मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १०:५१:००
Read Time : > 2 मिनेट
प्रदेश

राजपामा भाँडभैलो : मिर्चैयामा समानान्तर तदर्थ समिति गठन

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १०:५१:००

मिर्चैयामा भाँडभैलो भएको छ । राजपा पार्टीका केन्द्रीय अध्यक्ष मण्डलका सदस्यसमेत रहेका सांसद राजकिशोर यादवको योजनामा नगर अधिवेशनमार्फत ५१ सदस्यीय मिर्चैया नगर तदर्थ समिति गठन गरेको भोलिपल्टैै त्यसलाई अवैधानिक भन्दै मंगलबार अर्को नगर सम्मेलन गरी ७१ सदस्यीय नगर समिति गठन गरिएको छ । 

सिराहा ४ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवको योजनामा पार्टीको अन्तरिम विधान, परिपत्र र पद्धतिविपरीत अधिवेशनको नाममा गठन गरिएको तदर्थ समिति अवैधानिक भन्दै मंगलबार खुला सभामार्फत अर्को तदर्थ समिति गठन गरिएको हो । मिर्चैयास्थित गुदरी हाटमा पार्टीका केन्द्रीय उपाध्यक्ष, सहमहामन्त्री र आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्य तथा पर्यवेक्षकको उपस्थितिमा नगर सम्मेलनमार्फत गठन गरिएको समिति नै आधिकारिक र वैधानिक रहेको सभामा सहभागी केन्द्रीय नेताले दाबी गरे ।
 
 नगर समितिमा वडाध्यक्ष साह
नगर सम्मेलनले मंगलबार राति राजपाबाट मिर्चैया नगरपालिका ५ को वडाध्यक्ष निर्वाचित धीरेन्द्रकुमार साहको अध्यक्षतामा ७१ सदस्यीय नगर तदर्थ समिति गठन गरिएको केन्द्रीय उपाध्यक्ष रामकुमार मण्डलले बताए । ‘लोकतन्त्रमा नेता जनताको सेवक मात्र हुन्’ नगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष मण्डलले भने, ‘अहंकारमा परेर जनताको मालिक ठान्नेहरूलाई महाभारत युद्धको स्मरण गराउन चाहन्छु ।’ मेयर र सांसदको पद जनताले दिएको आवधिक पद रहेकाले अहंकारी बन्न नहुने सुझाब दिँदै उपाध्यक्ष मण्डलले भने, ‘आफ्नो गुट वा आसेपासेलाई च्यापेर पार्टीको नेता बन्ने दुष्साहस नगर्न आग्रह गर्छु ।’

नगर सम्मेलनको उद्घाटन समारोहमा केन्द्रीय सहमहामन्त्री डा. सुरेन्द्रकुमार झाले मधेस आन्दोलनमा भएका सहिदको सम्मान र मधेसी, दलित, मुस्लिम, अल्पसंख्यक, आदिवासी जनजाति र पछाडि पारिएकाहरूलाई अधिकार सम्पन्न बनाउन गठन भएको राजपामा शुद्धीकरणको खाँचो औँल्याए । ‘पार्टी जनताको रगत पसिनाले बनेको हो,’ उनले भने, ‘कथंकथित नेताको योजनामा सम्मेलन गरेर गठन गरिएको समिति अवैधानिक हो ।’ पार्टी व्यक्तिको लहडमा नचल्ने चर्चा गर्दै सहमहामन्त्री झाले राजपा भनेकै आफू मात्र हो भन्ने भ्रमको पर्दा हटाउन सुझाब दिए । ‘पार्टीको विधान र पद्धतिअनुसार भएको नगर सम्मेलनले स्वघोषित नेताको भ्रमको पर्दा उतारेको छ,’ उनले भने ।
 
 अध्यक्ष मण्डलको निर्णय उल्लंघन
पार्टीको वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र संघीय अधिवेशनका लागि केन्द्रीय समितिको निर्णयअनुरूप गत १९ कात्तिकमा सिराहा सदरमुकामस्थित समीक्षालय भवनमा भएको जिल्लास्तरीय बैठकले गरेको निर्णयको उल्लंघन गर्दै राजकिशोर पक्षधरले गरेको नगर अधिवेशन अमान्य रहेको नेताले जिकिर गरे । नगर सम्मेलनको उद्घाटनसत्रमा सहभागी राजपा नेपालका उपाध्यक्ष, सहमहामन्त्रीसहित जिल्ला अध्यक्ष मण्डलका संयोजक सर्वनारायण झा, केन्द्रीय सदस्य तथा पर्यवेक्षक रोहित महतो, प्रदीप मण्डल, राकेश झा, उदयनारायण यादव, रेणु शर्मालगायतले जिल्लाको निर्णयविपरीत गठन गरिएको समिति अमान्य हुने बताए ।

 जिल्ला पार्टीको निर्णयअनुसार जिल्लाका १७ स्थानीय तहको सम्मेलनका लागि चन्द्रकला शर्मा, रोहित महतो, प्रदीप र उदयनारायणलाई पर्यवेक्षक खटाइएको भए पनि कसैलाई खबर नै नगरी आफ्नो गुटलाई बोलाएर होटेलमा गोप्य ढंगले गरिएको सम्मेलन पार्टी पद्धति र विधानविपरीत भएकाले अवैधानिक रहेको केन्द्रीय नेताहरूको भनाइ छ । 

राजपाको अन्तरिम विधान र केन्द्रीय अध्यक्ष मण्डलको निर्णय तथा पार्टीको परिपत्रअनुसार पार्टीको तर्फबाट सम्बन्धित स्थानीय तहको प्रमुखमा निर्वाचित वा निकटतम् प्रतिद्वन्द्वीको अध्यक्षतामा भेला गराई तदर्थ समिति गठन गरिनुपर्ने प्रावधान रहेको केन्द्रीय सदस्य राकेश झाले बताए । 

मिर्चैयास्थित होलिडे होटेलमा सोमबार आयोजित अधिवेशनले मिर्चैयाका व्यापारी र रेडियो सञ्चालक अजय साहको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गरेको थियो । केन्द्रीय अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजकिशोरको योजनामा गरेको भनिएको अधिवेशनमा उनी अनुपस्थित थिए । नगरअध्यक्ष बनेका साहले भने, ‘पार्टीको संगठन विस्तार र सुदृढीकरणसँगै विकास निर्माणमा राजकिशोरले खेलेको भूमिकाको कारणले पार्टीप्रति जनताको आकर्षण बढ्दो छ, पार्टीले दिएको जिम्मेवारी पूरा गर्न इमानदारीपूर्वक लाग्नेछु ।’
 
 धनगढीमा पनि तदर्थ समिति
सिराहाको धनगढीमाई नगरपालिकास्तरीय भेलाले विनोदकुमार चौधरीको अध्यक्षतामा २१ सदस्यीय राजपा नेपाल नगरतदर्थ समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष रामनरेश सिंह, सचिव सञ्जीवकुमार मण्डल, सहसचिव उपेन्द्र साह, कोषाध्यक्ष राजकुमारी साह तथा बाँकी सदस्य रहेको अध्यक्ष चौधरीले बताए ।