१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ८ आइतबार १०:२७:००
Read Time : < 1 मिनेट
विश्व

हङकङ आन्दोलन : १२ वर्षीय बालक  पनि दोषी ठहर !

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १०:२७:००

हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शनका क्रममा एक १२ वर्षीय बालक पनि दोषी ठहर भएका छन् । उनी हङकङ आन्दोलनका क्रममा सरकारले दोषी ठहर गरेका अहिलेसम्मकै कान्छा प्रदर्शनकारी हुन् । 

नाम सार्वजनिक नगरिएका ती बालक अक्टोबरमा भएको एउटा बृहत् प्रदर्शनको भोलिपल्ट विद्यालय जाने क्रममा पक्राउ परेका थिए । उनले प्रहरी स्टेसन र मेट्रो स्टेसनमा सरकारविरोधी नारा पेन्टिङ गरेको स्विकारेका छन् । उनलाई अर्को महिना सजाय सुनाइने भएको छ । सरकारको विरोधमा ताजा प्रदर्शनपछि अहिलेसम्म पाँच हजारभन्दा बढी आन्दोलनकारी पक्राउ परेका छन् । तीमध्ये कतिपय १२ देखि १५ वर्षका किशोर–किशोरी छन् । तर, १२ वर्षीय बालकलाई अभियोग लगाइएको भने पहिलोपटक हो । 

बालकले अक्टोबरको पहिलो साता प्रहरी स्टेसनमा ‘धिक्कार छ धुर्त प्रहरी’ भन्ने शब्द पेन्ट गर्दा सादा पोसाकका प्रहरीले देखेका थिए । साउथ चाइना मर्निङ पोस्टका अनुसार त्यसलगत्तै प्रहरी अधिकारी बालकको घरमा पुगेर रातभर बाहिर निगरानी गरेका थिए । 

भोलिपल्ट बिहान ७ बजे विद्यालय जाने क्रममा बालकलाई पक्राउ गरी घरमा खानतलासी गरिएको थियो । खानतलासीका क्रममा बालकले प्रयोग गरेको ‘ब्ल्याक पेन्ट’ फेला परेको थियो । बालकलाई पक्राउपछि रातभर प्रहरी स्टेसनमा राखिएको उनका वकिल जे लामाले अदालतमा बताइन् । ‘एकपटक छुट दिन मैले अदालतलाई अनुरोध गरेँ,’ उनले भनिन्, ‘किनकि आरोपित भर्खर १२ वर्षका थिए ।’

हत्या, बलात्कारलगायत गम्भीर अपराधमा लागेका व्यक्तिलाई सुपुर्दगी गरी चीनमा मुद्दा चलाउन सक्ने एउटा विवादास्पद विधेयकलाई लिएर जुन महिनाबाट सरकारविरोधी प्रदर्शन सुरु भएको थियो । सरकारले सो विधेयक खारेज गरे पनि आन्दोलन रोकिएको छैन ।