१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अच्युत पुरी
२०७५ पौष २८ शनिबार १०:०७:००
Read Time : > 2 मिनेट
फिचर

नेपाली  बुल फाइट

Read Time : > 2 मिनेट
अच्युत पुरी
२०७५ पौष २८ शनिबार १०:०७:००

स्पेनिस ‘बुल फाइट’को चर्चा संसारभर हुन्छ । पोर्चुगल, फ्रान्स र केही ल्याटिन अमेरिकन देश मेक्सिको, कोलम्बिया, इक्वेडर, भेनेजुएला तथा पेरुसमेत यस महोत्सवबाट पन्छिन सक्दैनन् । बुल फाइटले विश्वभरका सञ्चारमाध्यमको ध्यान मात्र तान्दैन, पर्यटक आकर्षित गरी ठूलो आर्थिक उपार्जनमा पनि सहयोग गरेको छ ।  स्पेनिस बुल फाइटकै सिको त नभनौँ, तर नुवाकोटको तारुका, रसुवा–नुवाकोटको सिमाना वेत्रावती तथा धादिङको धुवाकोट नाम लिनासाथ ‘गोरु जुधाइ मेला’को याद आउँछ । अर्थात् नुवाकोट, रसुवा र धादिङले अब गोरु जुधाइ मेलालाई व्यावसायिक बनाएका छन् । जसका माध्यमबाट पर्यटकीय बजारमा यी जिल्लाको पहिचान थपिएको छ । हरेक वर्ष १ माघ अर्थात् माघेसंक्रान्ति गोरु जुधाइका माध्यमबाट नेपाली सञ्चारमाध्यममा छाउने गर्छ । 


 शताब्दी पुरानो इतिहास
नुवाकोटको तारुकामा हुने गोरु जुधाइको इतिहास आजभन्दा करिब एक सय वर्ष पुरानो इतिहाससँग जोडिएको छ । स्थानीय किंवदन्तीअनुसार तारुका तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मामाघर हो । उनी मामाघर आएका वेला मामाले भान्जाको स्वागत गर्न बाजागाजासहित गोरु जुधाएर मनोरञ्जन प्रदान गरेका थिए । सोही भनाइअनुसार अहिले पनि स्थानीयले माघ १ गतेका दिन पारेर गोरु जुधाइ मेला आयोजना गर्दै आएका छन् । 

 व्यावसायिक रूप 
शताप्दी पुरानो परम्परा भए पनि स्थानीयले एकीकृत रूपमा गोरु जुधाइलाई मेलाका रूपमा मनाउन थालेको भने करिब डेढ दशक मात्र भएको छ । नुवाकोटका कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत स्थानमा छरिएर गोरु जुधाउने गरिएकोमा अहिले तारुका तथा वेत्रावतीमा एकीकृत रूपमा गोरु जुधाइन्छ । यस मेलामा पुरस्कारको समेत व्यवस्था गरिएसँगै अब यो मेलाले व्यावसायिक रूपमा लिइसकेको छ । मेलालाई आकर्षक बनाउन पञ्चेबाजाको समेत व्यवस्था गरिएको हुन्छ । जसले माहोललाई थप उत्साहप्रद बनाउँछ । 

 कसरी पुग्ने ? 
गोरुमेला आयोजना हुने स्थल नुवाकोटको तारुका तन्दनीस्थित कटहरबाट पुग्ने काठमाडौंबाट सहज यातायात सुविधा उपलब्ध छ । तारुका काठमाडौं कलंकीबाट करिब दुई घन्टाको सडक यात्रापछि पुगिन्छ । वेत्रावती पुग्न भने काठमाडौंबाट करिब तीन घन्टा लाग्छ । काठमाडौंबाट कलंकी–नागढुंगा–गल्छी–त्रिशुली सडक खण्डबाट तारुका पुग्न सकिन्छ । पोखरा, चितवन तथा पश्चिमका अन्य गन्तव्यबाट आउने यात्रु गल्छीबाट तारुकातर्फ जान सक्छन् । वेत्रावतीमा जात्रा हेर्न पुग्ने पर्यटकलाई एक रात बिताउनुपर्‍यो भने पनि होमस्टे सेवा उपलब्ध छ । 


 पाहुनालाई चाकु, घिउ र तरुल
माघेसंक्रान्ति नेपाली मौलिक परिकारलाई चिनाउने पर्व पनि हो । यस दिन खिचडी, चाकु, घिउ, तरुल, तिलौरी, खट्टे र तीलको लड्डु खाएर माघेसंक्रान्ति मेला मनाइन्छ । गोरु जुधाइ मेलामा पुग्ने पर्यटक तथा पाहुनाका लागि पनि स्थानीयले मौलिक परिकार खुवाएर स्वागतसमेत गर्छन् । नुवाकोट, रसुवा र धादिङको पहिचान बन्दै गएको गोरु जुधाउने प्रतियोगितालाई अहिले राज्यका विभिन्न निकायले पनि वैधानिकता प्रदान गरेका छन् । व्यवस्थित र सुरक्षित प्रतियोगिता आयोजना हुन थालेसँगै यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा लिन थालिएको छ । सोहीकारण नेपाल पर्यटन बोर्डले हरेक वर्ष आफ्नो बजेटमै यो कार्यक्रम समावेश गर्दै आएको छ । 

चालू आर्थिक वर्ष ०७५/७६ का लागि बोर्डले नुवाकोटको घलेभन्ज्याङ, तारुका र वेत्रावती तथा धादिङको धुवाकोटमा आयोजना हुने गोरु जुधाउने प्रतियोगिताका लागि प्रतिस्थान दुई–दुई लाख रुपैयाँका दरले आठ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेट रसुवा–नुवाकोट पर्यटन समाजसँगको सहकार्यमा खर्च गरिने बोर्डले जनाएको छ ।

 २३ हल गोरुदर्ता
आयोजकका अनुसार यस वर्ष तारुकामा मात्र अहिलेसम्म २३ हल (४६) गोरु प्रतिस्पर्धाका लागि दर्ता भइसकेका छन् । यी गोरुको आकार, उमेर हेरी उस्तै प्रकृतिका गोरुसँग जुधाउने गरिन्छ । खासगरी, कमजोर तथा साना गोरुसँग ठूला र बलिया गोरु नपरून् भन्नेमा आयोजकले मूल्यांकन गर्छ । 

विजेता गोरुधनीले प्रमाणपत्रसहित पुरस्कारसमेत हात पार्छन् । लडाकु गोरुलाई बलियो बनाउन स्थानीयले चना, चामल, पीठो, घाँस, पराललगायत आडिलो खाद्यान्न खुवाउँछन् । गोरुका लागि बिमासमेत गर्न थालेपछि यहाँ गोरु पाल्ने र जुधाउने प्रतियोगितामा स्थानीयको अझ बढी उत्साह थपिएको छ ।

ग्रामीण पर्यटन प्रबर्द्धनमा टेवा 
राम सापकोटा (कमल)
निवर्तमान पूर्वअध्यक्ष 

गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल
ग्रामीण पर्यटनको प्रवद्र्धनमा यस्ता कार्यक्रम निकै फलदायी हुने गर्छन् । अहिले नै हामी ठूलो संख्यामा विदेशी पर्यटक ल्याउन नसकौँला, तर यसले गन्तव्य पहिचानमा ठूलो भूमिका खेलेको हुन्छ । स्थानीय परिकारको प्रबर्द्धन तथा प्रचार–प्रसारमा समेत यस मेलाको महत्व छ ।