Skip This
Skip This

नेपालभाषा साहित्यका सारथि

२०७५ पौष २८ शनिबार ०८:१४:००

भोटाहिटीबाट असनचोक नपुग्दै बायाँतिर पर्दछ– नाति बज्रया सफुधुकु –नाति बज्रको पुस्तक भण्डार ।
 ०००
हरेक वर्ष दसैँपछिको द्वादशी र त्रयोदशीमा भक्तपुरका विभिन्न ठाउँमा बर्सेनि पालैपालो हुने गर्छ– नेपालभाषा साहित्य तःमुँज्या । तँमुज्याको प्रचारार्थ बनाइने हरेक प्रचार सामग्रीमा नछुट्ने नाम हो– नाति बज्रया सफुधुकु, भोताहिटी, यँ । तःमुँज्यामा हुने साहित्यिक प्रतियोगितामा सहभागी बन्न इच्छुक प्रतियोगीले आफ्ना रचना बुझाउन तोकिएका केही स्थानमा कहिल्यै नछुटेको नाम हो– नाति बज्रया सफुधुकु, भोताहिटी, यँ ।


तःमुँज्या नै हाम्रो लागि नेपालभाषामा लेख्न सिकाउने पाठशाला हो । तःमुँज्याको दबुमा रचना वाचन गर्ने गौरवसिद्धिकै लागि भए पनि हामीले जानी–नजानी नेपालभाषामा लेख्न थाल्यौँ । नेपालभाषा हाम्रो मातृभाषा हो । तर, हामीले नेपालभाषा पढेर साहित्य रच्न थालेका होइनौँ । जे बोल्थ्यौँ, त्यसैलाई देवनागरीमा लेख्थ्यौँ । वास्तवमा आज पनि नेपाली भाषामा केही लेख्नुभन्दा धेरै गाह्रो काम लाग्छ–नेपालभाषा लेखन । नेपालभाषाका कुनै कृति पढ्न नेपाली र अंग्रेजी भाषाका पुस्तक पढ्नभन्दा निकै कठिन महसुस हुन्छ । यो हाम्रो पुस्ताका लागि विडम्बनाको कुरा हो । हामीभन्दा कान्छो पुस्ताका लागि यो काम हाम्रो लागि भन्दा हम्मेहम्मे हुने गरेको देख्छु । 
तःमुँज्याले नै हामीलाई नेपालभाषाका केही कृति पढ्ने जाँगर पनि भरिदियो । तःमुँज्यामा एकाधपटक पुरस्कार जित्दा पाएको नेपालभाषाका केही पुस्तकबाहेक हामीसँग अरू नेपालभाषाका पुस्तक पनि थिएनन् । तर, नेपालभाषा सिक्ने हुटहुटीले धेरैलाई जस्तै हामीलाई पनि पु-याएको ठाउँ हो– नाति बज्रया सफुधुकु ।
....................
तिनताक हामी मावि तहका विद्यार्थी थियौँ । नाति बज्रको पुस्तक पसल खोज्दै हामी पुग्यौँ भोटाहिटी । पुस्तकहरू व्यवस्थित रूपमा सजाइएको पुस्तक पसल मानसपटलमा बोकेर हामी अघि बढ्यौँ । जब हामी नाति बज्रको पुस्तक पसलसामु पुग्यौँ, हामीले दिमागमा कोरेको चित्रले शतप्रतिशत धोका खायो । नाति बज्रको पुस्तक पसल कुनै पुस्तक पसलभन्दा पुस्तक सजाइएको कुनै पाटीजस्तो लागेको थियो । खासमा उनको घर रहेको चोक दगुबहाः पुग्ने गल्लीको मुखमा एकातिर दुईकाठे खातमाथि नेपालभाषाका केही पत्रपत्रिका, पुस्तक, क्यासेट, क्यालेन्डर र तस्बिरको समग्र नाम नै नाति बज्रया सफुधुकु रहेछ । 

त्यही बसेका थिए– नाति बज्र । उनले डोरी घाँटीमा झुन्ड्याएर बाक्लो चस्मा लगाएका थिए । उनीसँगै एक जना कवि, सम्भवतः कवि राजभाइ जःकमी गफिरहेका थिए । स्कुले केटाहरू नेपालभाषाका किताब खोज्दै आउनु त्यतिवेलासम्ममा उनका लागि पनि अचम्मको कुरा भइसकेको हुनुपर्छ । स्प्रिङले अड्याएका पुस्तक निकाल्दै कति पनि झर्को नमानी हामीलाई एक–एक पुस्तकको चर्चा सुनाइरहेका थिए । त्यतिवेला हामीलाई थाहा भएका केही पुराना नेपालभाषाका पुस्तक, सम्भवतः पूर्ण वैद्यको कविता संग्रह ‘लःलःखः र रामशेखरको उपन्यास ‘नसं फागु चाु छ कि भनी सोधेका थियौँ । उनले भनेका थिए, ‘केही प्रति छन् । तर म बेच्न सक्दिनँ । नेपालभाषामा एमए पढिरहेका विद्यार्थीहरू रिसर्चका लागि पुस्तक खोज्दै यहाँ आउँछन् । उनीहरूका लागि केही प्रति मैले सुरक्षित राख्नुपर्छ ।’पछि–पछि पनि भोटाहिटी जाने मेसो पर्दा नाति बज्रको पसलमा पस्थ्यौँ । यसो आँखा डुलाउन भए पनि अल्झिन्थ्यौँ । प्रायः नाति बज्र स्वयं बसेका हुन्थे, कहिले उनका छोरा, पछि–पछि उनका नाति ।
०००
नेपालभाषा साहित्य तःमँ‘ज्यामा जोडिँदै जाने क्रममा साहित्य प्रतियोगिताका विजेतालाई पुरस्कार दिन पुस्तक किन्ने जिम्मेवारी हाम्रो भागमा पथ्र्यो । सायद नाति बज्रको पुस्तक पसल चिनेको भएर पनि हुनुपर्छ । पुरस्कार किन्न तोकिएको बजेटको आधा हिस्सा हामी नाति बज्रको पसलमा किताब किन्नलाई छुट्याउँथ्यौँ । पुरस्कारका लागि पुस्तक किन्न जाँदा हामी उनको घरमै जान्थ्यौँ । घरमा तलमाथि गर्न सक्ने हुँदासम्म उनी आफैँ किताब छान्न मद्दत गर्थे । पछि–पछि उनलाई भ-याङबाट तलमाथि गर्न असजिलो हुन थालेको थियो । हामीले पुस्तक भण्डारबाट छानेका पुस्तकको उनी आफैँ बिल बनाउँथे । हरेक पुस्तकका बारेमा चर्चा गर्थे ।

निकै हँसिलो स्वभावका नाति बज्रले पुस्तकसँगै पुस्तकको इतिहास, लेखकबारे पनि बोल्दै जान्थे । नेपालभाषाको साहित्यबारे उनको जानकारी चकित पार्ने खालको थियो । उनका कुरा सुन्दा कोही इतिहासकारका प्रवचन सुनिरहेको भान हुन्थ्यो । नेपालभाषा आन्दोलनका उनी गहिरो जानकारी भएका व्यक्ति थिए । धेरैपछि मात्र हामीलाई उनले आफ्नो कुनै विद्यालय जीवन नभएको बताएका थिए । कुनै औपचारिक शिक्षाविना नै उनी धेरै मुक्तक र गीतका लेखक थिए । उनले धेरै बालकविता पनि लेखेका छन् । 

बजारका अन्य पुस्तकको तुलनामा उनको पुस्तक पसलमा पाइने पुस्तक निकै सस्ता थिए । उनी पुरानै मूल्यमा पुस्तक बेच्थे । बाहिर पाँच–छवटा पुस्तकलाई पुग्ने पैसाले नाति बज्रको पसलबाट एक झोला नै पुस्तक लिएर फर्कन्थ्यौँ । उनको खुट्टामा समस्या भएकाले घरमा तलमाथि गर्न पनि निकै गाह्रो थियो । कान पनि कमै मात्र सुन्थे । तर पनि उनलाई बोल्न कहाँबाट शक्ति आउँथ्यो कुन्नि ? नेपालभाषा र साहित्यबारे बोल्न थाक्दैनथे । उनको चर्चासँगै प्रत्येक पुस्तकको गाता अर्थपूर्ण अनुहारमा बदलिएजस्तो भान हुन्थ्यो । उनको भण्डारबाट हामीले नेपालभाषाका मात्र नभई अंग्रेजी भाषामा लेखिएका माक्र्सवादी पुस्तक पनि किनेका छौँ । कुनैवेला उनको पुस्तक पसलमा रुस र चीनबाट प्रकाशित हुने माक्र्सवादी पुस्तक पनि बेच्ने गरिन्थ्यो ।
 ०००
नयाँ पुस्ताका युवालाई नेपालभाषा साहित्य पढ्न उत्साहित गर्न नसकेकोमा उनी सधैँ पिर मान्थे । आफूले चालीसौँ वर्षसम्म नेपालभाषा साहित्यकै विकास र संवद्र्धनका लागि पुस्तक पसलमा जीवन समर्पण गरेकोमा उनी आफ्नो गौरव सुनाउँथे । यो एक प्रकारको अराधना वा तपस्या नै थियो उनको । खुट्टा र कानको बाहेक उनमा अरू प्रकारका शारीरिक समस्या नभएको उनको परिवार स्रोतले बताएको थियो । खुट्टाले मात्र पनि साथ दिएका भए उनले बितेका छ–सात वर्षमा पनि धेरै काम गर्न सक्थे । नेपालभाषा साहित्य तःमुँज्याका लागि पुस्तक किन्न आएको भन्दा उनी निकै खुसी भएर आफ्नो शरीरले साथ नदिँदा तःमुँज्याको दबुमा उभिन आउन नसकेको दुःख पोख्थे । ‘अब केही वर्षभित्र एकपटक त तःमुँज्याको दबुमा उभिन आउँछु,’ एकपटकको भेटमा उनले सुरिएर भनेका थिए । 

सँगै बसेकी उनकी जहानले भनिन्, ‘सके त  जाने हो ।’ एक वर्ष पुस्तक किन्न हामी पुग्दा उनका नातिले हामीलाई भने, ‘बाजे केही दिनदेखि यो वर्ष तःमुँज्याबाट किताब किन्न किन आएनन् ? आजभोलि आउनुपर्ने हो भन्दै हुनुहुन्थ्यो । आज तपाइहरू आउनुभयो ।’ उनीप्रतिको सम्मान र उनको नेपालभाषा साहित्यप्रतिको उत्सर्गभावप्रति आदर गर्न पनि उनको पुस्तक पसलमा हामी पुस्तक किन्न गइरह्यौँ ।

०००
सबै मानिसले सबै क्षेत्रमा योगदान गर्न सक्दैन । सबैले आ–आफ्नो क्षेत्रमा गर्ने योगदान र समर्पणले नै समाजको कलेवर बन्ने हो । नेपालभाषाको पुस्तक बेचेर जीवन चलाउँछु भन्नु आजको परिस्थितिमा व्यापारिक हिसाबले उति फाइदाजनक बाटो होइन । नेपालभाषाका पुस्तक प्रकाशन गर्नुलाई आजको समयमा व्यापार भन्नु नै गलत हो किनभने त्यसमा नाफा हुनै सक्दैन । तथापि नाति बज्रले चार दशकसम्म नेपालभाषा साहित्यको प्रचारलाई आफ्नो योगदानको बाटो बनाए । सुरुमा त्यो एकप्रकारले पेसा हुन सक्छ, तर कालान्तरमा यो काम भाषा आन्दोलनप्रतिको योगदान बन्न पुग्यो ।

नाति बज्रले आफ्नो अन्तिम क्षणसम्म नेपालभाषाको साहित्यको प्रचारमा गरेको योगदान नै उनको परिचय हो । आफ्नो शरीरले सक्दासम्म उनले आफै“ दौडेर यसमा योगदान गरे भने शरीरले नसक्दा पनि लगातार नयाँ पुस्तालाई उत्साहित गरेर यसमा योगदान पु-याइरहे । शरीरिक असमर्थताका कारण कोठामा बसेर पनि उनले मुक्तक, स–साना कविता, गीत र गीतका सिडी निकाल्ने काममा विश्राम गरेनन् । हरेकपटकको भेटमा हामीलाई दिन उनीसँग केही न केही नयाँ कृति (पुस्तक वा क्यासेट) हुन्थ्यो । त्यति पनि नसक्दा उनले यो क्षेत्रको चिन्ता लिएर पनि योगदान गरिरहे । अब गर्न बाँकी त शरीर र मनले सकेकाहरूले हो । 
नाति बज्रप्रति हार्दिक श्रद्धाञ्जली । 
(भाषासेवी नाति बज्रको  गत १८ पुसमा निधन भयो ।)