मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०९:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

राजपा रौतहटको विवाद छताछुल्ल : तीन ठाउँमा अधिवेशन, तीनैजना जिल्ला अध्यक्ष चयन

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०९:२५:००

राजपा रौतहटभित्रको विवाद छाताछुल्ल भएको छ । पार्टीको जिल्ला अधिवेशन तीन बेग्लाबेग्लै स्थानमा भएपछि विवाद सतहमा आएको हो । तीन स्थानमा भएको भेलाबाट तीनैजना जिल्ला अध्यक्षसमेत चयन भएका छन् । 

राजपा अध्यक्ष मण्डलका सदस्य अनीलकुमार झाको पहलमा बिहीबार गौरमा भएको जिल्ला अधिवेशनबाट लीला साहलाई जिल्ला अध्यक्ष बनाइएको छ । त्यस्तै, गौर नगरपालिकाको सभाहलमा पार्टीका केन्द्रीय महासचिव तथा गौर नगरपालिकाका मेयर अजय गुप्ताको सक्रियतामा भएको जिल्ला अधिवेशनले शेख जम्सेदलाई जिल्ला अध्यक्ष चयन गरेको छ । त्यसैगरी, केन्द्रीय सदस्य तथा प्रदेश सांसद बाबुलाल साहको नेतृत्वमा गौरस्थित रामजानकी धर्मशालामा भएको जिल्ला अधिवेशनबाट रामप्रवेश दास जिल्ला अध्यक्ष भएका छन् । 

तीनै पक्षले आ–आफ्नो पक्षका कार्यकर्ता बोलाएर जिल्ला समिति चयन गरेका थिए । केन्द्रबाट निर्वाचन गराउन आएका पर्यवेक्षक सुनिल रोहितले अनील झा पक्षको मात्र कुरा सुनेर निर्वाचन प्रक्रिया अगाडि बढाएका कारण आफूहरूले छुट्टै भेला बोलाएर जम्सेदको नेतृत्वमा जिल्ला समिति निर्माण गरेको राजपा केन्द्रीय महासचिव तथा गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताए । 

‘बिहीबार बिहान ८ बजे बोलाएर निर्वाचनको मितिसमेत ननिकाली अनील झा पक्षले एकलौटी गरेपछि आफूहरूले सो अधिवेशन बहिष्कार गरेका हौँ,’ उनले भने, ‘त्यसपछि अर्को अधिवेशन गर्र्दै शेख जम्सेद अध्यक्ष रहेको जिल्ला समिति गठन गरेका हौँ ।’ गुप्ता राजेन्द्र महतो पक्षका हुन् । 

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद साहले आफूहरूले पहिला अधिवेशन गरेर जिल्ला समिति गठन गरेकाले दास नेतृत्वको समिति वैधानिक भएको दाबी गरे । साह र दास राजपा सदस्य मण्डलका सदस्य शरदसिंह भण्डारी पक्षका हुन् । रौतहटमा भएको विवादको मुख्य जड अनील झा रहेको अन्य पक्षको भनाइ छ । यो विषयमा झासँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।