मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १३:०२:००
Read Time : > 1 मिनेट
प्रदेश

दमकलको पानी सकिँदा २५ कोठे घर खरानी

आगो अन्यत्र सर्न नदिन डोजर लगाएर घर भत्काइयो, आठ घन्टा लगाएर आगो नियन्त्रण

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १३:०२:००

घरमा आगलागी हुनेबित्तिकै आइतबार बिहान चन्दननाथ नगरपालिका–२ कालेखोलीका विष्णु भण्डारीले दमकल र सुरक्षाकर्मीलाई खबर गरे । तत्कालै दमकल र सुरक्षाकर्मी त पुगे तर घर जोगिएन । बरु अन्य घर जोगाउन उनको घर डोजरले भत्कायो । 

आइतबार बिहान १० बजेतिर विष्णुको घरमा आगलागी सुरु भएको थियो । पाँच मिनेटभित्रै नगरपालिकाको दकमल र सुरक्षाकर्मी पुगेको उनले बताए । ‘भर्खर लागेको आगो दमकलले निभाउँछ, धेरै क्षति हुँदैन भनेर ढुक्क भएको थिएँ । तर, दमकलले आगो नियन्त्रण गर्न थालेको केहीबेरमै पानी सकियो,’ विष्णुले भने । 
त्यसपछि भने आगोले झन् ठूलो रूप लियो । दमकल पानी भर्न दगु¥यो, विष्णुका परिवारजन बेहोस भए । ‘परिवारजन होसमा आउँदा त घर खरानी भइसकेको थियो,’ उनले सुनाए । 

हुन पनि पानी लिन गएको दमकल फर्किन एक घन्टा लाग्यो । स्थानीय बासिन्दा, सुरक्षाकर्मीले सहयोग गर्दागर्दै २५ कोठे घर खरानी भयो । दमकलले पाँचपटक ओहोरदोहोर गर्दा आगो नियन्त्रणभन्दा पनि झन्झन् बढ्दै गएको स्थानीय बासिन्दाले बताए । ‘विपद् व्यवस्थापनका सयंन्त्रहरू पूर्वतयारी अवस्थामा नराख्दा ठूलो क्षति भयो,’ स्थानीय गौरीनन्द आर्चायले भने, ‘दमकललाई पानी ओसार्दै ठिक्क भयो, आगो निभाउनेभन्दा पानी सार्दै समय बित्यो । दनदनी बलेको आगोले हेर्दाहेर्दै घर खरानी बनायो ।’ 

बिहान १० बजे लागेको आगो साँझ ५ बजे नियन्त्रणमा आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । ‘अन्य घरमा आगो सर्न नदिन डोजरले घर नै भत्काउनुप¥यो,’ प्रजिअ बन्जाडेले भनिन् । त्यो घर जोगाउन नसके पनि अन्य घर जोगिएको उनले बताइन् । 

आगलागीबाट करोडौँको क्षति भएको विष्णुले बताए । उनका अनुसार, घरको १६ कोठा भाडामा थिए । त्यहाँ बस्ने विद्यार्थीका पनि सबै सरसामान जलेर नष्ट भएको उनले बताए । ‘केही बाँकी रहेन । शरीरमा लगाएको लुगाबाहेक केही छैन,’ उनले भने । आठ घन्टा लगाएर आगो निन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालबहादुर धामीले बताए । धनमालको क्षति रोक्न नसके पनि छेउमै रहेको घर जोगाउन आगलागी भएको घर डोजरले भत्काउनुपरेको उनले बताए । विद्युत् तार सर्ट वा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको हुन सक्ने उनको भनाइ छ ।

दमकल तयारी नराख्दा तीन घर खरानी
दमकलमा पानी भरेर नराख्दा आइतबार विष्णु भण्डारीको घर जलेर खरानी भएको छ । यसअघि पनि दमकल तयारी अवस्थामा नराख्दा दुई घर जलेर नष्ट भएका थिए । 

२३ कात्तिकमा चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो । त्यस्तै, १६ भदौमा चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा आगलागी भएको थियो । दुवै घरमा आगलागी हुनेबित्तिकै दमकललाई खबर गरे पनि निभाउन आएनन् । नवराजको घरमा आगलागी हुँदा ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा ७३ लाखको क्षति भएको थियो । दमकलको बेरिङ बिग्रिएको र चालक नभएकाले नवराज र जयबहादुरको घरमा आगलागी हुँदा दमकल पठाउन नसकिएको मेयर कान्तिका सेजुवालको भनाइ छ ।