मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
खगेन्द्र पन्त
२०७५ पौष २८ शनिबार ०७:३०:००
Read Time : > 12 मिनेट
अन्तर्वार्ता

कठघरामा चित्रबहादुर : ज्ञानेन्द्रले दनक दिएपछि मात्रै ठूला दलका घैँटामा घाम लागेको हो 

Read Time : > 12 मिनेट
खगेन्द्र पन्त
२०७५ पौष २८ शनिबार ०७:३०:००

अभियोग १ : तपाईं नेता नभएर मोहनविक्रम सिंहको ‘फलोअर’ मात्रै हो । आफ्नो विचार दिन सक्नुहुन्न, सिंहको विचार बोकर मात्रै हिंड्नुहुन्छ । सिंहको सहयोगविना तपाईंले सास पनि फेर्न सक्नुहुन्न । 

कसैका बारेमा कसैले के बुझ्छ भन्ने कुरा उसको चेतना, अनुभव र बुद्धिले निर्धारण गर्ने हो । मैले नेपालको कम्युनिस्ट आन्दोलनमा संलग्न धेरै नेताको संगत गरेको छु । समाजवाद के हो ? नेपाली समाजको परिवर्तन किन आवश्यक छ ? कम्युनिस्ट पार्टी नै किन चाहिन्छ भन्ने विषयमा म केशरजंग रायमाझीको क्लासबाट कन्भिन्स भएर यो आन्दोलनमा लागेको हुँ । त्यतिवेला मोहनविक्रम सिंहसँग भेटघाट र चिनजान नै थिएन । त्यसपछिका दिनहरूमा मनमोहन अधिकारीजीको पनि संगत गरेँ । पुष्पलाल श्रेष्ठ र तुल्सीलाल अमात्यसँग त म भान्सै जोडेर भारतमा कैयौैँ महिना सँगै बसेँ, त्यतिवेला म स्कुलमा हेडमास्टर थिएँ । भनेपछि अब केशरजंगसितै म दरबारतिर किन लागिनँ ? फाइदा त त्यतै थियो नि । पुष्पलाल र तुल्सीलालसँग भारतमा महिनौँ महिना कहिले दरभंगा, कहिले वनारस, कहिले गोरखपुर त कहिले दिल्ली हिँडेर त्यत्रो संगत गरेको मान्छे, उनीहरूकै पछि किन लागिनँ ? निर्मल लामाजीसँग म दश वर्ष एउटै केन्द्रीय समितिमा बसेर काम गरेँ । मोहन वैद्यसँग दशौँ वर्ष एउटै कमिटीमा बसेको छु । उहाँ त अहिले पनि हुनुहुन्छ नि । उहाँसँग किन टाँस्सिइनँ म ? मेरो मदन भण्डारीसँग चिनजान थिएन कि ? झलनाथ खनालसँग त म एक/डेढ वर्ष साथै बसेँ । माधव–ओलीलाई चिन्दिनथेँ कि ? विप्लवलाई चिन्दिनँ र म ? ती जति पनि नेपाली कम्युनिस्ट आन्दोलनका नेताहरू छन्, जोसँग म सँगै हिडेँ/काम गरेँ, उनीहरूकै पछि किन लागिनँ त ? 

०१५ सालमा मेरो मोहनविक्रमसँग भेट भयो । हाम्रो विचार, सिद्धान्त र व्यवहार मिलेको छ । उनको नीति, सिद्धान्त, राष्ट्र र जनताप्रतिको निष्ठा तथा विचार मिलेर पो उनीसँग छु । त्यसभन्दा पछाडि पनि त कैयौँ नेता भेट भए नि । वाम आन्दोलनका क्रममा दर्जनौँ व्यक्तिहरूको संगत गरेको छु मैले । कसले मुलुक र जनताको आवश्यकताअनुसार राजनीति गर्छ, आचरण गर्छ र नीति बनाउँछ भन्ने कुरा त म पनि जान्दो हुँ नि । गोठालो नै बस्ने भा त एमाले, कांग्रेस, माओवादी र राप्रपाकै गोठालो पनि हुन्थेँ हुँला नि । त्यसकारण मलाई यस्तो आरोप लगाउने साथीहरूलाई एक त मेरो इतिहास नै थाहा भएन । अर्को, उनीहरूको त्यहीस्तरको चेतना भएर मप्रति त्यस्तो सोच आएको हो । मप्रति डाहा गर्नेहरूले यस्तो निरर्थक र काल्पनिक आरोप लगाएका हुन् । उनीहरूले मेरो सम्पूर्ण राजनीतिक इतिहास बुझ्दै बुझेका छैनन् ।

अभियोग २ : युवाहरूलाई विश्वास नै गर्नुहुन्न । भएका परी थापा, नवराज सुवेदीलगायतका युवा नेताहरूलाई पनि पार्टीबाट लखेट्नुभयो । मूलपार्टी नेकपा मसालमा मोहनविक्रम सिंह र खुला मोर्चा राष्ट्रिय जनमोर्चामा दशकौँदेखि तपाईंले नेतृत्व गरिरहनुभएको छ । युवाको आकर्षण नभएकै कारण पार्टी पनि तपाईंहरूजस्तै फूर्तिविनाको बुढो र जीर्ण बनेको छ ।

यो आरोप पनि खासै तर्कसंगत छैन । हाम्रो पार्टीले नवराज सुवेदी र परी थापाजस्ता युवाहरूलाई पटक–पटक बाग्लुङ, प्युठानबाट निर्वाचित गराएर माननीयसमेत बनाएको हो । उनीहरू पार्टीको उच्च तहसम्म पनि आएका हुन् । राष्ट्रिय जनमोर्चाबाट अथवा मसालबाट उनीहरूले जति फाइदा उठाउन सके, त्यो उठाए । त्यसभन्दा बढी फाइदा नहुने देखेपछि उनीहरू पलायन भए, भागे । अब पलायन भएर उनीहरू कहाँ गएर मिस्सिएका छन्, त्यो पनि संसारले देखेको छ । हाम्रा दर्जनौँ जनवर्गीय संगठन छन् । विद्यार्थीमा युवक छन्, जनजातिका नेता युवक छन्, युवक संघमा युवक नै छन् । महिला संघमा युवा नेतृत्व नै छ । हामीले युवाहरूलाई विश्वास नगरेको भए त ती सबै संगठनको नेतृत्वमा रोजीरोजी खोजीखोजी बुढाहरूलाई मात्रै राख्थ्यौँ नि । त्यसो हुनाले युवाहरूलाई विश्वास गरेनन् भन्ने आरोप सही होइन । यो तर्कहीन आरोप हो । ‘हरूवा गोरुको छेरुवा बानी’ भनेजस्तो पार्टी, क्रान्ति र जनताप्रतिको निष्ठालाई निरन्तरता दिन नसकेर भागेका भगौडाहरूको रोदन मात्रै हो यो । यसमा कुनै सत्यता छैन । 

अभियोग ३ : जिन्दगीभर त्यागको राजनीति गर्नुभयो । अवसर पाउँदा पनि तपाईं र तपाईंको पार्टी सरकारमा सहभागी भएन । तर, बुढेसकालमा उपप्रधानमन्त्री खान जानुभयो, त्यो पनि केही महिनाका लागि ।

हाम्रो पार्टीको वैधानिक मोर्चा ०५१ सालदेखि संसद्मा छ । हामीलाई सरकारमा सहभागी हुन, संसद्बाट अनुचित फाइदा लिन अफर त धेरैपटक आयो होला नि । पजेरो संस्तृतिका बारेमा तपाईंहरू जानकार नै हुनुहुन्छ । त्यसपछिका दिनहरूमा मन्त्री, सांसदहरूमा आएको विचलन, भ्रष्टाचारमा सामेल भएको, नक्कली बिलहरू बनाएर संसद्बाट विभिन्न खालका सुविधाहरू लिएको पनि देख्नु नै भएको छ । अनावश्यक रमाइलो गर्न, डुल्नका लागि विदेश भ्रमण गरेर जनताको ढुकुटी रित्याएको कुरा अहिले पनि तपाईंहरूले लेखिरहनु भएकै छ । राष्ट्रिय जनमोर्चा त्यस्ता खालका अनैतिक, भ्रष्ट, जनविरोधी र राष्ट्रविरोधी काममा संलग्न भएको तपाईंहरूले भेट्टाउन सक्नुहुन्न । भेटाउनुभएको छ भने भन्नुस् । हामी यसअघि सरकारमा पनि सहभागी भएनौँ । पछिल्लोपल्ट सरकारमा सामेल हुनुको कारण छ । 

नेपालको संविधान नेपाली जनताका प्रतिनिधिहरूले बनाउन पाउनुपर्छ भनेर हाम्रो पार्टीले ०१४/१५ सालदेखि लगातार संघर्ष गरिरहेको छ । जब पञ्चायती संविधान गयो, सबै राजनीतिक पार्टीहरूले ‘राजाले बनाइदिएको संविधानअन्तर्गत संसद्मा खेल्नुपर्छ, संसदीय व्यवस्थामा तर मार्नुपर्छ,’ भने । उनीहरू त्यसमा फसे । हाम्रो पार्टीले भन्यो कि राजाले बनाएको संविधानका आधारमा संसद्मा भाग लिने हो भने कुनै पनि वेला राजाले गलहत्याउन सक्छन् । जसरी ०१५ सालमा राजा महेन्द्रले दिएको संविधानका आधारमा संसद्को चुनाव भएको एक/डेढ वर्षमै जनप्रतिनिधि संस्था संसद्लाई राजाले खाइदिए, ठीक त्यस्तै इतिहास दोहोरिन्छ भन्ने हाम्रो कुरा थियो । त्यसकारण संविधानसभाको चुनाव हुनुपर्छ, राजाले बनाएको संविधानका आधारमा संसद्को चुनाव भयो भने जुनसुकै वेला राजाले संसद् विघटन गर्न सक्छन् र जनताको अधिकार खोस्न सक्छन् भन्यौँ । यस्तो गल्ती नगरौँ भनेर हाम्रो पार्टीले ०४८ सालको संसदीय निर्वाचन बहिष्कार नै गर्‍यो । हामीले राखेको त्यो कुरा ०५९ सालमा राजा ज्ञानेन्द्रले जनप्रतिनिधि र संसद् चापचुप्प पारेपछि बल्ल कांग्रेस, एमाले र माओवादीको घैँटामा घाम लाग्यो । त्यसपछि मात्र ठूला पार्टीका आँखा खुले र संविधानसभाद्वारा संविधान बन्नुपर्छ भन्ने कुरामा बल्ल आए । अहिले कांग्रेस, एमाले, माओवादीहरूले संविधानसभाको जति पनि ठूला कुरा गर्छन् नि ज्ञानेन्द्रले दनक दिएपछि मात्र बुझेका हुन् । तर, हाम्रो पार्टीको इतिहास हेर्नुस्, हामी लगातार संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर भनिरहेका छौँ । हरेक महाधिवेशनबाट हामीले संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने नीति लिएका छौँ । अब भन्नुस्, कसले गर्‍यो देशको नेतृत्व ?

संविधानसभाबाट संविधान जारी गर्न नदिन पनि ठूलो चलखेल भयो । संविधान छेक्न र आफ्नो अनुकूलको संविधान जारी गराउन भारतीय विस्तारवादका एजेन्टहरू त यहाँ आएर छाप्रो नै हालेर बसे । त्यतिवेला कांग्रेस, एमाले र माओवादीले एकता कायम गरेर संविधान जारी गर्ने दृढता देखाए । त्यसपछि त झन नाकाबन्दी नै गर्‍यो । हो, त्यो नाकाबन्दीको विरोधमा लड्नका लागि हामी एमाले र माओवादीसहितको सरकारमा सहभागी भएका हौँ । चार महिना त हामीले छलफल नै गर्‍यौँ । हाम्रो संविधान हामी आफैंले बनाएबापत भारतीय विस्तारवादीहरूले देशमाथि नै हस्तक्षेप गरेपछि तिनका विरुद्ध लड्न सरकारमा सामेल हुनुपर्‍यो भन्ने कुरा आएपछि हाम्रो पार्टीको केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको हो । हामी सुरुमै सरकारमा गएको भए हामीलाई मालदार मन्त्रालय टक्रयाइरहेका थिए । तर, हामी सत्ताको रसास्वादनका लागि सरकारमा जान लागेका थिएनौँ । भारतीय विस्तारवादका विरुद्ध नाकको टुप्पामा टिमुर लायो कि लाएन राष्ट्रिय जनमोर्चाले ? 

अभियोग ४ : जनताका अगाडि सधैँ संघीयताको विरोध गर्नुभयो । तर, संघीयताको पक्षधर तत्कालीन एमाले नेतृत्वको सरकारमा सहभागी हुनुभयो । 

हामी संघीयतालाई स्वीकार गरेर सरकारमा गएको हो र ? त्यतिवेला सरकारमा सामेल भएका तत्कालीन एमाले–माओवादीका नीतिलाई समर्थन गर्न गएको हो र ? हामी त हाम्रो संविधान हामी आफैँले बनाएबापत भएको भारतीय विस्तारवादको हस्तक्षेपविरुद्ध लड्न गएका हौँ । यदि एमाले–माओवादीको नीतिलाई समर्थन गरेर गएको भए त जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने भारतीय प्रस्ताव स्वीकार गथ्र्यौँ नि । उनीहरूले त सजिलै स्वीकार गरे । हाम्रो पार्टीले त त्यसका विरुद्धमा मतदान गर्‍यो नि । मैले क्याबिनेटमा वा संसद्मा कहीँ पनि संघीयताको समर्थन गरिनँ । न त तत्कालीन एमाले–माओवादीको राजनीतिलाई स्वीकार गरें । सरकारमा सहभागी भएर पनि मैले क्याबिनेट र संसद् बैठकमा भारतीय विस्तारवादको हस्तक्षेपविरुद्ध अनि, अमेरिकन र युरोपियनहरूले नेपालमा जातीय राज्य बनाएर सुडान र नाइजेरिया बनाउने षडयन्त्रका विरुद्धमा लगातार आफ्नो पार्टीको आवाज बुलन्द गर्ने काम गरेँ । जुन, नेपाली जनताले देखिराखेकै छन् । 

सरकारमा जान केन्द्रीय समितिले निर्णय गरेको हो । त्यसपछि दुई÷दुईपटक राष्ट्रिय सम्मेलन भएको छ । सम्मेलनले पनि त्यसवेलामा सरकारमा गएर भारतीय विस्तारवादको भण्डाफोर गर्नु र संघीयताको विरोध गर्न सक्नु पार्टीको नीति सफल भएको भनेको छ । स्वयं सरकारमा बसेको उपप्रधानमन्त्रीले प्रधानमन्त्रीले राखेको प्रस्तावको विरुद्धमा मत हालेको छ । एकदिन मैले क्याबिनेट बैठकमै जिस्क्याएँ–‘तपाईहरूले राखेको प्रस्तावका विरुद्धमा भोट हालेपछि पनि मलाई केही गर्नुहुन्न त क्या हो ?’ तत्कालीन प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईंलाई आफ्नो विचार र सिद्धान्त छाडेर आउनुस् भनेको भए त सरकारमै आउनुहुन्नथ्यो नि । हामीले आफ्नो संविधान बनाएबापत हामीमाथि भएको हस्तक्षेपको विरुद्धमा तपाईं सरकारमा आएर लड्नुभयो, त्यो नै हाम्रा लागि काफी छ । आफ्नो विचार क्याबिनेट र संसद्मा लगेर जानुभयो, त्यसमा कारबाही गर्ने त कुनै औचित्य नै रहेन ।’ प्रधानमन्त्रीले भनेको यो कुरा धेरै मन्त्रीहरूले सुनेका छन् ।

सत्ताको दुरूपयोग गरेर आफूलाई, आफ्ना नातापाता र गुटका मान्छे बनाउने जुन संस्कृति हाम्रा नेताहरूको छ, सरकारमा बसेर मैले त्यो गलत काम पनि कहिल्यै गरिनँ । गरेको भए तपाईंहरूले देखाउन सक्नुहुन्छ । ९ महिना सरकारमा बस्दा अरू मन्त्री र कर्मचारीहरू पटकपटक विदेश गए । मलाई पनि आएका थिए अफर, तर मैले जान्नँ भन्दिएँ । किनभने यो रोग हो । युरोपतिर गए दुई/अढाई सय डलर दैनिक पाइने, एसिया डुल्न गए सय डलर पाइने । त्यही खेती गर्ने संस्कृति छ हाम्रा नेताहरूमा । मन्त्री भयो कि विदेश जाने पहिलो काम हुन्छ । आफ्नो दुनो सोझ्याउने र जनताको ढुकुटी रित्याउने काम गर्छन् । जानै हुन्न भन्ने पनि होइन, काम पर्दा त जानु पनि पर्छ । तर, रमाइलो गर्न, डलर कुम्ल्याउन त जानु भएन नि । जनमोर्चाले ९ महिना सरकारमा बस्दा एक पैसा कहीँ तलमाथि गरेको गन्ध मात्रै पनि पाउनुभयो ? यदि सिन्को कमजोरी मात्रै पाएको भए त के निहुँ पाउँ भनेर सुँसुँ.. गर्दै हिँड्ने अवसरवादीहरू, छेरुवाहरूले ल्याउँथे नि त्यो कुरा बाहिर । 

त्यसकारण कुराका लागि मात्रै कुरा गर्नेले त जे पनि भन्छन् होला । म पञ्चायतकालमा हाइस्कुलको हेडमास्टर हुँदा राजतन्त्रको विरोध गर्थेँ । यस्ता आरोप लगाउनेहरूले सरकारी हाइस्कुलमा हेडमास्टर हुने, अनि पञ्चायतको विरोध गर्ने पनि भन्न सक्छन् । 

अभियोग ५ : प्रगतिशील राजनीति गर्नुहुन्छ तर तल्लो तहमा अधिकार पुर्‍याउने संघीयताको विरोध गर्नुहुन्छ । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग संघीयताको मुद्दामा कार्यगत एकता गर्नेसम्मको आन्तरिक छलफल गर्नुभयो ।

कार्यगत एकता भनेको प्रमुख दुश्मनसित पनि हुन्छ । कार्यगत एकता भनेको के हो त्यसलाई बुझ्न पनि सक्नुपर्‍यो । जुन विषयमा कुरा मिल्छ, ती विषयमा जोकोहीसँग पनि कार्यगत एकता हुन्छ । दोस्रो विश्वयुद्धमा जब हिटलरले फासिस्ट नीति अपनाएर संसारभर फासिजम युग अगाडि बढ्यो, इस्टालिनले अमेरिका, बेलायत, फ्रान्ससित समेत कार्यगत एकता गरे । उनीहरू त जानी दुश्मन हुन् नि अमेरिकी साम्राज्यवाद, ब्रिटिस साम्राज्यवाद रसियन जनताका । अन्तर्राष्ट्रिय मान्यता अथवा यो कार्यगत एकताको सिद्धान्त के हो भने जुन मुद्दा जोसँग मिल्छ, त्यससँग अस्थायी रूपमा कार्यगत एकता हुन सक्छ । हाम्रै पार्टीको इतिहासमा भन्नुस्, जब कांग्रेस र तत्कालीन एमाले भएर महाकाली सन्धि गरे, हामी त्यतिवेला राप्रपा र कीर्तिनिधि विष्टसँग समेत आन्दोलनमा सँगै हिँड्यौँ । किनभने कीर्तिनिधि विष्ट पनि महाकाली सन्धिीविरुद्धमा थिए । हामीले कार्यगत एकता गर्‍यौँ । गणतन्त्र प्राप्तिको ०६२/६३ को आन्दोलनमा कांग्रेसलगायत अहिलेको राजपासित समेत हामीले सहकार्य गर्‍यौँ । 

कार्यगत एकता के हो र पार्टी एकता के हो भन्ने कुरा सबै जनताले बुझेका छैनन् । राष्ट्रिय जनमोर्चाले त खुलेआम ०६४/६५ देखि नै संघीयता यो मुलुकका लागि सम्भवै छैन भनेको छ । राप्रपाले यो कुरा बाहिर भन्दैन, मनमनै मात्र भन्ने हो । उसलाई डर छ नि । शक्ति राष्ट्रहरूले यहाँ संघीयता बोकाएका हुन् । राप्रपालाई पनि सत्तामा जान, आफ्नो अस्तित्व जोगाउन शक्ति राष्ट्रहरू चाहिन्छन् । त्यसकारण उसले बाहिर भन्दै हिँड्दैन, मनमनै मात्र भनेको हो । जनमोर्चाले तत्काल विषय मिल्नेहरूसँग कार्यगत एकता गर्ने प्रस्टै भनेको छ । जनतालाई अधिकार दिनका लागि संघीयता चाहिन्छ भन्ने कुरा निरर्थक हो । झुठको खेती हो यो । संसारभर १७० देश छन् संघीयता नभएर एकात्मक प्रणालीअन्तर्गत चलेका । त्यहाँका जनता पनि अधिकारसम्पन्न छन् । जापानका जनताले अधिकार पाएका छन्, पोल्यान्डका जनताले अधिकार पाएका छन् । त्यहाँ त एकात्मक प्रणाली छ नि ।

जनतालाई अधिकार दिनका लागि संघीय प्रणालीमै जानुपर्छ ? यो झुठको खेती हो । यो नेपालमा चाहिँ अमेरिकन र युरोपियनहरूले एक प्रकारको जातीय संघीयता र भारतीय विस्तारवादले हिमाल, पहाडबाट तराईलाई अलग गर्ने संघीयता ल्याउन खोजेका हुन् । अहिले हामीकहाँ आएको भारतीय संघीयता हो । संघीयताको आवरणमा अहिले सुडानमा के भइरहेको छ ? नाइजेरियामा के भइरहेको छ ? युगोस्लाभाकिया कहाँ पुग्यो ? त्यसकारणले जनतालाई अधिकार दिनैका लागि संघीयता चाहिन्छ भन्ने निरर्थक बकवास हो । यसको कुनै औचित्य छैन । प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय निकायलाई अधिकार दिन सकिन्छ, जनतालाई अधिकार दिन सकिन्छ । त्यसैले संघीयतै चाहिन्छ भन्ने निरर्थक कुरा हो, असैद्धान्तिक कुरा हो ।

राप्रपाले संघीयताको विरोध गर्‍यो र त्यो मुद्दामा सहकार्य गर्न खोज्यो भने ‘हुँदैन, तिमीहरूसँग हामी सहकार्य गर्दैनौँ’ भन्न मिल्छ ? त्यति संकीर्ण हुन मिल्छ ? त्यो त वामपन्थी संकीर्णवादी विचार हो । नेपालमा विदेशीहरूको हस्तक्षेप भयो, त्यसका विरुद्ध संघर्ष गरौँ भनेर कसैले भन्छ भने ‘हुँदैन, तँसँग अरूमा कुरा मिल्दैन’ भन्न मिल्छ ? जुन वेलामा राजा महेन्द्रले कोदारी राजमार्ग खने, हामी राजतन्त्रको विरुद्धमा, पञ्चायती व्यवस्थाको विरोधमा जीवनमरणको संघर्ष गरिरहेका थियौँ । भारतीय विस्तारवादले सीधै आँखा तर्‍यो । र, स्वयम् नेपाली कांग्रेस कोदारी राजमार्गको विरुद्धमा खुलेआम आयो । तर, हाम्रो पार्टीले ‘यो स्वागतयोग्य काम हो, राजा महेन्द्रले ठीक गरे’ भनेर स्वागत गर्‍यो । हामीले स्वागत गरेबापत ‘दरबारिया कम्युनिस्ट’ भनेर चिच्याउँदै हिँडे तत्कालीन कांग्रेसहरू । त्यस्तै, महेन्द्रले पूर्व–पश्चिम जुन राजमार्ग खने, त्यसलाई पनि हामीले स्वागत गर्‍यौँ । हामी सैद्धान्तिक राजनीति गर्छौँ । विरोधीले कुनै राम्रो काम गरे ‘यो विरोधी हो, त्यसले राम्रो काम गरे पनि त्यसको समर्थन गर्न हुन्न’ भन्ने संकीर्णवादी सोच हामी राख्दैनौँ । त्यस्तो सोच्ने स्वार्थी तत्व हुन् । 

अहिले पनि कतिपय राजनीतिक पार्टीहरूले राष्ट्र र जनताको पक्षमा काम गर्छन् भने मतभेद छ भनेर अनदेखा गर्न हुन्छ ? विरोधका लागि सबै कुरा विरोध गर्न मिल्छ ? हाम्रो पार्टीको नीति सधैँ विरोधीले पनि राम्रो काम गर्छ भने त्यसको समर्थन गर्नुपर्छ भन्ने हो । पूर्वाग्रही भएर हिँड्नुहुन्न । आफ्नै पार्टीको मान्छे छ, आफ्नै नेता छ, आफ्नै समर्थक छ, त्यसले गलत गर्छ, गद्दारी गर्छ, बदमासी गर्छ भने त्यसलाई हटाउनुपर्छ, त्यसलाई कारबाही गर्नुपर्छ र त्यसलाई घृणा गर्नुपर्छ । हाम्रो नीति र विचार मान्यो तर उसले जे पनि गर्छ भने हाम्रै पार्टीभित्र त्यो कुरा सह्य हुन्न । त्यस्तालाई पनि हाम्रोमा कारबाहीको दण्ड अघि बढ्छ । 
 

अभियोग ६ : जनआन्दोलनको बलमा राजतन्त्र ढलेको एक दशक बितिसक्यो । तर,  तपाईंहरू अहिले पनि राजतन्त्र पुन:स्थापनाको खतरा छ भन्दै कार्यक्रम गरेर जनता तर्साइरहनुभएको छ ।

सम्भावना देखेरै हामीले गर्‍या होला नि । देखाउनका लागि मात्रै त कसैले राजनीति गर्दैन । फ्रान्समा सामन्तवादको विरुद्धमा आन्दोलन भयो । त्यहाँका शासकहरूलाई फ्रेन्च जनताले जिलोटिन मेसिनमै हालेर सिध्याएका थिए । त्यो त देख्यौँ नि हामीले । पछि त्यहाँ प्रतिगमन भयो कि भएन ? त्यहाँ नेपोलियन आफैं सम्राट, राजा भए कि भएनन् ? बेलायतमा त्यहाँका राजा प्रथमलाई फाँसी दिइएको थियो । तर, त्यहाँ राजतन्त्र फर्कियो कि फर्किएन ? त्यसकारण दर्जनौँ यस्ता उदाहरणहरू छन्, क्रान्ति भइसकेपछि पनि प्रतिक्रान्तिको गम्भीर सम्भावना हुन्छ । रुसमा लेलिन, स्टालिनले स्थापना गरेको समाजवादी व्यवस्था कहाँ गयो आज ? त्यहाँ प्रतिगमन भएन ? पुँजीवादी मात्रै होइन साम्राज्यवादी अवस्थामा समाजवादी देश गयो । यत्रा उदाहरण छन्, चीनमा माओले नयाँ जनवादी, समाजवादी क्रान्ति गरेको होइन ? आज चीन कहाँ गयो ? साम्राज्यवादी अवस्थामा पुगिसक्यो चीन । अब प्रतिक्रान्ति हुन्न, १० वर्ष भइसक्यो नेपालमा गणतन्त्र आएको, यस्ता कुरा गर्ने ? संसारका दर्जनौँ उदाहरणहरू छन्, हामी पनि सतर्क हुनुपर्छ । सजग हुनुपर्छ । ‘प्रतिगमन हुँदै हुन्न, अब यसमा फुलस्टप लाग्यो’ भनेर भन्नै हुन्न । 

भारतमा सत्तारुढ भाजपा नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा छ, हिन्दूराज्य चलाउन राजा चाहिने, नेपाली कांग्रेसजस्तो ठूलो पार्टी त हिन्दूधर्म चाहिन्छ भनेर अभियान चलाइरहेको छ । योचाहिँ प्रतिगमनको खतरा हो कि होइन ? गणतन्त्रमाथि कालो बादल मडारिएको देख्दादेख्दै यो अब फर्कंदै फर्कन्न भनेर जनतालाई ढाँट्ने ? यो खतरा यथावत छ, यो सम्भावना छ, हामी सबै सजग हुनुपर्छ । कांग्रेसले गणतन्त्रको पक्षमा सही गर्‍यो, कुनै वेला ०६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइराला गणतन्त्रकै पक्षमा लागेका हुन् । त्यही कांग्रेसका जिम्मेवार मान्छे आज हिन्दूधर्म चाहिन्छ भनेर अभियान नै चलाएर हिँडेको देखिरहनुभएको छ नि । यो खतरालाई देख्ने कि नदेख्ने ? आँखा चिम्लिएर हिँड्ने ? त्यसकारण प्रतिगमनको खतरा कायमै छ । अहिले पार्टीहरूका गतिविधि, चरित्र, क्रियाकलाप, प्रशासनयन्त्र र न्यायपालिकामा बसेका व्यक्तिहरूको चालचलन, गतिविधिले जनता असन्तुष्ट छन् । जनता चिढिँदै गइरहेका छन् । यस्तो प्रतिकूल स्थितिको फाइदा उठाउलान् है ? सतर्क हुनुपर्छ भनेर हामीले भनेको कुरा स्पष्टै हो । 


 

अभियोग ७ : तपाईं उपप्रधानमन्त्री भएको र नभएकोमा पनि पार्टी र कार्यकर्तालाई खासै फरक परेन । आफ्नो स्वकीय सचिवालय बनाउनेबाहेक आफ्नै मन्त्रालयमातहतका निकायमा पनि नियुक्ति गर्न सक्नुभएन ।

अरू कैयौँले सरकारमा गएर आफ्ना पार्टीका कार्यकर्ताहरूलाई ठेक्कापट्टा दिन्थे । आफ्ना पार्टीका कालोबजारी गर्ने, सामान लुकाएर बेच्नेलाई प्रहरीले हस्तक्षेप गर्‍यो, सिल गर्‍यो भने उसलाई छुटाउन सत्ताको दुरूपयोग गर्थे र गरिराखेका छन् । राष्ट्रिय जनमोर्चाको त्यो नीति पनि थिएन, चित्रबहादुरको चरित्रले पनि त्यो मान्य हुँदैनथ्यो । हाम्रा साथीहरू, हाम्रा कार्यकर्ताहरू कसैलाई ठेक्का दिएर, कसैलाई जागिर खुवाएर, कसैलाई बढ्ता अनावश्यक ऋण दिएर, सत्ताको दुरूपयोग गरेर नजिकका साथीभाइहरूको जसरी दुनो सोझ्याउनुपथ्र्यो, त्यो हाम्रो पार्टीको नीति, चरित्र र सिद्धान्तले पनि दिँदैनथ्यो । त्यसकारण त्यो मैले गर्न नसकेको कुरा सत्य हो । 

मेरा सचिवालयमा त पार्टीकै जिम्मेवार साथीहरू थिए । मैले श्रीमतीलाई त राखिनँ स्वकीय सचिवमा । भाइलाई, बुहारीलाई त राखिनँ । पार्टीमा मैले गर्न सक्ने मान्छेहरू कसैलाई सल्लाहकार, कसैलाई सचिव राखेँ हुँला । तर, ‘पानी धमिल्याएर माछा टिप्नुपर्छ’ भनेर सत्ता र शक्तिको दुरूपयोग गर्ने खेल मैले खेलिनँ । त्यो खेल नखलेको हुनाले कतिपय मान्छेहरूले मलाई अहिले पनि भन्छन्, ‘सरकारमा हुँदाको औचित्य के ?’ अब जसले जे खोजेको थियो त्यो दिनलाई पार्टीको नीतिले पनि दिएन, चरित्रले पनि दिएन । कतिपय मान्छेले गरेको आशा पूरा गर्न सक्दिनथेँ, सकिनँ । त्यसकारणले सबै होइन, केही मान्छेहरू रुष्ट छन्, आफ्नो दुनो नसोझिएका कारणले ।
 

अभियोग ८ : पदको भोको हुनुहुन्छ । नयाँ पुस्तालाई अवसर नै दिनुहुन्न । मान्छेले थाहा पाएदेखि जनमोर्चाको अध्यक्ष बनिरहनुभएको छ ।

म सधैँ राष्ट्रिय जनमोर्चाको अध्यक्ष भइरहने र नयाँ पिँढीलाई मौकै नदिने भन्ने गलत कुरा हो । हाम्रो राष्ट्रिय सम्मेलन हुन्छ, अधिवेशन हुन्छ । देशभरिबाट प्रतिनिधिहरू आउँछन् । पर्यवेक्षकहरू आउँछन् । उनीहरूले नीति बनाउँछन्, सिद्धान्त बनाउँछन् । र, कसलाई नेतृत्वमा ल्याउने भन्ने कुरा महाधिवेशनले निर्णय गर्ने हो । चित्रबहादुरलाई आफैं अध्यक्ष बन्न मन लागेर सबै प्रकारका ट्याक्टिस, तिक्डम गरेर बनेको होइन । पार्टीको निर्णय, पार्टीका सम्मेलन, पार्टीका अधिवेशनले टुंग्याएका कुरा हुन् । त्यो प्रोसेसमा त सबै जानुपर्‍यो नि । मैले नेतृत्वमा बसेर निजी स्वार्थलाई तिलाञ्जली दिएर राष्ट्र र जनताको स्वार्थलाई अगाडि राखेर संघर्ष गरिराखेको छु । म जसरी पनि नेतृत्वमा रहिरहन चाहेको छु भन्ने आरोप औचित्यहीन हो । 

म त राष्ट्रिय जनमोर्चाको अध्यक्ष हुँ । हाम्रा विद्यार्थी संगठनमा, युवक संगठनमा, महिला संगठनमा, प्रवासी संगठनमा होनाहार भर्खरका युवाहरू बस्नुभएकै छ नि । मेरो आफ्नो खुसीले, मेरो चाहनाले यहाँ बसेकै होइन । पार्टीमा लागेपछि मैले पार्टीको निर्णय मान्नुपर्छ, पार्टीका महाधिवेशन र सम्मेलनहरूले गरेका निर्णयहरू मैले मानिनँ भने म त गैरजिम्मेवार हुन्छु नि । म त भागेको हुन्छु । त्यसो हुनाले पार्टीले दिएका जिम्मेवारी, पार्टीले गरेको निर्णयलाई मैले मानेर हिँडेको हुँ । कुरा त्यति मात्रै हो । 

अभियोग ९ :  मसालको खुला मोर्चा राष्ट्रिय जनमोर्चाको सदावहार अध्यक्ष हुनुहुन्छ । पार्टीका तर्फबाट लामो समय सांसद पनि बन्नुभयो । तर पनि कार्यकर्ताको ख्याल राख्नुहुन्न । काम लिएर आउने कार्यकर्तालाई पनि ‘सिस्टमले दिँदैन’ भनेर निराश बनाउनुहुन्छ । 

आफ्नो दुनो सोझ्याउनेहरूको रोदन मात्रै हो यो । म सांसद हुँदा अथवा नहुँदा पनि नियम, कानुन र व्यवहारले गर्न मिल्ने जति काम गरेकै छु । जुन कुरा नियमले मिल्दैन, कानुनले मिल्दैन ती काम गर्न सकिनँ । मेरो पार्टीको नीतिले पनि दिँदैन र मेरो आफ्नो विचारले पनि दिन्नँ । अब कतिपय गर्न मिल्ने कुराहरू मैले आफ्नो बुद्धिले, खुबीले, क्षमताले भ्याएसम्म गरेकै छु । जुन कुरा गर्न मैले सक्दिनँ, त्यो सक्दिनँ मैले भनेकै छु । अब साथीहरूले भन्नुपर्‍यो नि, हेरचाह गरेन, संरक्षण गरेन । 

पार्टीको नीतिअन्तर्गत रहेर कार्यकर्ताको हेरचाह गर्ने हो । मसँग छुट्टै धनदौलत भएर, पैसा भएर साथीहरूलाई हेरचाह र सहुलियत हुने होइन । त्यसो गर्न पनि सकिँदैन । किनभने म आफैंलाई त पार्टीले हेरचाह गर्नुपर्ने अवस्था छ । कार्यकर्तालाई पार्टीले सामूहिक रूपमा मद्दत गर्ने हो, सहयोग गर्ने हो । त्यो काम त भइराखेकै छ । मैले यो आफ्नो मान्छे हो, नजिकको हो यो भनेर कसैलाई काखा र कसैलाई पाखा गरेको छैन । पार्टीको नीति र क्षमताले जसलाई जे गर्न सक्छ पार्टीले त्यही पार्टीका तर्पmबाट गर्ने हो । मैले छुट्टै व्यक्तिगत त्यस्तो गरेको चाहिँ छैन ।
 

अभियोग १०  : तपाईंमा निर्णय क्षमता छैन । गर्न सक्ने निर्णयबाट पनि विवादमा पर्ने डरले पछि हट्नुहुन्छ । 

जसका मनमा जे लाग्छ त्यही निर्णय गर्नु व्यक्तिवादी कुरा हो । त्यो पद्धति पनि गलत हो । त्यसकारण मैले सबभन्दा धेरै विश्वास गर्ने सामूहिक निर्णयमा हो । सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हो । मान्छेको मनमा व्यक्तिगत जे लाग्छ, त्यो गर्नु अराजकता हो, अनुशासनहीनता हो । केही मुद्दा र समस्या आउँछन् भने मैले हमेसा सामूहिक निर्णय हुनुपर्छ, त्यो सर्वमान्य हुनुपर्छ भन्ने मान्यता राख्छु । सामूहिक निर्णय भइसकेपछि व्यक्तिगत जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारीचाहिँ पूरा गर्नुपर्छ । निर्णय गर्ने सवालमा लामो समयदेखि हाम्रो पार्टीको यही पद्धति छ, यसैलाई म मान्दै आएको छु । त्यसकारण कसैले मलाई केही कुरा भन्न आयो भने मेरो मनमा के लाग्छ त्यही कुरा कानमा फुकिदिएर खुसी पारेर पठाउने मेरो चलन छैन । कसैले केही विषय ल्याएर आयो भने पार्टीको कार्यालय छ, पोलिटब्युरो छ, केन्द्रीय समिति छ, पार्टीका साथीहरू छन्, उहाँहरूका बीचमा राखेर सामूहिक फैसला जे हुन्छ, त्यही गर्ने बानी छ । ठीकै भन्नुभयो आरोप लगाउनेहरूले व्यक्तिगत जे मन लाग्छ त्यही म गर्दिनँ ।

अभियोग ११ : भारतमा मजदुरी गरेर जीविका चलाइरहेकाहरूबाट पैसा उठाएर पार्टी चलाउनुभयो । तर, ती श्रमजीवीका पक्षमा  तपाईंले जिन्दगीभर राजनीति गर्दा पनि केही गर्न सक्नुभएन । 

प्रवासमा बस्ने नेपालीहरूको हकहितमा लड्ने राष्ट्रिय जनमोर्चाभन्दा अर्को कुनचाहिँ पार्टी देख्नुहुन्छ तपाईंले ? प्रवासमा बस्ने नेपालीहरूको रेमिट्यान्सले देश चलेको छ । उनीहरूलाई मताधिकार हुनुपर्छ भनेर पहिलेदेखि लगातार लडिरहेको एउटा पार्टी जनमोर्चा मात्रै हो । अर्को कुरा, प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्ने, उनीहरूको चेतनाको विकास गर्ने, नेपालको प्रजातान्त्रिक वाम आन्दोलनमा उनीहरूको सहयोग लिने कुरामा हामी कहिल्यै पछाडि परेका छैनौँ । हो, कुनै व्यक्तिलाई छुट्टै उसको व्यक्तिगत स्वार्थ पूरा हुने गरी हामीले केही गर्न सकेका छैनौँ । तर, प्रवासी नेपालीहरूको सामूहिक स्वार्थ र हकहितका लागि हामी लगातार आवाज उठाइरहेका छौँ, लडिरहेका छौँ ।