१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:०८:००
Read Time : > 3 मिनेट
सप्तरंग

एक–अर्काका नजरमा : दीपकराज गिरी र दीपाश्री निरौला

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:०८:००

नेपाली मनोरञ्जन क्षेत्रमा दीपक र दीपा स्थापित जोडी हो । हास्य विधामा चर्चित यो जोडी रेडियो, टेलिभिजन हुँदै अहिले फिल्ममा सक्रिय छ । उनीहरूका फिल्मले लगातार राम्रो कमाइ गरिरहेका छन् । करिब २५ वर्ष सहकार्य गरेको यो जोडीको सम्बन्धका विषयमा बजारमा विभिन्न हल्ला चलिरहन्छन् । यो सफल जोडी एक–अर्काको नजरमा कस्ता छन् भनेर नयाँ पत्रिकाले उनीहरूको अनुभव बुझ्ने प्रयास गरेको छ ।

 दीपकराजको नजरमा दीपाश्री निरौला
 दीपाश्री निरौलालाई कसरी चिन्नुहुन्छ ? 
दीपाजी हास्य कलाकार भए पनि व्यक्तिगत स्वभाव भने करुण छ । अरूको दुःख देख्न नसक्ने, कोही रोइरहेको देख्यो भने सँगै आफू पनि रुने खालको हुनुहुन्छ । उहाँ माया र रिस तुरुन्तै देखाउने खालको हुनुहुन्छ । मनमा खोट नभएको, स्वच्छ हृदयको र स्पष्टवक्ता हुनुहुन्छ । 

 उहाँसँगको सहकार्यले सिकेको पाठ के हो ?
म एकदम केयरलेस मान्छे थिएँ । अरूको मतलब नगर्ने, साथीभाइलाई व्यक्तिगत रूपमा हालखबर सोध्दिनथेँ । केही काम गर्नुपर्दा साथीभाइको सल्लाह लिन जरुरी ठान्दिनथेँ । कसैले खाए–नखाएको कहिल्यै सोध्दिनथेँ, तर दीपाजीको संगतले म अरूको ख्याल गर्न थालेको छु । साथीभाइको व्यक्तिगत हालखबर सोध्ने गर्छु । काम गर्नुअघि साथीभाइहरूको सल्लाह–सुझाब लिने गरेको छु । धेरै हदसम्म व्यवस्थित हुन पनि सिकेको छु । 

 यति लामो सहकार्यमा कहिल्यै गम्भीर मतभेद भयो कि भएन ? अथवा काम गर्नै सकिन्न कि क्या हो भन्ने जस्तो भयो कि भएन ?
मतभेद पक्कै हुन्थ्यो । कामको विषयमा वादविवाद हुन्थ्यो । त्यत्ति नभएको भए आज जुन ठाउँमा छौँ, त्यो ठाउँमा हुने सम्भावना पनि हुँदैनथ्यो । तर, त्यस्तो वादविवादले सकारात्मक निचोड निस्कन्थ्यो । कहिले मतभेदकै बीचमा पनि काम गथ्र्यौं, तर त्यसको रिजल्ट राम्रो आएपछि स्थिति सामान्य बन्थ्यो । नराम्रो आए गल्ती स्वीकार गर्ने, अर्कोपल्ट सुधार्ने सहमति हुन्थ्यो । मतभेद बढेर निकै चर्काचर्कीसम्म हुन्थ्यो र ‘भोलिदेखि काम गर्दिनँ’ भनेर दुवैले एक–अर्कालाई भनेका छौँ, धेरैपटक । तर, त्यो मुखमा तत्कालको रिस पोख्न मात्रै सीमित राख्छौँ । मनमा लिएनौँ । फेरि भोलिपल्ट काम सँगै शुरु हुन्थ्यो । काममा नकारात्मक प्रभाव पर्ने गरी मतभेद भएन । 

 तपाईंहरुबीचको सम्बन्धलाई लिएर बजारमा चलेको हल्लाले अप्ठ्यारो पार्छ ?
सुरुवातमा मलाई भन्दा पनि उहाँलाई व्यक्तिगत समस्या आयो होला । तर, त्यसले काममा नै चाहिँ असर गरेन । बजारको हल्लालाई लिएर किन टाउको दुखाउने भनेर निरन्तर काममा नै फोकस भयौँ । हल्लाले अप्ठ्यारो पार्नु पनि हुँदैन । अब त त्यस्ता हल्ला सुनिएन भने अचम्म लाग्ने भएको छ । 

 उहाँको राम्रो र कमजोर पक्ष के हो ?
उहाँ लिडरसिप भएको, व्यवस्थापकीय क्षमता भएको व्यक्ति हो । कमजोरीचाहिँ साह्रै चाँडो रिसाउनुहुन्छ । गल्ती स्वीकार गर्न समय लगाउनुहुन्छ । दुई–तीन दिन नै लाग्छ । 

 दीपाश्री निरौला राम्रो कलाकार कि निर्देशक ?
दीपाजी बहुप्रतिभाशाली व्यक्तित्व हो । उहाँमा निर्देशकीय क्षमता छ । उहाँले निर्देशन गर्नुभएको चलचित्र सुपरहिट भइसकेका छन् । धेरैको सोचमा महिलाले निर्देशन गर्न सक्दैनन् भन्ने थियो, त्यस्तो मानसिकतालाई चिर्न सफल हुनुभयो । महिलाले सक्छन् भनेर एउटा गतिलो उदाहरण दिनुभएको छ । एकदम राम्रो डान्सर हुनुहुन्छ । हास्य, गम्भीर सबै भूमिकालाई न्याय गर्नसक्ने क्षमता भएको व्यक्ति हो । तर, यति हुँदाहुँदै पनि कलाकार कि निर्देशक भन्ने प्रश्नमा चाहिँ राम्रो कलाकार भन्छु ।

दीपाश्रीको नजरमा दीपकराज गिरी

 दीपकराज गिरीलाई कसरी चिन्नुहुन्छ ?
दीपकजी एकदम असल व्यक्ति हो । मान्छेमा सबैभन्दा हुनैपर्ने गुण भनेको नै असलपना हो, जुन उहाँमा छ । त्योसँगै एकदम पोजिटिभ व्यक्ति हो । कसैले गाली गरे पनि सकारात्मक पक्षबाट लिने व्यक्ति हो । 

 लामो सहकार्यले सिकेको पाठ के हो ?
म एकदम कडा स्वभाव भएकी मान्छे हुँ । तर, उहाँको संगतले धेरै कम भएको छ । केही हदसम्म संयमित हुन सिकेकी छु । आफूले बोलेपछि अरूको कुरा कम सुन्ने बानी थियो । त्यसमा पनि सुधार भएको छ । अहिले आफू बोलिसकेपछि अरूको कुरा पनि सुन्ने गर्छु । अरूले बोलेको कुरा मनन गर्छु । उहाँबाट सिकेको भनेको निर्देशकीय पाटो पनि हो । 

यति लामो सहकार्यमा कहिल्यै गम्भीर मतभेद भयो कि भएन ? अथवा काम गर्नै सकिन्न क्या हो भन्ने जस्तो लाग्यो कि लागेन ? 
मतभेद त भइरहन्छ । सहकार्य गरेपछि सधैँ मत मिलिरहने भन्ने त हुँदैन । कहिले मैले भनेको कुरा उहाँले गलत भन्नुहुन्छ र उहाँले भनेको कुरा म गलत भन्छु । र, यो नभई कामको प्रतिफल पनि राम्रो अवश्य हुँदैन । मतभेद हुन जरुरी छ, तर व्यक्तिगत रूपमा होइन । प्रोफेसनल हुनुपर्छ । हाम्रो मतभेदले व्यक्तिगत रूप लिएन । भविष्यमा पनि हुँदैन भन्ने नै लाग्छ । 

अस्ति भर्खर ‘छक्कापन्जा–३’ मा गीत राख्ने विषयमा धेरै मतभेद भयो । उहाँ स्क्रिप्ट राइटर भएर सोच्नुहुन्छ, म निर्देशक भएर सोच्दा मत फरक हुन्छ । फिल्म भनेको टिमवर्क हो । टिमको पनि सल्लाह जरुरी हुन्छ । त्यसले गर्दा समूहका अन्य साथीले पनि दीपाजीले भनेको ठीक हो भनेपछि त्यहीअनुरूप काम भयो । उहाँले पनि पछि आएर ‘बजैले भनेको ठीकै रहेछ’ भन्नुभयो । उहाँ मसँग बोल्दा बजै भन्नुहुन्छ । 

 तपाईंहरुबीचको सम्बन्धलाई लिएर बजारमा चलेको हल्लाले कति अप्ठ्यारो पार्छ ?
बजारमा चलेको हल्लाले मलाई असर गरेन । किनभने, म अविवाहित छु । यदि म विवाहित अथवा कोही पुरुषसँग सम्बन्धमा हुन्थेँ भने असर गर्न सक्थ्यो । तर, त्यस्तो केही नभएकाले असर गरेन । बजारमा हल्ला चलिरहन्छ भनेर वास्ता गर्दिनँ । गसिप हुने क्षेत्र पनि हो । त्यस्तो हल्ला अझै पनि कम भएको छैन । त्यसलाई गम्भीर रूपमा लिन्नँ । 

उहाँको राम्रो र कमजोर पक्ष के हो ?
उहाँँ असल र सकारात्मक सोच भएको व्यक्ति हो । कामप्रतिको लगाव एकदम राम्रो पक्ष लाग्छ । काम गर्न थालेपछि नसकिएसम्म अरू सोच्नुहुन्न । कमजोर अथवा नराम्रो पक्ष भनेको समय बुझ्नुहुन्न । मोबाइल हेर्न थालेपछि समय गएको पत्तो पाउनुहुन्न । फेसबुक धेरै चलाउनुहुन्छ । कसैले कमेन्ट ग¥यो कि फिडब्याक दिइहाल्नुहुन्छ । जुन ठीक हो जस्तो लाग्दैन । यो बानी मलाई कमजोर पक्ष लाग्छ । 

 दीपकराज गिरी राम्रो स्क्रिप्ट राइटर  कि कलाकार ?
उहाँ कुशल कलाकारका साथै राम्रो स्क्रिप्ट राइटर हो ।