२०७६ मङ्सिर ९ सोमबार ११:२१:००
नवीन प्यासी काठमाडाैं

आमाको ७१ दिने कथा : दीपेन्द्र के खनाल

दीपेन्द्र के खनालले ‘द युगदेखि युगसम्म’ बनाएको १० वर्ष भयो । सोही फिल्मका लागि अभिनेता राजेश हमालले कपाल काटेका थिए । त्यसअघिका फिल्ममा अभिनेता हमालको एकै प्रकारका हेयरकट हुन्थे, प्रहरीको भूमिका होस् या मातापिताको आशोच बारेको । ०६६ सालमा आएको यही फिल्मबाट खनालले फिल्मी यात्रा सुरु गरे । एक वर्षपछि अभिनेत्री मनीषा कोइरालालाई पनि खेलाए, ‘धर्मा’मा ।

त्यसपछि लगातार उनका फिल्म आए । ‘चपली हाइट’, ‘भिजिलान्ते थ्रिडी’, ‘पशुपतिप्रसाद’ सम्म आइपुग्दा खनाललाई लागिरहन्थ्यो, ‘म त सिकिरहेको छु ।’ सिकाइको क्रम जारी रहने उनलाई लाग्छ । भन्छन्, ‘निर्देशकले जब नयाँ विधामा हात हाल्छ, त्यहाँ ऊ नयाँ हुन्छ । उसले आफूलाई प्रमाणित गर्नुपर्छ ।’

दीपेन्द्र के खनाल, निर्देशक

त्यही नयाँ गर्ने सोचले उनले फिल्म ‘आमा’ बनाएका छन् । यही नाममा ०२१ सालमै फिल्म बनेको थियो । १० वर्ष पुगेपछि त्यही नाममा फिल्म बनाउन मिल्ने भएकाले खनाल यसमा अग्रसर भए । कोठा भाडामा लिएर बस्ने मध्यम वर्गका मानिसको कथालाई नयाँ फिल्म ‘आमा’मा उनले टिपेका छन् । मध्यम वर्ग भन्नासाथ कोठाको भित्तामा एउटै कलर नीलो या हरियो, भुइँमा ग्यास चुह्लो र एउटा बेड मानसपटलमा आउँछ । खनाल भन्छन्, ‘तर, सबै मानिस त्यसरी नै बसेका हुँदैनन् ।’

उनका अनुसार केही सिर्जनशील मान्छेले सस्तै चिजबाट कोठाको डिजाइन गरेका हुन्छन् । रंगमा खेलेका हुन्छन् । भित्तामा आफ्नो सपनासँग जोडिएका पेन्टिङ सजाएका हुन्छन् । एउटा टेबलमा किताब, अर्कोतिर आफूले काम गर्ने ठाउँ । दिमागमा आएका यस्ता कुराले उनको मनमा प्रश्न उब्जियो– ‘यस्तो कुरा नेपाली फिल्ममा किन आउँदैन ?’ त्यसैले उनले कोठाको इन्टेरियर डिजाइन फेरे ।

कोठा भाडामा लिएर बस्ने मध्यम वर्गका मानिसको कथालाई नयाँ फिल्म ‘आमा’मा उनले टिपेका छन् । मध्यम वर्ग भन्नासाथ कोठाको भित्तामा एउटै कलर नीलो या हरियो, भुइँमा ग्यास चुह्लो र एउटा बेड मानसपटलमा आउँछ । तर, सबै मानिस त्यसरी नै बसेका हुँदैनन् ।

फिल्ममा वर्षात्को सट लिनुपर्ने थियो । त्यसका लागि लोकेसन हेर्दै दौडिए । फिल्ममा यथार्थलाई पछ्याउने प्रयासमा थिए । उनी वास्तविक वर्षा हुने समयको प्रतीक्षामा रहेको थाहा पाएका साथीभाइले भने, ‘दीपेन्द्रलाई पानी पार्न पनि सकिन्छ भन्ने थाहा रहेनछ । हामीसँग आएर सिक्नू नि !’ अर्काथरी फिल्म मेकरले भने, ‘सायद पैसा नभएर होला ।’

उनी भन्छन्, ‘यस्ता कुरा सुन्दा म कस्तो सर्कलमा छु भनेर दुःख लाग्यो ।’ तर पनि उनले रत्तिभर सम्झौता गरेनन् । प्राकृतिक रूपमै पानी पार्नुपर्ने थियो, फिल्ममा । मोबाइल एपले यति मिनेटपछि पानी पर्छ भनेर देखाउँथ्यो । उनी सम्झिन्छन्, ‘एक हिसाबले त म मौसमविद् नै भइसकेको थिएँ ।’ 

धुलो खाँदै वर्षात्को प्रतीक्षा गर्नुको विकल्प थिएन । यसपटक उनी सम्झौता गर्ने पक्षमा थिएनन् । फिल्मको सुटिङ सकिन ७१ दिन लाग्यो । त्यसबीचमा एक रात पनि उनी राम्रोसँग सुतेनन् । राति २ बजे झमझम पानी पथ्र्यो । उनी पर्दा खोल्थे र मनमनै गम्थे– ‘बिहानसम्म त पानी सकिन्छ होला ।’

बिहान सखारै हतारहतार सबैलाई फोन गर्थे, लोकेसनमा आउनु भन्थे । लोकेसनमा तयार गर्थे, तर बिस्तारै पानी पर्न छाड्थ्यो । सबै निराश हुन्थे । सबैले सोध्थे, ‘कतिवेला पानी पर्छ ?’ खनाल जवाफ दिन्थे, ‘भोलि पर्छ । नभए पर्सि त मजाले पर्छ ।’ समाचारले भन्थ्यो– ‘मनसुन भित्रियो, चार दिनपछि पानी पर्छ ।’ तर, ती समाचार मात्रै हुन्थे । अहिले फिल्म सम्पादनको काम भइरहेको छ । खनाल भन्छन्, ‘फुटेजबाट पानी झिकेर हेर्छु, साह्रै खल्लो लाग्छ । अनि मैले राम्रै गरेछु भन्ने लाग्छ ।’