मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ६ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यस्तो छ नवनियुक्त मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ६ शुक्रबार ०७:०९:००

प्रधानमन्त्री केपी ओलीले चार दिनभित्र प्रस्ट कार्ययोजनासहित उपस्थित हुन नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले चार दिनपछि बस्ने मन्त्रालयहरूको चौमासिक समीक्षा बैठकमा प्रस्ट कार्ययोजनासहित उपस्थित हुन निर्देशन दिएका हुन् ।

‘चार दिनपछि अर्को चौमासिक बैठक हुँदै छ, त्यो बैठकमा मलाई तपाईंहरूको मन्त्रालयको प्रस्ट कार्ययोजना चाहिन्छ, अहिलेको अवस्था झल्किने खालका गर्न सकिने कामको प्रस्ट खाका लिएर आउनुहोला,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनका सञ्चारविज्ञ रामशरण बजगाईंले नयाँ पत्रिकासँग भने, ‘पदभार ग्रहण गरेर आजै (बिहीबार)बाटै काम थालिसक्नुभएको छ, सबै मन्त्रालयका सचिवहरूसँग अहिलेसम्मका कामका सबै तथ्यांक र कार्ययोजना छँदै छन्, त्यसैले तपाईंहरूले पहिलेभन्दा अझ धेरै काम गर्ने गरी समीक्षा बैठकमा योजना ल्याउनुहोला ।’ समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले अनावश्यक काममा एक मिनेट पनि समय नखर्चिनसमेत प्रधानमन्त्रीको निर्देशन छ । 

चिनियाँ राष्ट्रपति आउँदाजस्तै सधैँ टल्काउनुस् सडक 
प्रधानमन्त्री ओलीले काठमाडौंका सडक सधैँ सफाचट राख्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवका साथै सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदाजस्तै सडक सधैँ सफाचट पार्न भनेका छन् । ‘जनताले प्रश्न गर्ने गरेका छन्– चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदा सात दिनमै टिलिक्क सफाचट बनाइन सकिने हाम्रा सडक किन सधैँ त्यस्ता हुन सक्दैनन् ?’

प्रधानमन्त्रीको भनाइ थियो, ‘सबैको समन्वयमा सडकको काम व्यवस्थित गर्नुस् र सफाचट बनाउनुस् ।’ प्रधानमन्त्रीले अन्तरमन्त्रालय समन्वयको कमजोरी देखाएर सडकका काम भद्रगोल बनाइराखे आफूलाई मान्य नहुने चेतावनी दिएका छन् । ‘आवश्यक समन्वयका साथ काम होस्, त्यसका लागि बलियो संयन्त्रसहित काम गर्नुस्, जसको जिम्मेवारी हो, त्यसले गर्नुपर्ने काम नअड्कीकन तत्काल सम्पन्न होस्,’ उनले निर्देशन दिएका छन् ।