मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नुुनुता राई
२०७५ पौष २८ शनिबार ११:०९:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली

नायक अनुपविक्रम शाहीको फिटनेस : सन्तुलित भोजनले फिट छु

Read Time : > 3 मिनेट
नुुनुता राई
२०७५ पौष २८ शनिबार ११:०९:००

फिट रहन सन्तुलित भोजन लिन्छु । त्यो पनि ‘डाइट चार्ट’ नै बनाएर राखेको छु । जिममा नियमित व्यायाम गर्छु । सामान्य व्यायाम त सधैँ हुन्छ । त्यसका अतिरिक्त थेरापी पनि गर्छु । जसले गर्दा बिरामी भएर अस्पताल जानुपरेको छैन । 

 नियमित व्यायाम गर्छु
म नियमित रूपमा व्यायाम गर्छु । नियमित दुईदेखि तीन घन्टासम्म जिममा व्यायाम गर्छु । कलाकार भएकाले सुटिङका लागि उपत्यकाबाहिर पनि जानुपर्ने हुन्छ । त्यस्तो वेला अवस्था हेरेर सामान्य व्यायाम गर्छु । काठमाडौंमा नै भएको वेला व्यायाम छुट्दैन । जिममा इन्स्ट्रक्टरको निगरानीमा र उहाँले तयार गरेको तालिकाअनुसार व्यायाम गर्छु । 

 ‘ब्यालेन्स डाइट’ लिन्छु
नियमित व्यायामसँगै ‘ब्यालेन्स डाइट’ लिन्छु । मेरो इन्स्ट्रक्टर सञ्जीवकुमार श्रेष्ठले तयार पारेको ‘डाइट चार्ट’अनुसार ‘ब्यालेन्स डाइट’ खाने गरेको छु । उहाँले दिएको इन्स्ट्रक्सनमा रहेर नै मेरो व्यायामदेखि खानासम्मको तालिका बन्छ । यसले मलाई सहज पनि बनाएको छ । आफैँ गर्दा कहिले के नमिल्ने, कहिले के ? इन्स्ट्रक्टरको तालिकाअनुसार गर्दा केही समस्या हुन्छ कि भन्ने चिन्ता लिइरहनु पर्दैन । व्यायाम गर्नु, ब्यालेन्स डाइट लिनु भनेको अनुशासनमा रहनु हो । कुनै पनि व्यक्ति अनुशासनमा बसेन भने अवश्य प्रतिफल सकारात्मक आउँदैन । त्यसैले अनुशासित हुनैपर्छ । त्यसले समयभित्र अवश्य सकारात्मक प्रभाव पार्छ नै । 

 स्वास्थ्यप्रति सचेत छु
नियमित व्यायाम गर्नु भनेको नै स्वास्थ्य सचेतनाले हो भन्ने लाग्छ । राम्रो स्वास्थ्य हुनु, आफ्ना लागि मात्र नभएर परिवारको लागि पनि राम्रो हो । म स्वस्थ भएँ भने परिवार र परिवार स्वस्थ भयो भने समाज स्वस्थ हुन्छ । हामी हरेक व्यक्ति परिवार, समाजसँग जोडिएका हुन्छौँ । त्यसैले म स्वस्थ रहनुपर्छ सोच्दा परिवारलाई स्वस्थ रहन सचेत गराउँछु । त्यस्तै, परिवारले समाजलाई जागरुक गराउँछ । यसले गर्दा मसँग जोडिएका सबैको स्वास्थ्यप्रति सचेत छु । 

सामान्य खाना खान्छु
उपत्यकाबाहिर जाँदा इन्स्ट्रक्टरले तयार पारेको ‘डाइट चार्ट’अनुसार खाना खाने सम्भावना हुँदैन । उपत्यकाबाहिर नियमित व्यायाम पनि तालिकाअनुसार हुँदैन । त्यस्तो वेला विशेष खाना खानैपर्छ भन्ने हुँदैन । त्यस्तो वेला सामान्य दालभात नै खान्छु । हामी कलाकारले विभिन्न भूमिका निभाउने क्रममा विकट जिल्लाहरूमा पनि जानुपर्ने हुन्छ । जहाँ हामीले खाने दालभातभन्दा फरक खाना खानुपर्ने हुन्छ । त्यस्तो अवस्थामा उपलब्ध भएको खाना नै खाने हो । म जस्तो अवस्थामा पनि फिट हुन तयार हुने व्यक्ति हुँ । 

खासै मोटाउँदिनँ
कहिलेकाहीँ खानामा सन्तुलन हुँदैन । अवस्था हेरेर सन्तुलन मिलाउन सकिने अवस्था पनि हुँदैन । त्यस्तो अवस्थामा जे उपलब्ध छ, त्यही खाने हो । खानामा सन्तुलन नहुँदा पनि मोटाइहाल्छु कि भन्ने डरचाहिँ हुँदैन । मेरो शरीरमा मेटाबोलिज्म बढी भएकोले ह्वात्तै मोटाउने सम्भावना कम छ । 

 कहिलेकाहीँ पिउँछु
म प्रायः रक्सी पिउँदिनँ । विशेष अवसरमा साथीभाइसँगको जमघटमा चाहिँ पिउँछु । त्यसमा पनि मात लाग्ने गरी पिउँदिनँ । कहिलेकाही पिउँदा स्वास्थ्यलाई खराब गर्छ भन्ने पनि होइन । तर, मात्राको भने ख्याल गर्न जरुरी छ । 

 डाक्टरकहाँ गएको छैन
स्वास्थ्य जाँच गर्न भनेर डाक्टरकहाँ गएको छैन । तर, नियमित व्यायाम गर्ने र दक्ष प्रशिक्षकबाट व्यायाम गर्ने भएकाले स्वस्थ्य छु भन्ने मलाई विश्वास छ । अहिलेसम्म स्वास्थ्यमा सामान्यबाहेक खासै समस्या आएको छैन र कामना गर्छु जत्ति बाँच्छु गम्भीर समस्या भोग्न नपरोस् पनि । त्यही चाहनाले गर्दा स्वास्थ्यप्रति विशेष सचेत छु । समय–समयमा थेरापिस्टकहाँ भने गइरहन्छु । विभिन्न थेरापीहरू गराउँदै आएको छु । 

 फ्रेस हुनका लागि ड्राइभ
म मनोरञ्जन क्षेत्रमा काम गर्ने भएकाले सामान्य रूपमा ‘तपाईंले  पनि मनोरञ्जन लिनुपर्छ’ भन्नेजस्तो पनि हुँदो रहेछ । म मात्रै नभएर यो क्षेत्रका सबैलाई निरन्तर काम गरिरहँदा एक किसिमको मानोटोनस हुन्छ । त्यसबाट फ्रेस हुन म विभिन्न माध्यम अपनाउने गरेको छु । कहिले बाइकमा ड्राइभ गर्न जान्छु, कहिले आफूलाई मनपर्ने खालको मुडअनुसारको संगीत सुन्छु, कहिले मन पर्ने कलाकारहरूका रमाइला फिल्महरू खोजेर हेर्छु । कहिलेकाहीँ साथीहरूसँग इन्डोर गेम खेल्न जान्छु । यसरी नै आफूलाई फ्रेस बनाउने गरेको छु । 

 आठ घन्टा सुत्नैपर्छ
स्वस्थ हुन निद्रा पुग्न जरुरी छ भन्ने लाग्छ । मेरो सवालमा चाहिँ यो एकदम जरुरी छ । हामी कलाकारिता क्षेत्रमा लागेको मान्छेको सुत्ने र उठ्ने टाइमचाहिँ फिक्स्ड हुँदैन । किनभने, बिहान चाँडै, मध्यरातको सिन दिनुपर्ने हुन्छ । चाँडो उठ्नुपर्ने हुन सक्छ । त्यसका लागि चाँडै सुत्नपर्ने हुन्छ । यो सबै भनेजस्तो तालिका बनाउन सम्भव छैन । तर, मलाई चाहिँ आठ घन्टा सुत्नैपर्छ । यदि कहिलेकाहीँ सुतिनँ भने त्यसले धेरै दिनसम्म बोझिलो बनाइरहन्छ । बरु काम सकेर सुत्छु, तर सुतिसकेपछि आठ घन्टा नपुगी उठ्दिनँ । मसँग काम गर्ने समूहलाई जानकारी दिन्छु र त्यहीअनुसार तालिका बनाउनु भन्ने अनुरोध गर्ने गरेको छु । 

 फिट रहन प्रेसर हुन्छ
मैले चरित्रलाई न्याय गर्न सक्नुपर्छ । कलाकार भइसकेपछि मेरो कर्तव्य पनि हो, त्यो । व्यक्तिगत रूपमा अर्थात् अनुपविक्रम शाहीका रूपमा समाजमा सकारात्मक प्रभाव पार्ने कोसिस गर्नुपर्छ । सकारात्मक प्रभाव पार्न नसके पनि नकारात्मक प्रभाव नपरोस् भनेर सचेत हुनुपर्छ । एउटा नागरिक भएको हैसियतले यो मेरो कर्तव्य हो । तर, सामाजिक व्यक्तित्व भएकाले मैले गरेको कार्यले धेरैमा प्रभाव पार्छ । त्यसैले म कलाकार साथै नागरिक भएकाले फिट रहनुपर्छ । सामाजिक व्यक्तित्व भएको हिसाबले अझ बढी जरुरी छ । यो प्रेसर सामाजिक व्यक्तित्वमा बढी पर्छ, ममा पनि हुन्छ ।