१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०९:३४:००
Read Time : > 1 मिनेट
प्रदेश

उपनिर्वाचन ०७६ : कांग्रेसका दर्जन केन्द्रीय नेता धरानमा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०९:३४:००

मंसिर १४ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले धरानमा ठूलो शक्ति खर्च गरेको छ । धरान उपमहानगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका क्रममा कांग्रेसका दर्जन केन्द्रीय नेता चुनावी प्रचार–प्रसारमा सहभागी भइसकेका छन् । 

अघिल्लो स्थानीय तह निर्वाचनमा करिब १४ हजार मतले पछि परेको कांग्रेस यसपटक धरानमा जसरी पनि जित्ने अभियानमा लागेको छ । बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको झन्डा भएका घरमा समेत पुगेर मत मागे । यस्तै, बुधबार केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुकुम्बासी बस्तीमा पुगेर भोट मागेका थिए ।

यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य गुरुराज घिमिरे, ज्ञानेन्द्र कार्की, धनराज गुरुङ, महेश आचार्य, मीन विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले भोट मागेका थिए । महेश आचार्यलाई पार्टीले नै खटाएकाले सुरुदेखि नै धरानमा छन् । मीन विश्वकर्मा पनि धरानमै छन् । मंसिर १० गते हुने चुनावी सभामा प्रमुख वक्ताका रूपमा गगन थापालाई बोलाइएको छ । सबै नेताको ध्यान धरानको चुनावमा भएको नगर कार्यकर्ता प्रेम पराजुलीले बताए ।

लामो समयदेखि कम्युनिस्टले जित्दै आएको धरानको मेयरमा यसपटक पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेकपाले उपनिर्वाचनमा स्व. मेयर तारा सुब्बाले अघि सारेका गौरवका आयोजनाहरू पूरा गर्न आफ्नो नेतृत्व पुनः आवश्यक भएको भन्दै घरघरमा पुगेर मत मागेको छ । मेयरमा नेकपाले जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नगर सभापति तिलक राईलाई अघि सारेको छ ।

 नेकपालाई मत माग्न प्रचण्ड आउने
नेकपाले पनि आफ्नो स्थान गुम्न नदिन घरदैलो कार्यक्रम जारी राखेको छ । नेकपाका उम्मेदवार प्रकाश राईले पछिल्ला दुई वर्षमा आएका आयोजना र भएका कामको फेहरिस्त लिएर मैदानमा उत्रिएका छन् । केन्द्रीय सदस्य एवं प्रदेश इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धर्म निरौला, किरणकुमार राई धरानमै छन् । 

मंसिर ११ गते भानुचोकमा हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका  संयोजक रमेश बस्नेतले जानकारी दिए । अघिल्लो निर्वाचनमा साबिक नेकपा एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका तिलक राईले १६ हजार १०२ मत ल्याएका थिए । त्यस्तै, साबिक माओवादी केन्द्रले ११ हजार १८० मत ल्याएको थियो । आगामी मंसिर १४ को धरानको उपनिर्वाचनमा मतदाता संख्या ९२ हजार ८५३ छ । ०७४ असार १४ को स्थानीय तहको चुनावको भन्दा यो १३ हजार ५५६ बढी हो ।