१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नुनुता राई
२०७५ पौष २८ शनिबार ०९:०७:००
Read Time : > 4 मिनेट
फिचर

नराम्रो बानी नै छैन : चिरीबाबु महर्जन

Read Time : > 4 मिनेट
नुनुता राई
२०७५ पौष २८ शनिबार ०९:०७:००

सामान्य व्यक्ति हुँ
म अति नै सामान्य व्यक्ति हुँ । धेरै दुःख गरेर आएको मान्छे हुँ । मेरो काम गर्ने शैली, लवाइखवाइ सामाजिक परिवेशअनुसार अथवा ललितपुरवासीलाई मन पर्ने खालको हुन्छ । यहाँका बासिन्दालाई अपाच्य हुने खालको दैनिकी हुँदैन । पहिरनमा  झिलिकमिलिक मन पर्दैन । समयसापेक्ष, स्थान सुहाउँदो पहिरन रुचाउँछु । खाना पनि साधारण मन पर्छ । सामान्य नेपाली खाना नै मीठो लाग्छ । खानामा यही चाहिन्छ भन्ने हुँदैन । घरमा जे–जस्तो पाक्छ, त्यस्तै खान्छु । 

चुनावदेखि टोपी छाडिनँ
म चुनावअघिसम्म टोपी लगाउँदिनथेँ । चुनावभन्दा केही महिनाअघिदेखि मात्रै लगाउन थालेको हुँ । मलाई ‘माइग्रेन’ छ । समय–समयमा टाउको दुखिराख्छ । टाउको दुख्ने कारणमध्ये चिसो र घाम पनि हो । टोपी लगाउँदा चिसो र तातोबाट पनि बच्दो रहेछ । घामबाट पनि टाउकोमा शीतल हुने र चिसोबाट न्यानो हुने भएकाले टोपी नछाडेको हुँ । टोपीले व्यक्तित्व पनि झल्काउँछ । दौडधुप हुने भएकाले त्यही चिसो र तातोबाट जोगिन चुनावको वेला टोपी लगाएको हुँ । अब किन फुकाल्ने भनेर पनि लगाइरहेको छु । 

मेरो कामले जनताले रोजे 
मलाई जनताले चुने । जनप्रतिनिधिका रूपमा रोज्नुको मुख्य कारण मैले विगतमा गरेको काम देखेर हो । किनभने, मैले तीनपटकसम्म वडाध्यक्ष भएर काम गरिसकेको थिएँ । ज्यापू समाजको अध्यक्ष भएर पनि काम गरिसकेको थिएँ । त्यसवेलाको काम उहाँहरूले हेरिसक्नुभएको थियो । त्यसले गर्दा उहाँहरूको सेन्टिमेन्ट ‘यो मान्छेले काम गर्छ’ भन्ने थियो । त्यसैले मलाई रोज्नुभयो भन्ने मेरो विश्वास हो । 

लत केहीको पनि छैन
मेरो नराम्रो बानी केही पनि छैन । जाँडरक्सी, जुवातास मात्रै नभएर सम्पत्तिको लोभ पनि छैन । मलाई जाँडरक्सी, जुवातासलगायत केहीको पनि लत छैन । यस्तो विषयमा लोभिन्नँ । मेरो जीवनकालमा यी सबैबाट टाढै हुन्छु । युवावस्थामा त यस्तोमा फसिनँ भने अब झनै उमेरले र जिम्मेवारीको हिसाबले पनि त्यतातिर लागिन्न । जनतामा पनि ‘चिरीबाबुले नराम्रो काम गर्दैन है’ भन्ने विश्वास छ जस्तो लाग्छ । मबाट कुनै नराम्रो काम हुन्छ भन्ने अपेक्षा गरेका छैनन् । 
जनताप्रति उत्तरदायी छु
जनप्रतिनिधि भएर आएपछि नगरवासीलाई दिनुपर्ने सेवा–सुविधाप्रति गम्भीर छु । अब ‘महानगरपालिकाले यो गरेन’ भन्ने रहँदैन, काम हुँदै छ । सेड्युलअनुसार काम भइरहेको छ । चुनावमा भोट माग्दा गरेका वाचाअनुसार काम भएनन् भन्ने सामान्य असन्तुष्टिहरू आइरहेका छन् ।  चुनावमा भोट माग्दा पाँच वर्षको समयावधिका लागि बोलेका हौँ । त्यहीअनुरूप काम भइरहेको छ । अहिले त बल्ल १८ महिना त जाँदै छ । त्यसैले हामी महानगरको सेड्युलमा रहेका काम गरिरहेका छौँ, पूरा गर्छौं । हुन त सबैलाई ‘काम कसरी हुन्छ’ भन्ने जानकारी नहुँदा पनि असन्तुष्टि आएका होलान् । तर, काम हुन्छ भनेर म महानगरवासीलाई विश्वस्त दिलाउन चाहन्छु । 

धमाधम काम भइरहेका छन्
आममान्छेले विकास भन्नेबित्तिकै देखिने काम खोज्नुहुन्छ । र, महानगरमा देखिने काम भएन भन्ने पनि यही विषयसँग जोडिएको पाउँछु । मुख्य त भौतिक पूर्वाधारसँग जोडिएर आएको पाएको छु । अर्को, ललितपुर महानगरपालिकाले सम्पदा संरक्षणलाई विशेष ध्यानमा राखेको छ, तीव्र रूपमा पुनर्निर्माण भइरहेका छन् ।  उदाहरणका लागि काठमाडौंको रानीपोखरीभन्दा पुरानो पिमबहाल पोखरी छ । त्यसको पुनर्निर्माण भइसकेको छ । त्यसको पुनर्निर्माणसँगै वरपर होम–स्टे सञ्चालनमा आएका छन् । त्यसपछि पाटनढोकाबाट दरबार स्क्वायरसम्म ढुंगा बिछ्याइएको छ ।

कृष्ण मन्दिरको मर्मत सकिएको छ । चारनारायण थानको मर्मत अन्तिम चरणमा पुगेको छ । केशवनारायण चोक, मूलचोक, सुन्दरी चोकको मर्मतसम्भारपछि पर्यटकका लागि खोलिसकेका छौँ । त्यस्तै, केही भौतिक निर्माण वातानुकूलित भएपछि सुरु हुन्छ । विभिन्न टेन्डर आह्वान गरिएका छन् । त्यसको तत्काल सुरु गर्न टेम्प्रेचर मिल्न जरुरी छ । जस्तोः सडक निर्माण गर्न झरी र डाउन टेम्प्रेचरमा गर्न मिल्दैन । यसरी कामहरू भइरहेका छन् । अहिलेसम्म भएका काममा गुणस्तरीयतामा कुनै पनि किसिमको कमी हुन दिएका छैनौँ । 

जाँडरक्सी, जुवातासलगायत केहीको पनि लत छैन । यस्ता विषयमा लोभिन्नँ । युवावस्थामा त यस्तोमा फसिनँ भने अब झन् उमेर र जिम्मेवारीको हिसाबले पनि त्यतातिर लागिन्न । मेरो जीवनकालमा यी सबैबाट टाढै रहन्छु ।

विदेश भ्रमण उपलब्धिमूलक
मलाई अधिकांश कार्यक्रममा सोधिने प्रश्न भनेको विदेश भ्रमणबारे हो । त्यो पनि विरोधको शैलीमा । मैले धेरैपटक भनेको पनि छु । मलाई विदेश भ्रमणको रहर अथवा लालच छैन । मैले विश्व घुमिसकेको छु । प्यासिफिक रुटबाट गएर एट्लान्टिक रुटबाट फर्किसकेको छु । तर, के कारणले हो, मैले भ्रमणका लागि धेरै निम्तो पाइरहेको छु । त्यसमा बढी उपलब्धिमूलक निम्तो स्वीकार गरेर जाने गरेको छु । लगभग २६ वटा देश भ्रमण रद्द गरेको छु ।

कतिपय ठाउँमा मैले पठाउन मिल्ने हदसम्म उपमेयर, वडाध्यक्ष र कर्मचारीलाई पनि पठाउने गरेको छु । हरेक विदेश भ्रमण उपलब्धिमूलक रहेको छ । महानगरको शून्य लगानीमा विदेश भ्रमणमा गएको हुँ । म घुमेको यात्रामा नेपाललाई विशेष बोल्ने समय दिइएको थियो । मेरो त्यही भ्रमणको कारण अथाह प्राविधिक सहयोग, धेरै विद्यालयलाई डिजास्टर रिस्क रिडक्सन तालिम, धेरैवटा विद्यालयमा कम्प्युटर ल्याब राख्न सफल भएका छौँ । त्यसबाहेक काम गर्नका लागि ज्ञान हुनु जरुरी छ । त्यहाँ गएर कसरी काम गर्न सकिन्छ, उनीहरूको काम गराइ, अनुभव सुनेर त्यहीअनुरूप हाम्रोमा काम गर्न सकिने रहेछ भनेर लागू गर्न कोसिस गरिरहेका छौँ । त्यस्तै, हाम्रो देशमा कसरी काम गर्न सकिन्छ भनेर सल्लाह लिने पनि गरेका छौँ । 

जहाँ हात हाल्छु, त्यहाँ सफल हुन्छु
म जुन क्षेत्रमा हात हाल्छु, त्यो क्षेत्रमा दत्तचित्त भएर लाग्छु । सफल हुन्छु । जस्तोः विद्यालयमा पढ्ने नै मुख्य काम थियो, पढ्थेँ । राम्रो अंकका साथ सफल हुन्थेँ । जागिर खाएँ, त्यसमा पनि दत्तचित्त भएर काम गरेँ । नेपाली कर्मचारीहरूले पाउनेभन्दा बढी नै तलब पाएँ । त्यसपछि वडाध्यक्ष तीनपटक हुन सफल भएँ । काम राम्रो गरेँ । ज्यापू समाजमा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेँ । मेयरमा चुनाव लडेँ, त्यसमा पनि सफलता प्राप्त गरेँ । 

यसरी अहिलेसम्म मैले जहाँ हात हालेँ, त्यहाँ सफल हुँदै आएको छु । त्यसले गर्दा पनि नयाँ काम गर्दा मलाई चुनौती थपिन्छ । हरेक काममा सफलता प्राप्त गर्न बानी परेपछि नयाँ काम गर्दा असफल हुन्छु कि भन्ने त्रास हुँदो रहेछ । तर, त्यही त्रासले सचेत पनि बनाइरहन्छ र काममा थप लगनशील भएर लाग्न प्रेरणा प्राप्त भइराख्छ । र, हात हालिसकेको काममा सफल मात्रै नभएर त्यो काम दिगो र गुणस्तरीय हुनुपर्छ भन्ने मान्यता राखेर काम गर्छु ।

भावुक छु
म अलि बढी नै भावुक हुन्छु । त्यसले गर्दा कहिलेकाहीँ समय व्यवस्थापनमा समस्या हुने गर्छ । ललितपुर महानगरपालिकाको संरचना अपांगमैत्री छैन । उहाँहरू मलाई भेट्न आउँदा तल नै झर्ने गरेको छु । उहाँहरूको समस्या सुन्दा ज्यादै भावुक बन्छु । उहाँहरूको समस्या समाधानका लागि आफूले गर्न सक्ने पहल गर्छु । 
त्यस्तै, ज्येष्ठ नागरिकको कुरा सुन्छु । उहाँहरू धेरै टाढाबाट मलाई भेट्न भनेर आउनुहुन्छ, त्यस्तो वेला म जति नै व्यस्त भए पनि उहाँहरूलाई समय दिने गरेको छु । उहाँहरूको समस्या सुनेर मात्रै होइन, अरू नै कुराकानी गरेर पनि घन्टौँ बस्छु । जसले गर्दा अन्य कामकाजमा बाधा पुग्छ । यसरी अलि बढी भावनात्मक हुँदा समय व्यवस्थापन गर्न समस्या हुने रहेछ ।

तस्बिरः ज्ञानेन्द्र कार्की