मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ७ शनिबार ०९:३१:००
Read Time : > 4 मिनेट
अर्थ

विश्व इतिहासकै ठूलो ठगीको नालीबेली : २३ खर्बभन्दा बढी ठगेर हराइन् ‘क्रिप्टोक्विन’

Read Time : > 4 मिनेट
२०७६ मङ्सिर ७ शनिबार ०९:३१:००

महँगो सिल्क गाउन त्यसमाथि हीराका गहनाले सुसज्जित शरीर र चम्किलो रातो लिपस्टिक उनको सदाबहार पहिचान थियो । विश्वभरिका १०औँ लाख मानिसले उनलाई निकै विश्वास गरेका थिए । विश्वासका लागि उनको बिछट्टै सुन्दरता अनि पिएचडी गरेको उनको प्राज्ञिक छवि र म्याकिन्सेजस्ता ठूला फर्ममा काम गरेको अनुभव काफी थियो । कतिसम्म विश्वास गरेका थिए भने एकै व्यक्तिले करोडौँ–करोडौँ रुपैयाँ उनीमाथि लगानी गरेका थिए । ती सबैलाई धनी बनाएर वित्तीय क्रान्ति गर्ने बाचा उनले गरेकी थिइन् । समर्थकहरू उनलाई रानीका रूपमा लिन्थे– भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीकी ‘क्रिप्टोक्विन’ । बिबिसी साउन्डका जेमी बार्टलेट उनीबारेको आफ्नो पोडकास्ट शृंखलाको पहिलो भागमा थप भन्छन्, ‘उनी वास्तवमा अजेय देखिन्थिन् ।’ उनी अर्थात् डा. रुजा इग्नाटोभा, क्रिप्टोकरेन्सी ‘वानक्वाइन’की संस्थापक । क्रिप्टोकरेन्सीले बैंकको पहुँचमा नभएका मानिसहरूको जीवनमा अकल्पनीय परिवर्तन ल्याउने उनी बताउँथिन् । युरोपकै धनीमध्येकी एक ३६ वर्षीया ती अद्भुत महिला सन् २०१७ अक्टोबर अन्त्यमा एकाएक हराइन् । 

उनी आफू मात्रै हराइनन्, विश्वभरका १ सय ७५ मुलुकका ३५ लाखभन्दा बढी मानिसले उनको विश्वासमा सुम्पिएको करिब २० अर्ब अमेरिकी डलर (२३ खर्ब रुपैयाँ) समेत लिएर उनी हराइन् । उनले विकास गरेको वानक्वाइनमा लगानी गरेर छोटो समयमै धनी बन्ने विश्वभरका लाखौँ मानिसको सपना पनि उनीसँगै बेपत्ता भयो । विश्वभरका मानिसलाई धनी बनाउने र वित्तीय प्रणालीमा क्रान्ति ल्याउने भनेर संसारभरिका मानिसलाई ठगिएको यो काण्ड विश्व इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ठगी काण्ड हुन सक्ने बिबिसी साउन्डका जेमी बार्टलेटले गरेको अनुसन्धानले देखाएको छ । सुरुमा वानक्वाइनले करिब ५ अर्ब अमेरिकी डलर ठगी गरेको अनुमान बेलायती र अमेरिकी अधिकारीहरूले गरेका थिए । तर, बार्टलेटले संकलन गरेका दस्तावेजका अनुसार त्यति रकम त एउटै महादेशबाट संकलन भएको देखिन्छ ।

यसअघि अमेरिकाका बर्नी म्याडोफले पोन्जी स्किममार्फत गरेको ठगीलाई विश्व इतिहासको सबैभन्दा ठूलो ठगी मानिँदै आएको थियो । त्यो स्किमबाट लगानीकर्ताले १९ अर्ब ४० करोड अमेरिकी डलर (अहिलेको विनिमय दरअनुसार सवा २२ खर्ब रुपैयाँ) गुमाएका थिए । डा. रुजा इग्नाटोभाले वानक्वाइनमार्फत गरेको ठगी त्योभन्दा पनि ठूलो हुन सक्ने प्रसिद्ध पत्रिका फच्र्युनले उल्लेख गरेको छ ।

‘यसले तपाईंको जीवनमा कायापलट ल्याइदिनेछ,’ संसारभर घुमेर डा. रुजा इग्नाटोभाले मानिसहरूलाई विश्वास दिलाउँथिन् । उनी अत्यन्तै शक्तिशाली प्रस्तुति दिन्थिन् । उनको भाषणमा आफूले प्रस्तुत गर्न खोजेको तथ्य अत्यन्त शक्तिशाली मनोवेगका साथ हुन्थ्यो । त्यसैका माध्यमबाट उनले ३५ लाखभन्दा बढी डाइहार्ट फ्यान कमाइन्, जो आफ्नो सम्पूर्ण सम्पत्ति सुम्पिन तयार भए ।

आखिर कसरी उठाए डा. रुजा र उनको टिमले यति ठूलो रकम ? बिटक्वाइनप्रति आकर्षित तर त्यो खरिद गर्न नसक्नेहरूलाई भुलभुलैयामा पारी डा. रुजाले आफ्नो क्रिप्टो साम्राज्य खडा गरेकी थिइन् । आफ्नो मुद्राले सबैभन्दा पुरानो, महँगो र बलियो बिटक्वाइनलाई विस्थापन गर्ने उनको दाबी थियो । ‘सुरुमा मैले बिटक्वाइनका बारेमा त्यति चासो दिइनँ, जब मैले चासो दिएँ, यो अत्यन्तै महँगो भइसकेको थियो । त्यसो हुँदा मैले साधारण जनताले पनि किन्न सक्ने नयाँ क्रिप्टोकरेन्सीको विकास गर्नुपर्छ भन्ने सोचेँ, जुन वानक्वाइन हो । यसले तपाईंको जीवनमा कायापलट ल्याइदिनेछ,’ संसारभर घुमेर उनले मानिसहरूलाई विश्वास दिलाउँथिन् । उनको भाषणमा आफूले प्रस्तुत गर्न खोजेको तथ्य अत्यन्त शक्तिशाली मनोवेगका साथ हुन्थ्यो ।

त्यसैका माध्यमबाट उनले ३५ लाखभन्दा बढी डाइहार्ट फ्यान कमाइन् । तिनैमध्ये एक थिइन्, बेलायतकी जेन म्याकएडम, जसले यो ठगी प्रकरणबारे खुलासा गर्न बार्टलेटलाई मद्दत गरेकी थिइन् । जेनले सुरुमा १० हजार पाउन्ड लगानी गरेकी थिइन्, पछि उनले आफ्ना परिवारका सदस्यहरूलाई लगानी गर्न लगाइन् । उनीहरूले २ लाख ५० हजार पाउन्ड लगानी गरे । त्यो सबै खरानी बनेपछि परिवारको बिचल्ली भएको उनले रुँदै सुनाइन् । ठगी प्रकरणको पर्दाफास भएपछि वानक्वाइन सम्बद्धहरूले उनलाई ज्यान मार्ने धम्की दिएका छन् । उनले बेलायतको प्रहरी र वित्तीय क्षेत्रका नियामकसमक्ष डा. रुजा र वानक्वाइनविरुद्ध उजुरी दिएकी छिन् । भर्खरै अमेरिकामा रुजा र उनका सहयोगीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा परेको छ । डा. रुजाका भाइ कन्सटेन्टिन इग्नाटोभ तथा कम्पनीका एक उच्च अधिकारी मार्क स्कटविरुद्ध पनि ठगी र सम्पत्ति शुद्धीकरणविरुद्ध मुद्दा चलिरहेको छ । 

२०१४ मा डा. रुजा इग्नाटोभाले वानक्वाइन नाम गरेको क्रिप्टोकरेन्सीको विकास सुरु गरेकी थिइन् । १ अक्टोबर २०१६ मा उनले त्यो लन्च गरेकी थिइन् । बुल्गेरियाली नागरिक डा. रुजाको वानक्वाइनको मुख्यालय बुल्गेरियामै छ । हङकङ, दुबईमा ठूला–ठूला कार्यालय थिए, जसले लगानीकर्तालाई सजिलै प्रभाव पार्‍यो । खास गरी धेरै मिहिनेत नगरी सजिलै पैसा कमाउन चाहनेहरू यसबाट निकै आकर्षित भए । त्यसो हुँदा उनले वानक्वाइन बेच्न अपनाएको पिरामिड स्किम (नेटवर्क मार्केटिङ) मा मानिसहरूले खर्बौैँ रुपैयाँ खन्याए । पिरामिड स्किम यस्तो स्किम हो, जसमा पहिला सदस्य हुनेलाई पछि सदस्य हुनेबाट उठेको रकमबाट लाभ दिने गरिन्छ । त्यसो हुँदा एक व्यक्तिले आफूभन्दा मुनि धेरैभन्दा धेरै सदस्य थप्न चाहन्छ । 

वानक्वाइनका सदस्यहरूले बडो सम्मानका साथ बोलाउने ‘डा. रुजा’ भन्थिन्, ‘मिडियाहरूले वानक्वाइनलाई ‘बिटक्वाइन किलर’को संज्ञा थिएका छन्, वास्तवमा यो बिटक्वाइन किलर नै हो ।’ वानक्वाइनमा लगानी गर्नेमध्ये ९९ प्रतिशतले क्रिप्टोकरेन्सी भनेको के ? भन्ने नबुझीकनै पैसा हालेको भए पनि ती सबै अहिले एउटा परिवार बनेको उनको तर्क हुन्थ्यो । ‘उनलाई विश्वास गरेका मानिसहरूले घरबारी, बाख्रापाठा बेचेर वानक्वाइनमा लगानी गरे, जसमध्ये हजारौँको उठिबास लागेको छ, परिवार विखण्डन भएको छ,’ बार्टलेटले अफ्रिकी मुलुक युगान्डाको स्थलगत रिपोर्टिङ गर्दै भनेका छन् ।

२०१४ मा डा. रुजा इग्नाटोभाले वानक्वाइन नाम गरेको क्रिप्टोकरेन्सीको विकास सुरु गरेकी थिइन् । १ अक्टोबर २०१६ मा उनले त्यो लन्च गरेकी थिइन् । बुल्गेरियाली नागरिक डा. रुजाको वानक्वाइनको मुख्यालय बुल्गेरियामै छ । हङकङ, दुबईमा ठूला–ठूला कार्यालय थिए, जसले लगानीकर्तालाई सजिलै प्रभाव पार्‍यो । खासगरी धेरै मिहिनेत नगरी सजिलै पैसा कमाउन चाहनेहरू यसबाट निकै आकर्षित भए । त्यसो हुँदा उनले वानक्वाइन बेच्न अपनाएको पिरामिड स्किम (नेटवर्क मार्केटिङ) मा मानिसले खर्बौैँ रुपैयाँ खन्याए ।

कसरी हराइन् रुजा
अक्टोबर २०१७ मा पोर्चुगलको लिस्बनमा वानक्वाइनको बृहद् कार्यक्रम आयोजना गरिएको थियो, जहाँ डा. रुजाले सम्बोधन गर्ने भनिएको थियो । तर, उनी त्यहाँ पुगिनन् । कम्पनीका एक उच्च अधिकारीले भने, ‘डा. रुजा समयको सन्दर्भमा अत्यन्तै अनुशासित थिइन् । कहीँ समय दिएपछि कुनै हालतमा पनि पुग्थिन् । तर, त्यो कार्यक्रममा उनी आइनन् । कम्पनीका उच्च अधिकारीहरू सबैले फोन गरे, तर उनले फोन उठाइनन् । न इमेल फर्काइन्, न ह्वाट्सएपमा उत्तर दिइन् ।’ त्यसपछि कसैले डा. रुजालाई देखेका छैनन् । उनका समर्थकहरू उनी अपहरणमा परेको वा हत्या भएको बताउँछन् । तर, तथ्यहरूले त्यस्तो बताउँदैनन् । किनभने, उनी बेपत्ता हुनुअघि नै वानक्वाइन वास्तविक क्रिप्टोकरेन्सी नै होइन भन्ने कुरा क्रिप्टोसेवीहरूले पत्ता लगाइसकेका थिए, जुन कुरा उनलाई थाहा थियो । वास्तवमा वानक्वाइनको कुनै संख्या नै थिएन, मूल्य नै थिएन । रुजा एउटा नम्बर भन्थिन्, त्यसैलाई मानिसहरू वानक्वाइनको मूल्य भन्थे । त्यसैका आधारमा लगानीकर्ता आफूसँग भएको सम्पत्ति हिसाब गर्थे । र, आफू धनी बन्दै गएकोमा दंग पर्थे ।

नेपालमा पनि पाँचतारे होटेलमा सम्मेलन गरी वानक्वाइन बेचियो
डा. रुजा बेपत्ता हुनुअघि नै नयाँ पत्रिकाले नेपालमा समेत वानक्वाइनले होटेल–होटेलमा सेमिनार गरी ठगी गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो । डा. जाफर नामका पाकिस्तानी नागरिकले ३१ मे र ३ जुन २०१७ मा काठमाडौंको र्‍याडिसन होटेलबाट वानक्वाइनबारे प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । सोही सालको १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो । त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए । वानक्वाइनमा नेपालका तर्फबाट ठगिको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ । उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ, भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन् । उनीहरूसहित अन्य ५० जनालाई डा. जाफरले नेटवर्किङको तालिम दिएका थिए ।

नेपालमा हजारौँले वानक्वाइन खरिद भएको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ । दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका थिए । अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरूसमेत यसबाट ठगिएका हुन सक्ने अनुमान छ । वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेका थिए । 

वानक्वाइन नक्कली क्रिप्टोकरेन्सीको जालो देशभर फैलिएको नयाँ पत्रिकाले दुई वर्षअघि नै पत्ता लगाएको थियो । सो विषयमा नयाँ पत्रिकाले निरन्तर समाचार प्रकाशित गरेपछि प्रहरीले दर्जनौँ ठगहरूलाई पक्राउ गरी कारबाही गरेको थियो, जुन अन्तर्राष्ट्रिय मिडियाले समेत स्थान दिएका थिए । उनीहरूविरुद्धको मुद्दा अझै पनि अदालतमा चलिरहेको छ । नेपालमा मात्रै क्रिप्टोकरेन्सीको ठगीमा संलग्नहरूले अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ ।