मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
उपेन्द्र खनाल/सुदीपकुमार ढुंगाना 
२०७५ पौष २८ शनिबार ११:०४:००
Read Time : > 1 मिनेट
समाचार

माघेसंक्रान्ति देशदेखि विदेशसम्म

Read Time : > 1 मिनेट
उपेन्द्र खनाल/सुदीपकुमार ढुंगाना 
२०७५ पौष २८ शनिबार ११:०४:००

माघेसंक्रान्ति पर्व हिन्दू धर्मावलम्बीका लागि एउटा ठूलो उत्सव हो । यस दिन देशका विभिन्न स्थानमा भक्तजन तथा पर्यटकको घुइँचो लाग्छ । प्रसिद्ध धार्मिकस्थल देवघाट माघेसंक्रान्तिको महिमाबाट छुट्ने कुरै भएन । प्रत्येक वर्ष माघेसंक्रान्तिका दिन देवघाटधाममा भक्तजनको ठूलो घुइँचो लाग्छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार त्रिशूली र कालीगण्डकी नदीको संगममा स्नान गर्दा अक्षय फल प्राप्त हुने विश्वाससहित भक्तजन देवघाट आउँछन् । 

 वासको व्यवस्था
देवघाट पुग्ने तीर्थालुको सुविधाका लागि यहाँ आश्रम तथा वास बस्ने व्यवस्थासमेत मिलाइएको छ । ठूलो मेला लाग्दा शान्ति सुरक्षामा कुनै असर नपरोस् भनी सुरक्षा व्यवस्थासमेत चुस्त राखिएको समितिले जनाएको छ । भक्तजन रातभर जाग्राम बसी नाचगान र धार्मिक प्रवचनमा रमाउने गर्छन् । यहाँ तीर्थालुको सुविधाका लागि सखरखण्ड, पिँडालु, तरुललगायत परम्परागत परिकारसमेत उपलब्ध हुन्छ ।

 सन्त सम्मेलनको रौनक 
माघेसंक्रान्तिकै दिन देवघाटमा सन्त सम्मेलन आयोजना हुन्छ । सोही कारण यस गन्तव्यको छुट्टै आकर्षण छ । मेलामा साहित्यप्रेमीसमेत जमघट हुने अध्यक्ष पौडेल बताउँछन् । कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटमा नदी वारपारका लागि सहज बनाउन करिब ७० वटा डुंगा प्रयोग गरिने विकास समितिको तयारी छ । 

 कहाँ पर्छ देवघाट ?
कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल देवघाटधाम तनहुँ, नवलपरासी र चितवन जिल्लाको समेत संगमस्थल हो । यहाँ पुग्न यी तीनवटै जिल्लाबाट सहज सडक यातायातको सुविधा छ । 

 चितवन महोत्सव पनि संक्रान्तिकेन्द्रित
चितवनको नारायणी किनारमा प्रत्येक दुई वर्षमा चितवन महोत्सव मनाइन्छ । यो वर्ष पनि उक्त मेला सञ्चालन भइरहेको छ । ०५३ सालदेखि हुँदै आएको चितवन महोत्सव पहिले राजाको जन्मोत्सवको अवसर पारेर मनाए पनि हाल माघेसंक्रान्तिकेन्द्रित भएर मनाउन थालिएको छ । यो वर्ष पुस २५ गते सुरु गरिएको महोत्सव माघ ४ गतेसम्म चल्नेछ । 

 रिडी मेला (गुल्मी, पाल्पा र स्याङ्जा) 
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडी, नेपालको पवित्र धार्मिकस्थल हो । कालीगण्डकी नदीको तीरमा अवस्थित रिडीमा माघेसंक्रान्तिको अवसर पारी ठूलो धार्मिक मेला लाग्छ । पश्चिम नेपालका विभिन्न स्थानबाट ठूलो संख्यामा धार्मिक तीर्थालु यहाँ पुग्छन् । पाँच दिनसम्म चल्ने माघेसंक्रान्ति मेला स्थानीय बासिन्दाले आफ्ना मौलिक उत्पादन बिक्री गर्ने गर्दछन् । रिडीको ऋषिकेश मन्दिर, रिडी क्षेत्रको अवलोकनसहित पवित्र नदी कालीगण्डकीमा स्नानका लागि धेरै पर्यटक यहाँ आउने गरेका छन् । छिमेकी मुलुक भारतबाट पनि यहाँ भक्तजन पुग्ने गर्छन् । बुटवलबाट पाल्पा हुँदै रिडी पुग्न सहज सडक सुविधा छ । गुल्मीको रिडी बजारमा अत्याधुनिक होटेलसमेत सञ्चालनमा रहेकाले रिडीधामको यात्रा फलदायी नै रहने गर्छ । 

 सिक्किममा पनि मेला
भारतको सिक्किममा माघेसंक्रान्तिलाई प्रमुख चाडका रूपमा मनाइन्छ । सिक्किमको जोरथाङमा प्रत्येक वर्ष माघेसंक्रान्ति मेला आयोजना हुन्छ । सन् २०५५ मा स्थानीय उत्पादन बिक्रीका लागि भनी सुरु गरिएको माघेसंक्रान्ति मेला त्यसपछि प्रत्येक वर्ष व्यावसायिक रूपमा लाग्न थालेको हो । अहिले यो पर्यटन भित्र्याउने प्रमुख माध्यम बन्दै गएको छ ।

प्रत्येक वर्ष जनवरी १४ देखि तिन दिनसम्म लाग्ने मेलामा उल्लेख्य मात्रामा नेपाली पनि पुग्ने गरेका छन् । मेलामा देखाइने विभिन्न सांस्कृतिक कार्यक्रममा पर्यटक मुख्य रूपमा आकर्षित हुने गरेका छन् । मेलामा खाना महोत्सव, तीर हान्ने प्रतियोगिता, प्याराग्लाइडिङ, ट्रेकिङ, हट एयर बेलुन, राफ्टिङजस्ता खेलमा पर्यटक आकर्षित हुने गरेका छन् । त्यस्तै, हस्तकलाका सामानको प्रदर्शनी पनि यसको आकर्षणमध्ये एक हो ।