१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०७:२३:००
Read Time : > 1 मिनेट
विश्व

महाराष्ट्रमा सरकार गठन गर्न सकस : ‘अस्वाभाविक’ गठबन्धनको  नेतृत्व गर्ने तयारीमा शिवसेना

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०७:२३:००

विधानसभा निर्वाचन सम्पन्न भएको एक महिना बित्दा पनि महाराष्ट्रमा सरकार गठन हुन सकेको छैन । कुनै पनि दलले प्रस्ट बहुमत नल्याएको र गठबन्धनका परम्परागत घटक भारतीय जनता पार्टी र शिवसेनाबीच शक्ति बाँडफाँडमा सहमति नभएपछि ठूलो दल भाजपाले सरकार गठनमा आफ्नो दाबी त्यागेको थियो । भाजपाले सरकार गठनमा आफ्नो दाबी छाडेपछि दोस्रो ठूलो दल शिवसेनाले भाजपाबाहेकका दलहरूको सहमतिमा गठबन्धनमा सरकार बनाउन छलफललाई तीव्रता दिइरहेको छ । शिवसेनाले कंग्रेस र एनसिपीलाई विश्वासमा लिएर बनाउन लागेको नयाँ गठबन्धनलाई धेरैले अस्वाभाविक भन्न थालेका छन् । नयाँ बन्ने गठबन्धनले एक साताभित्र सरकार गठन गर्ने बताइएको छ ।  

महाराष्ट्रको गणितीय राजनीति
२१ अक्टोबरमा सम्पन्न विधानसभा निर्वाचनमा महाराष्ट्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भाजपा १०५ सिट ल्याएर सबैभन्दा ठूलो बन्न सफल भएको थियो । २८८ सिट रहेको महाराष्ट्रमा भाजपाको गठबन्धन शिवसेनाले ५६ सिट ल्याएको थियो । दुई प्रमुख विपक्षी पार्टीहरू क्षेत्रीय राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी) को ५५ सिट छ भने कंग्रेस ४४ सिटमा खुम्चिएको थियो ।

भाजपा सरकार बनाउन अनिच्छुक
दुई पार्टी विगत तीन दशकदेखिका गठबन्धनका सहयात्री थिए र चुनावपछि महाराष्ट्रमा दुवै पार्टीको गठबन्धनमा सरकार बन्ने अनुमान गरिएको थियो । पूर्वसहमतिअनुसार भाजपाले शिवसेनाको सहयोगमा सरकार गठनको प्रस्ताव गरेको थियो । 

तर, शिवसेनाले ‘रोटेसन’का आधारमा दुई पार्टीबाट मुख्यमन्त्री हुनुपर्ने माग गरेपछि भाजपाले सरकार गठनको दाबी त्यागेको थियो । दुई पक्षबीच वार्ता भइरहेका वेला शिवसेनाले केन्द्रीय सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।  तोकिएको समयभित्र कुनै पनि पार्टीले सरकार गठन गर्न नसकेपछि महाराष्ट्रमा गत सातादेखि राष्ट्रपति शासन लागू भएको छ ।

गठबन्धन बनाउँदै शिवसेना
शक्ति बाँडफाँडको विषयमा भाजपा पार्टीसँग सहमति हुन नसकेपछि शिवसेनाले यतिवेला एनसिपी र कंग्रेसलाई फकाइरहेको छ । तर, शिवसेनाले प्रस्ताव गरेअनुसारको नयाँ गठबन्धन अस्वाभाविक हुने र यसले समस्या निम्त्याउने राजनीतिक पण्डितको धारणा छ । ५३ वर्ष पुरानो शिवसेना कट्टर हिन्दूवादी पार्टी हो । सुरुमा यो पार्टी विशेषगरी मुम्बईको मराठी समुदायबीच लोकप्रिय थियो । तर, आफ्नो वास्तविक भोट बैंक गुमाएपछि उसले हिन्दूहरूको चासोबारे आवाज चर्को उठाउन थालेको थियो । ऊ परम्परागत रूपमा कंग्रेसविरोधी पार्टी हो ।

सन् १९९३ मा मुम्बईमा हिन्दू र मुसलमान समुदायबीचको दंगा भड्काउन पार्टीका संस्थापक नेता स्व. बाल ठाकरेको हात रहेको धेरैले आरोप लगाएका थिए । सो दंगामा ९ सयजनाको मृत्यु भएको थियो । पछिल्ला वर्षमा सो पार्टीको पहिचान क्षेत्रीयताबाट साम्प्रदायिकतामा रूपान्तरण हुन थालेको राजनीतिक विश्लेषक सुहास पलसिकार बताउँछन् ।  स्वघोषित धर्मनिरपेक्ष कंग्रेस र एनसिपीलाई शिवसेनाको नेतृत्व स्विकार्न गाह्रो भइरहेको छ । ‘कंग्रेस र एनसिपीसँग सहकार्य गर्दा सेनाका लागि नै आत्मघाती हुनेछ,’ महाराष्ट्रको लोकसत्ताका सम्पादक गिरीश कुवेर भन्छन् ।

समान आदर्श नभएको गठबन्धन टिक्दैन
भारतीय राजनीतिमा एउटासँगको गठबन्धन टुटेपछि हतारमा अस्वाभाविक गठबन्धन कायम गर्ने अनौठो संस्कार छ । जस्तै– भारत प्रशासित कस्मिरमा भारतीय जनता पार्टी र विखण्डनकारी क्षेत्रीय पिडिपीबीचको अस्वाभाविक गठबन्धन केही समयको तिक्ततापछि सन् २०१८ मा टुटेको थियो । बाल ठाकरेका पुत्र तथा शिवसेनाका वर्तमान प्रमुख उद्धव ठाकरेले भाजपाले पिडिपी, जनता दल युनाइटेड (बिहारमा) र तेलगु देशम पार्टी (आन्द्र प्रदेश) सँग अप्राकृतिक गठबन्धन गरेको भन्दै शिवसेना र कंग्रेस तथा एनसिपीबीचको गठबन्धन स्वाभाविक भएको तर्क गर्दै आएका छन् । समान आदर्श नभएको गठबन्धन लामो समय टिक्न नसक्ने विश्लेषक राहुल बर्मा बताउँछन् ।