर्लभ वन्यजन्तुहरूको आकृति सजाएर राखिएको छ । कृत्रिम चिडियाघरमा अवलोकनकर्ताले जनावरको स्वरूप मात्र होइन, उनीहरूको आवाजसमेत सुन्न पाउँछन् । कृत्रिम चिडियाघरमा २० प्रकारका वन्यजन्तुहरूको स्वरूप देख्न पाइन्छ । विश्वमै लोपोन्मुख प्रजातिका वन्यजन्तु पाइने चितवनमा कंगारु, जिराफ, पाण्डाजस्ता जनावरहरू चितवन महोत्सवमा छन् । यीसँगै नेपालमा पाइने हात्ती, गैँडा, बाघ पनि रहेका छन् । जंगलमा पाइने अनौठा जीवजन्तु, चराचुरुंगी एकैसाथ महोत्सवमा हेर्न सकिन्छ ।

जनचेतना जगाउन विद्युत् परिसर
विद्युत् व्यवसायी संघ चितवनद्वारा चितवन महोत्सवमा सञ्चालित इलेक्ट्रिक परिसरमा उत्साहजनक सहभागिता देखिएको छ । नवीनतम प्रविधियुक्त विद्युतीय सामग्रीहरूको प्रदर्शन भएकाले पनि यस परिसरमा सहभागिता बढेको देखिन्छ । विशेषतः गुणस्तरीय विद्युतीय सामग्रीहरूको मात्र प्रदर्शनी रहेको यस परिसरमा अवलोकनकर्ताले सामग्रीको मूल्य, गुणस्तर, वारेन्टीका सम्बन्धमा बढी जिज्ञासा राख्ने गरेको विद्युत् व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछाने बताउँछन् । उनका अनुसार महोत्सवमा इलेक्ट्रिक इन्जिनियर, विद्यार्थी, इलेक्ट्रिसियन, उपभोक्तालगायतको उत्साजनक सहभागिता रहेको छ ।

संघले यस परिसरलाई आमउपभोक्तामा जनचेतना बढाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डेड सामग्रीको जानकारी दिने परिसरका रूपमा प्रचार गरेको छ । १२औँ चितवन महोत्सवमा इलेक्ट्रिक संघले लगातार तेस्रो यस इलेक्ट्रिक परिसर राखेको हो । महोत्सवमा विद्युतीय सामग्रीको उत्पादनकर्ता, व्यवसायी, उपभोक्ताबीच ऊर्जा व्यवस्थापन तथा ऊर्जा कुशलता विषयमा विशेष गोष्ठी हुनेछ । जहाँ सुरक्षात्मक उपकरण, स्मार्ट टेक्नोलोजी, विद्युत् खपत कम गर्ने विद्युतीय सामग्रीको गुणस्तर, सुरक्षालगायतका विषयमा छलफल हुनेछ ।