मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १०:३५:००
Read Time : > 1 मिनेट
प्रदेश

ग्रामीण सडकले बिगारे मूल सडक

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १०:३५:००

गाउँ–गाउँ जोडनका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्ग बिगारिरहेका छन् । मूल सडकमा जोडिएका ग्रामीण सडकको माटो, ढुंगा मूल सडकमा आएर थुप्रिने भएका कारण सडक बिग्रँदै गएका हुन् । वर्षामा बाढीपहिरोले ग्रामीण सडक बनाएको क्षेत्र भत्किएर मूल सडकमा खस्ने भएकाले पनि मूल सडकमा क्षति हुने गरेको हो । 

डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका–२ मा रडुवा–कलारैमाडौं–बडाल सडक निर्माण हुँदै छ । मेसिनद्वारा कटिङ भइरहेको सो सडकको माटो केआई सिंह राजमार्गमा थुप्रिएको छ, नाली बन्द भएको छ । स्थानीय टेकबहादुर मल्लको जमिन भएर बनिरहेको उक्त सडकबारे धेरै जानकारी छैन । ‘सडक कसले बनाउँदै छ, कसको लगानी हो ? केही थाहा छैन,’ उनले भने, ‘सडकले मेरो जमिन मास्दै छ तर मलाई कुनै जानकारी छैन । आफ्नो जमिन मासिए पनि दूरदराजमा गाडी पुग्छ भने ठिकै छ भनेर आफू चुप लागेको उनले बताए ।  

गाउँमा सडक लैजाने नाममा मुख्य सडक बिग्रिएको प्रति भने उनी चिन्तित छन् । भन्छन्, ‘गाउँतिर सडक जानु त ठीकै हो तर माटो मुख्य सडकमा फालेर सडकै बिगार्ने काम भइरहेको छ । कतिपय ठाउँमा पहिलो खसेर मूल सडक बन्द हुने अवस्था छ ।’ 

गन्यापधुरा–३कै गुयलीखेल–हल्देगर्खा–डिले–वडाल सडकको अवस्था पनि उस्तै छ । बर्खामा ग्रामीण कच्ची सडकबाट माटो बगेर मुख्य सडकमा जम्मा भएपछि सडकको पिच उप्किएको छ, नाली बन्द छ, माटोले अहिले पनि सडक साँघुरो बनाएको छ । स्थानीय अमरबहादुर साउँद भन्छन्, ‘एकपटक त गाउँपालिकाको डोजरले सफा गरेको थियो फेरि माथिबाट माटो आइहाल्यो ।’

डोटी शिखर नगरपालिका–६ मा अड्यौलबाट सुर्खाल जोड्ने सडक काटिएको डेढ वर्ष भयो तर, गाडी चल्न सकेको छैन । स्थानीयवासी भन्छन्, ‘डोजरले सडक खन्दाखेरी एकजनाले मोटरसाइकल लगेको याद छ, त्यसपछि गाडी गएको देखेका छैनौँ ।’ तर, यो सडकले पनि के आई सिंह राजमार्ग भने बिगारेको छ ।  डडेल्धुरा गन्यापधुरा वडा नं. २ को रडुवादेखि डोटी शिखर नगरपालिका वडा नं. १ समूहगाडसम्म करिब ४५ किलोमिटरको दूरीमा २० वटा नयाँ शाखा सडकहरूको ट्र्याक खोलिएको छ ।  

‘०४६ सालको राजनीतिक परिवर्तनले गाउँ–गाउँमा विद्यालय खोल्ने होड चल्यो, अहिलेका स्थानीय सरकारहरूले सडक काट्नेमा प्रतिस्पर्धा गरिरहेका छन्,’ गन्यापधुरा–३ का वासुदेव अवस्थी भन्छन्, ‘त्यतिवेला विद्यालय खोल्ने होड पनि योजनाविनाको थियो, अहिले सडक काट्ने प्रतिस्पर्धा पनि विनायोजनाको छ ।’ त्यसवेला स्थापना भएका विद्यालयको  भौतिक पूर्वाधार, विद्यार्थी संख्या र पढाइको गुणस्तर राम्रो नभएजस्तै अहिलेका सडको अवस्था पनि उस्तै भएको अवस्थी बताउँछन् । 

शाखा सडकले मुख्य सडक बिगारेका डिभिजन सडक कार्यालय डोटीका प्रमुख बलीराज मल्ल स्विकार्छन् । ‘स्थानीय र प्रदेश सरकारले सडक काट्छन्, माटो मुख्य सडकमा थुपारिदिन्छन्,’ मल्लले भने, ‘नाली बन्द हुन्छ, अनि पानी सडकमा बगेर पिच उप्किन्छ ।’ यसरी बिग्रिएको सडक मर्मत गर्न आफूहरूसँग रकम नभएको उनी बताउँछन् । शाखा सडक निर्माण गर्दा डिभिजन कार्यालयसँग कुनै समन्वय नहुने गरेको मल्लले बताए ।