मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०९:०५:००
Read Time : > 2 मिनेट
खेलकुद

इन्दिराको उमेर नपुग्दा मनितालाई मौका

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०९:०५:००
  •  २० भदौमा भएको अन्तिम छनोटबाट १३औँ सागमा स्थान बनाएकी इन्दिरा बस्नेत उमेर नपुगेका कारण प्रतियोगिता खेल्नबाट वञ्चित
  •  पासपोर्ट बनाउने क्रममा इन्दिराको नागरिकताअनुसार उमेर साढे १६ वर्ष, डब्लुटिएफको नियमानुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न १८ वर्ष पुग्नुपर्ने 
  •  सागको क्लोज क्याम्पको फाइनल छनोटमा पराजित, तर इन्दिरा बाहिरिएसँगै आन्तरिक छनोटमा सबैलाई पछि पार्दै मनिता छनोट 

नेपाली महिला तेक्वान्दो खेलकी ‘गोल्डेन गर्ल’ नामले चिनिने मनिता शाही नेपालमा १ देखि १५ डिसेम्बरसम्म हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेक्वान्दोको अन्तिम क्लोज क्याम्पमा रही वैदेशिक प्रशिक्षणमा छिन् । यसअघि मनिता सागको छनोट चरणबाटै बाहिरिएकी थिइन् । तर, अहिले घरमै हुन गइरहेको सागमा स्वर्ण पदक जित्ने अभियानमा मनिता कडा मिहिनेतमा जुटिरहेकी छिन् । सागमा छनोट भएकी इन्दिरा बस्नेतको उमेर खेल्न अयोग्य भएपछि मनिताको भाग्य खुलेको हो । 

गत २० भदौमा सम्पन्न छनोट प्रतिस्पर्धाबाट इन्दिराले १३औँ सागमा आफ्नो स्थान पक्का गरेकी थिइन् । सोही स्पर्धाको हेभिवेट समूहमा निशा रावलसँग स्तब्ध हुँदा मनिताको साग खेल्ने सपना तुहिएको थियो । सागको अन्तिम छनोट खेल्नुअघि मनिताले पदक जित्दै करिअरबाट विश्राम लिने इच्छा पोखेकी थिइन् । निशाबाट पराजित हुँदा उनी निकै भावुक बनेकी थिइन् । अहिले पुनः साग खेल्न पाउँदा उनी निकै खुसी छिन् ।

यता इन्दिराले भने अन्तिम क्लोज क्याम्पसम्म निरन्तर प्रशिक्षण लिइरहिन् । तर, वैदेशिक प्रशिक्षणका लागि पासपोर्ट बनाउन नागरिकता हेर्दा उनको उमेर पुगेन । नागरिकताअनुसार उनको उमेर साढे १६ वर्ष मात्र देखिएको छ । विश्व तेक्वान्दो महासंघको नियमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि १८ वर्षको हुनुपर्छ । नियमअनुसार उमेर नपुग्दा इन्दिरा प्रशिक्षणबाट बाहिरिइन् । 

एक खेलाडी कम हुँदा आन्तरिक छनोट प्रतियोगिता भयो । इन्दिराको समूहमा उत्कृष्ट वैकल्पिक खेलाडीबीच भएको आन्तरिक प्रतिस्पर्धामा मनिताले बाजी मार्दै साग खेल्ने सपना साकार बनाइन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले पनि इन्दिराको स्थानमा मनिताले खेल्ने र प्रशिक्षणसमेत लिइरहेको जानकारी नयाँ पत्रिकालाई दिएका छन् । 

‘हो, मनिताले साग खेल्नेछिन्,’ संयोजक रानाभाटले भने, ‘इन्दिरा अहिले साढे १६ वर्षकी मात्र छिन्, अन्तर्राष्ट्रिय नियमअनुसार खेल खेल्न १८ वर्ष हुनैपर्छ, त्यही प्रावधानले इन्दिरा बाहिरिएकी हुन् ।’ उत्कृष्ट वैकल्पिक खेलाडीबीच भएको प्रतिस्पर्धाबाटै मनिता छानिएको रानाभाटले बताए । ‘वैकल्पिकमा रहेका एकदेखि पाँचसम्मका उत्कृष्ट खेलाडीबीचको प्रतिस्पर्धा भएको थियो, जसमा मनिता छनोट भइन्,’ रानाभाटले भने । 

मनिता र इन्दिराले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शीर्ष दुईभित्र रही सागको अन्तिम छनोट चरणसम्म स्थान बनाएका थिए । प्राविधिक टोली र प्रशिक्षकले उमेर थाहा नपाउँदा अर्की खेलाडीको साग खेल्ने सपना भताभुंग भएको छ । इन्दिरा बाहिरिनुमा पक्कै पनि प्राविधिक त्रुटि देखिन्छ । स्वयं राष्ट्रिय टिम तयारीका संयोजक रानाभाटले पनि यसलाई स्विकारेका छन् । उनले सुरुमै जिल्ला खेलकुदबाट इन्दिराको उमेर स्पष्ट उल्लेख नगर्दा यस्तो दुर्घटना हुन पुगेको बताएका छन् ।

‘आठौँ राष्ट्रिय प्रतियोगितामा भाग लिँदा खेलाडीले विभिन्न चरण पार गरेका थिए, त्यसवेला पनि खेलाडीको जन्ममिति दर्ता गर्नुपथ्र्यो, इन्दिराको हकमा जिल्लाबाटै नै गल्ती भएको देखियो,’ प्राविधिक गल्ती औँल्याउँदै संयोजक रानाभाटले भने, ‘उमेर कम हुँदा जिल्लाले सुरुमै रोक्नुपर्ने थियो, प्राविधिक गल्तीका कारण आज एक खेलाडी साग खेल्नबाट वञ्चित भयो ।’

यता राष्ट्रिय खेलकुद परिषद्को तेक्वान्दोका मुख्यप्रशिक्षक नवीनकुमार श्रेष्ठले आठौँ राष्ट्रिय खेललाई नै आधार बनाएर सागका लागि खेलाडी छनोट गरेको बताएका छन् । आठौँ खेल्नुअघि खेलाडीले जिल्लादेखि प्रदेशस्तरसम्म छनोट चरण पार गरेका थिए । त्यसवेला पनि खेलाडीको उमेर उल्लेख भएको तर स्थानीय जिल्ला खेलकुद समितिले नै खेलाडीको उमेर सही नपाउँदा एक राम्रो खेलाडी बाहिरिएको प्रशिक्षक नवीनले बताए ।

‘हामीले मुख्य आधार नै आठौँ राष्ट्रिय खेललाई मानेका थियौँ, अहिले प्रशिक्षणमा रहेका खेलाडी त्यहीँबाट आएका हुन्,’ उनले भने, ‘जिल्लादेखि प्रदेशसम्मको खेलकुद चलाउने समितिले खेलाडीको उमेर ख्याल गर्नुपथ्र्यो, त्यसमा हेलचेक्य्राइँ भएको देखिन्छ । राम्रो खेलाडी बाहिरिँदा सबैलाई दुःख लागेको छ ।’ पासपोर्ट बनाउनेक्रममा नागरिकता हेर्दा मात्र इन्दिराको उमेर थाहा भएको उनले स्विकारेका छन् ।  

‘हामीले वैदेशिक प्रशिक्षणमा जानुअघि पासपोर्ट बनाउन खेलाडीसँग नागरिकता माग गरेका थियौँ, त्यसैवेला इन्दिराको उमेर नपुगेको देखियो,’ प्रशिक्षक नवीनले भने, ‘त्यसपछि उनी प्रशिक्षणबाट बाहिरिइन् ।’ उनका अनुसार ६२, ६८ र ७३ केजी तौल समूहबीच पुनः प्रतिस्पर्धा गराउँदा मनिता छनोट भइन् । अहिले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये मनिता सफल खेलाडीमा पर्छिन् । उनले २००६ को दोहा एसियाडमा कांस्य, २००६ मै १०औँ सागमा स्वर्ण तथा २०१० को ११औँ सागमा रजतपदक जितेकी थिइन् । 

बक्सिङमा पनि खेलाडी परिवर्तन
साग नजिकिरहँदा चोटका कारण खेलाडी परिवर्तन भइरहेका छन्, जसका कारण टिम तयारी समितिले खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्न सकिरहेको छैन । बक्सिङको ८१ केजी तौल समूहमा छनोट भएका मनोहर बस्नेत चोटका कारण सागबाट बाहिरिएका छन् । अब उनको स्थानमा गणेश प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रशिक्षणको समयमा घुँडामा चोट लागेका कारण मनोहरले साग गुमाएका हुन् । यता पौडीमा पनि खेलाडी थपघट हुन लागेको छ ।