मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ९ सोमबार ०७:४७:००
Read Time : > 2 मिनेट
खेलकुद

नेपाली खेलाडीलाई  घरेलु मैदान पनि बिरानो

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ९ सोमबार ०७:४७:००

साग प्रतियोगिता हुने खेलमैदान बन्दै गरेकाले अन्यत्र अभ्यास गर्दै खेलाडी, घरेलु मैदानको लाभ नपाउने

एक हप्तापछि काठमाडौंमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) सुरु हुँदै छ । स्वाभाविक रूपमा नेपाली खेलाडीले घरेलु मैदानमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ । तर, भौतिक संरचना निर्माणमा भएको ढिलाइले प्रतियोगितास्थलमा अभ्यास गर्न नपाएका खेलाडीमा भने उत्साह कम छ । 

खेलाडीले नियमित अभ्यास गरिरहेन ठाउँमै खेल्न पाउँदा निर्धक्क खेल्न सक्छ । त्यसले पदकको सम्भावना पनि बढाउँछ । तर, नेपाली खेलाडीले प्रतियोगिता सुरु हुन एक साता बाँकी रहँदा पनि प्रतियोगितास्थलमा अभ्याससमेत गर्न पाएका छैनन् । जसले खेलाडी र खेल पदाधिकारीलाई निरास बनाएको छ । ‘यस पटक हामी आफ्नै कोर्टसँग अपरिचित छौं । प्रतियोगिता आयोजना हुने कोर्टमा अभ्यास गर्न नपाउँदा हाम्रो मैदान हामी आफैलाई विरानो छ’, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले भने,‘आफ्नै कोर्टमा हामी विदेशी टोली जस्तै हुने छौं ।’

बास्केटबलको प्रतिस्पर्धा हुने त्रिपुरेश्वरको कभर्डहलमा खेलाडीले पछिल्लो एक वर्षदेखि अभ्याससमेत गर्न पाएका छैनन् । प्रतियागिता सुरु हुनुअघि अभ्यास गर्न पाउने सम्भावना पनि छैन । किनभने यो कोर्टमा बुधबारदेखि भलिबलको प्रतिस्पर्धा  हुँदैछ । भलिवल प्रतियोगिता सकिएको एक दिनपछि बास्केटबलको प्रतिष्पर्धा सुरु हुने छ । ‘घरेलु मैदानमा हुने प्रतियोगिताको मूख्य फाइदा नै घरेलु कोर्टको अनुभव हो । तर, हामीले आफ्नै कोर्टमा एक वर्षदेखि अभ्यास गर्न पाएका छैनौं’, थापाले भने, ‘यो अवस्थामा खेलाडीले विदेशी कोर्टमा प्रतिस्पर्धा गरेको जस्तै हुने छ ।’

काठमाडौंमा हुने सबै खेलको अवस्था बास्केटबलको जस्तै छ । नयाँ बनाउनुपर्ने मात्रै हैन, भएका भौतीक पूर्वाधारको मर्मतसंभार पनि सकिएको छैन् । फुटबलको प्रतिस्पर्धा हुने दशरथ रंगशालाको निर्माण कार्य अझै जारी छ । रंगशालामा नेपाली खेलाडीले ०७२ बैसाखको भुकम्पपछि खेल्न पाएका छैनन् । 

रंगशालाको ट्रयाकमै प्रतिस्पर्धा हुने एथलेटिक्स खेलको अवस्था पनि उस्तै छ । सिन्थेटिक ट्रयाक उप्किएको अवस्थामै खेलाडीले एक वर्ष अघिसम्म सामान्य अभ्यास गरिरहेका थिए तर, चिन सरकारको सहयोगमा नयाँ सिन्थेटिक ट्रयाक बिछ्याउने काम सुरु भएपछि त्यो पनि गर्न पाएका छैनन् । 

१३औं सागअघि कराते र तेक्वान्दोले आफ्नै छुट्टै भब्य भवन पाएको छ । तर, सागकै तयारीका लागि थप निर्माण गर्नु पर्ने भएपछि एक महिनायता कराते र तेक्वान्दोका खेलाडीले पनि प्रतियोगिता हुने स्थल छिर्न पाएका छैनन् । करातेको प्रतिस्पर्धा सकिएपछि सोही हलमा बक्सिङको पनि प्रतिस्पर्धा हुँदै छ । तर, बक्सिङका खेलाडीले त्यो हल अहिलेसम्म देखेकै छैनन् । भर्खरै बैदेशीक प्रशिक्षणबाट फर्किएको फेन्सिङका खेलाडीले प्रतिस्पर्धा हुने कीर्तिपुरस्थित नयाँ बजारको हलमा अभ्यास गर्न पाएका छैनन् ।

जावलाखेलस्थित आर्मीको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा प्रतिस्पर्धा हुने जुडोका खेलाडी अहिले बाहिरै अभ्यास गरिरहेका छन् । उनीहरू अहिले मंगोलिया र जापानको बैदेशिक प्रशिक्षणमा पुगेका छन् ।  

अन्तिम समयमा एपिएफको कभर्डहलमा प्रतिस्पर्धा हुने तय भएको कबड्डीका खेलाडीले पनि अहिले त्यहाँ अभ्यास गर्ने अवसर पाएका छैनन् । हिटिङ प्रणाली जडानको काम सुरु भएपछि नेपाली पौडी खेलाडीले पनि प्रतिस्पर्धा हुने सातदोबाटोस्थित पौडी पोखरीमा पौडीन पाएका छैनन् । पौडी खेलाडी १८ असोजदेखि रवि भवनस्थित लिङ्कन स्कुलमा अभ्यासरत छ । 

लैनचौर स्थित टेवल टेनिस हलमा मर्मत कार्य जारी । हाल वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड पुगेको टेवलन टेनिसका खेलाडीले प्रतियोगिताअघि सो हलमा केहि दिन मात्रै अभ्यास गर्ने अवसर पाउने छन् । 

खेल विज्ञ शुसिल नरसिंह राणा प्रतिस्पर्धा हुने स्थलमा अभ्याससमेत गर्न नपाउँदा खेलाडीको प्रदर्शनमा त्यसको असर पर्ने बताउँछन् । ‘हामी खेल हुने स्थानमा अभ्यास गर्न नपाएको अवस्थामा पनि कम्तिमा हप्ता १० दिन त्यस वरिपरी गएर अभ्यास गर्ने गछौं । त्यसले गर्दा खेलाडीलाई सहज महसुस् हुन्छ । खेलाडीले प्रतिस्पर्धाको दिन पनि अन्य सामान्य दिनमा जस्तै खेल्न सक्छ र त्यसले पदकको सम्भावना पनि बढाउँछ’, राणा भन्छन्, ‘नेपाल आयोजक भएको हैसियतले नेपाली खेलाडीहरूले प्रतियोगिताको आयोजना स्थल वरिपरी मात्रै हैन, प्रतिस्पर्धा हुने स्थानमै खेल्न पाउनु पथ्र्याें । बिडम्बना यस पटक हामीसँग त्यो अवसर भएन । यसले खेलाडीको प्रदर्शनमा असर पर्छनै ।’

उनी खेलाडीहरूलाई अहिलेको बाध्यात्मक अवस्थालाई बुझेर प्रतिस्पर्धा गर्न सुझाव दिन्छन् । ‘हामीसँग अव जसरी पनि प्रतियोगिता सफल रुपमा सम्पन्न गर्नुपर्ने बाध्यता छ’, उनको सुझाव छ, ‘पदकका लागि हामीले पनि त्यो बाध्यतालाई बुझेर प्रतिस्पर्धा गर्न आवश्यक छ ।’

काठमाडौंमा आयोजना हुनेमध्ये शुटिङले भने राम्रो अवसर पाएको छ । उनीहरू पछिल्लो डेढ महिनादेखि सागअन्तर्गतको प्रतिस्पर्धा हुने स्थलमै अभ्यास गरिरहेका छन् । पछिल्लो केही समयदेखि उशुले पनि सागअन्तर्गत आफ्नो प्रतिस्पर्धा हुने जावलाखेलस्थित आर्मीको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमै अभ्यास गर्ने अवसर पाएका छन् ।