मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ६ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कूटनीतिक नियोगका पदाधिकारीलाई उपनिर्वाचनबारे जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ६ शुक्रबार ०७:०९:००

निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचन तयारीबारे नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीहरूलाई जानकारी गराएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित कार्यक्रममा आसन्न उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी हुने नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि र विकास साझेदारहरूलाई जानकारी गराएको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको बताए । लोकतन्त्रको सुदृढीकरण र सुशासनका लागि निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा गरिसकेको उनको भनाइ थियो । योजनाले आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन ब्यवस्थापन प्रणालीको विकास, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता र नियमनको ब्यवस्थापन र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्यको अभिवृद्धिलाई समेटेको थपलियाको भनाइ थियो ।

उपनिर्वाचनको आचारसंहिता अनुगमनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र जिल्लामा उपनिर्वाचनमा भाग लिएका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आचारसंहिता अनुगमन समिति गठन गरिएको उनले बताए । सुरक्षा प्रबन्ध आयोगको प्रमुख प्राथमिकतामा रहेको बताउँदै उनले निर्वाचन आयुक्तको नेतृत्वमा आयोगमा उच्चस्तरीय सुरक्षा समन्वय समिति रहेको जानकारी गराए । 

मतदान प्रक्रियाको अवलोकन गर्न आह्वान
आयोगले मतदानको दिन विभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाको अवलोकन गर्न पनि कूटनीतिक समुदायलाई आह्वान गरेको छ । आयोगले चारवटा राष्ट्रिय पर्यवेक्षक संस्थालाई पर्यवेक्षण गर्न अनुमति दिएको छ । कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडेले आयोगबाट उपनिर्वाचन तयारी सम्बन्धमा गरिएको समग्र, तयारी, मतदाता शिक्षा कार्यक्रम, सुरक्षा व्यवस्थापन लगायतका कार्यहरूको प्रशंसा गरेका थिए । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले उपनिर्वाचनमा कूटनीतिक समुदायबाट समेत सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।