१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०७:१७:००
Read Time : > 1 मिनेट
विश्व

महिन्दा राजापाक्षे  श्रीलंकाका नयाँ प्रधानमन्त्री

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०७:१७:००

श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे नयाँ प्रधानमन्त्री बनेका छन् । श्रीलंकाका नयाँ राष्ट्रपति गोताबाय राजापक्षेले महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षे राष्ट्रपति गोताबायका दाजु हुन् । राष्ट्रपति गोताबायले महिन्दा राजापाक्षेलाई बिहीबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाए । प्रधानमन्त्रीमा नियुक्त राजापाक्षे यसअघि सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति भएका थिए । उनी राष्ट्रपति हुँदा गोताबाय रक्षासचिव थिए ।

यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामाको घोषणा गरेका थिए । नयाँ राष्ट्रपतिलाई आफूअनुकूलको सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै विक्रमासिंघेले राजीनामा दिएका थिए । राजीनामा दिनेबारे विक्रमासिंघेले मंगलबार नवनिर्वाचित राष्ट्रपति राजापाक्षेसँग छलफल गरेका थिए । भेटवार्ताका क्रममा प्रधानमन्त्री विक्रमासिंघेले राष्ट्रपति राजापाक्षेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । 

महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रिमण्डल सानो आकारको हुने जनाइएको छ । सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले त्यतिवेलासम्म सानो मन्त्रिपरिषद् रहने अनुमान गरिएको छ । नयाँ मन्त्रीहरू सबै राजापाक्षेको पार्टीबाट हुने भएका छन् ।

युनाइडेट नेसनल पार्टी (युडिपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार सजिथ प्रेमादासलाई झन्डै १३ लाख मतान्तरले पराजित गर्दै ७० वर्षीय गोताबाय राजापाक्षे राष्ट्रपति बनेका थिए ।

निर्वाचन अभियानमा गोताबायले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार अन्त्य, सार्वजनिक सेवाको सुधारलगायत विषयलाई मुख्य एजेन्डा बनाएका थिए । नयाँ राष्ट्रपतिले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नुपर्नेमा जोड दिँदै आएका छन् ।

झन्डै दश वर्षअघि रक्षासचिव रहेका वेला गोताबायले सशस्त्र विद्रोही तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । श्रीलंकाली सेनाका पूर्व‘लेफ्टिनेन्ट कर्णेल’समेत रहेका राजापाक्षे १० वर्षसम्म रक्षासचिव भएका थिए ।

नयाँ राष्ट्रपति चयनका लागि श्रीलंकामा गत शनिबार मतदान भएको थियो । निर्वाचनमा कुल मतदातामध्ये झन्डै ८० प्रतिशत मतदाता सहभागी थिए । मतदानका लागि देशभरि १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रपतिका लागि ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।