मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १०:१३:००
Read Time : > 1 मिनेट
प्रदेश

कर्णाली प्रदेश सरकारले चाडपर्वमा  पाँच दिन बिदा दिने

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १०:१३:००

कर्णाली प्रदेशमा विभिन्न चाडपर्वमा पाँच दिन बिदा हुने भएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले पाँचदिने बिदा दिने निर्णय गरेको हो । कर्णालीमा प्रदेश सहिद दिवस, माघे संक्रान्ति, देउडा पर्व, भोट ल्होसार र बकर इदमा बिदा हुनेछ । कर्णालीमा ४ भदौमा प्रदेश सहिद दिवस, १ माघमा माघे संक्रान्ति, १ साउनमा देउडा पर्व मनाउने साउने संक्रान्ति, भोट ल्होसार र बकर इदमा बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । 

बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रदेश सरकार प्रवक्ता विमला केसीले बिदाबारे जानकारी दिएकी हुन् । ‘प्रदेश सरकारले आफ्नो अनुकूल ६ दिन बिदा दिन पाउने संघीय सरकारले निर्णय गरेको थियो । हामीले एक दिन घटाएर पाँच दिन बिदा दिने निर्णय गरेका छौँ,’ प्रवक्ता केसीले भनिन् ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकाको चक्रपथ निर्माण र वीरेन्द्रनगर–तेलपानी–भुरेगाउँ सडकखण्ड सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । चीनको चिँगदावो म्युनिसिपल कन्स्ट्रक्सन ग्रुप प्रालिलाई नेपाल सरकारमार्फत अनुरोध गर्ने निर्णय भएको प्रवत्ता केसीले बताइन् । ‘वीरेन्द्रनगरको चक्रपथ र वीरेन्द्रनगर–तेलपानी–भुरेगाउँ सडकखण्ड सुरुङमार्ग सम्भव्यता अध्ययनको प्रक्रिया थाल्ने निर्णय भएको छ । त्यसका लागि नेपाल सरकारमार्फत चिनियाँ कम्पनीलाई आग्रह गर्ने निर्णय गरेका छौँ,’ उनले भनिन् । 

भेरी–बबईबाट थप विद्युत् उत्पादन गरिने
प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समाहित गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको बाँधस्थल दायाँ किनाराबाट विद्युत् उत्पादनका लागि पहल सुरु गरिने भएको छ । आयोजनाबाट उत्पादित ४८ मेगावाट विद्युत् कर्णाली सरकारलाई दिने नदेखिएकाले छुट्टै विद्युत् उत्पादन गर्न प्रस्ताव गरिएको उनले बताइन् । प्रवक्ता केसीका अनुसार प्रारम्भिक अध्ययनमा बाँधस्थलबाट १२ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । 

जनताको जलविद्युत्अन्तर्गत बबईमा उत्पादन हुने विद्युत्को मोडालिटी तय भइसकेकाले बाँधस्थलमा छुट्टै आयोजना बनाउनका लागि अनुमति दिन संघीय सरकारसँग अनुरोध गरिएको प्रवक्ता केसीले बताइन् । भेरी बबई डाइभर्सन आयोजनाको सञ्चालक समितिमा कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, कर्णाली प्रदेशको सचिव रहने निर्णय गरिएको छ । 

प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइने
त्यस्तै, कर्णाली प्रदेश सरकारले हालको प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपका विकास गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्नका लागि सुर्खेत मेडिकल कलेज पूर्वाधार विकास आयोजनालाई सहमति दिने निर्णय गरिएको छ ।