Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १०:००:००

दाङमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा कम क्षेत्रफलमा धानखेती लगाए पनि उत्पादन यस वर्ष बढेको हो । कृषि ज्ञान केन्द्र दाङका अनुसार गत वर्ष ३७ हजार सात सय १० हेक्टरमा लगाइएको धानखेतीबाट एक लाख ६८ हजार ५८ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३६ हजार नौ सय ५५ हेक्टरमा धानखेती लगाइएकोमा एक लाख ८१ हजार चार सय ५३ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ तथा सूचना अधिकारी जीवनकुमार केसीले बताए । गत वर्षभन्दा १३ हजार तीन सय ९५ मेट्रिकटन वृद्धि भएको केन्द्रले जानकारी दिएको छ ।

कम क्षेत्रफल, धेरै उत्पादन
विगतभन्दा यस वर्ष कम क्षेत्रफलमा खेती गरिए पनि धान उत्पादनमा वृद्धि भएको केन्द्रले जानकारी दिएको छ । सूचना अधिकारी केसीका अनुसार गत वर्ष ३७ हजार चार सय १० हेक्टरमा धानखेती गरिएको थियो । यस वर्ष ३६ हजार नौ सय ५५ हेक्टरमा धान रोपाइँ भएको हो । रोपाइँको समयमा वर्षा नभएकाले गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ गरिएको भए पनि उत्पादन भने वृद्धि भएको उनको भनाइ छ । ‘यस वर्ष वर्षा अलि ढिलो भयो । समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा खेती भएको थियो,’ उनले भने, ‘खेतीका समयमा पानी नपरेकाले उत्पादन घट्ने अनुमान गरिएको थियो । तर, उत्पादन भने विगतको भन्दा धेरै भएको छ ।’  

यसकारण बढ्यो धान 
रोपाइँ ढिलाइ भए पनि रोपाइँपछि आवश्यकताअनुसार पानी परेकाले उत्पादनमा वृद्धि भएको सूचना अधिकारी केसीले बताए । गत वर्ष प्रतिहेक्टर उत्पादकत्व ३ दशमलव ८५ मेट्रिकटन थियो । कृषि ज्ञान केन्द्र दाङले ३० जना किसानको खेतमै पुगेर विभिन्न ठाउँको बाली कटानीको आधारमा उत्पादन के–कति छ भनेर उत्पादनको तथ्यांक संकलन गरेकोसमेत उनले बताए । यस वर्ष दाङमा दुई प्रतिशत जग्गामा खेती भएको थिएन । किसानले उन्नत बिउ–मल प्रयोग गर्नुका साथै बाढीपहिरोबाट कुनै क्षति नभएका कारण पनि उत्पादन बढेको उनले बताए । केन्द्रको कार्यक्रममार्फत जिल्लाका विभिन्न ठाउँमा किसानलाई सिँचाइको समस्यालाई विस्तार गरिएकाले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।

आकासेपानीकै भर 
जिल्लामा अहिले आधा क्षेत्रफलमा आकासेपानीको भरमा खेती हुँदै आएको छ । अहिले पनि दाङमा करिब ५० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ गर्न आकासेपानीको भर पर्ने बाध्यता रहेको केसीले जानकारी दिए । दाङमा अहिले ६५ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । अहिले प्रदेशमार्फत जिल्लामा आउने पिएमए र स्मार्टकृषि गाउँ कार्यक्रम आउन बाँकी रहेकोसमेत सूचना अधिकारी केसीले जनाएका छन् ।

समयमा कृषकका लागि मल, बिउ र सिँचाइको राम्रो व्यवस्था तथा उपलब्ध भएमा उत्पादन बढाउन मद्दत मिल्नेसमेत उनले बताए । दरबन्दीअनुसारको जनशक्ति नहँुदा अनुदानका कार्यक्रम पनि सही समयमा सदुपयोग हुन नसकेको र सेवा प्रवाह राम्रो हुन नसकेको उनले बताए ।