मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रकाश कँडेल
२०७५ पौष २८ शनिबार ०६:३५:००
Read Time : > 3 मिनेट
खेलकुद

नेपाल चिनाउने त्यो इनिङ

Read Time : > 3 मिनेट
प्रकाश कँडेल
२०७५ पौष २८ शनिबार ०६:३५:००

करण केसी मैदान छिर्दा उनको भूमिका आरिफ सेखलाई सहयोग गर्ने थियो, तर आरिफ नै आउट भए । त्यसपछि उनी एउटा निर्णयमा पुगे, जुन नेपाली क्रिकेटको ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो ।  त्यो निर्णय लिएको दिन हो, १४ फेब्रुअरी २०१८, जतिवेला नेपाल डिभिजन ‘टु’बाट विश्वकप छनोट यात्रामा नामिबियामा थियो । त्यतिवेला नेपालको लक्ष्य विश्वकप छनोट हुँदै कम्तीमा एकदिवसीय मान्यताप्राप्त देशका रूपमा रहने थियो । तर, डिभिजन ‘टु’मै संघर्षमा देखिएको नेपालका लागि त्यो दिन क्यानडाविरुद्ध निर्णायक खेलमा निर्विकल्प जित आवश्यक थियो । जितले विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यतातर्पm अग्रसर गराउँथ्यो भने हारले फेरि डिभिजनस्तरीय प्रतियोगितामै सीमित हुनुपथ्र्यो । 


त्यसैले एकदिवसीय मान्यताप्राप्त देश बन्नका लागि नेपालसँग जितबाहेक अर्को विकल्प थिएन । ‘मसँग पछि फर्किने विकल्प थिएन । खेललाई मान्यतातर्फ  लैजाने या आउट हुने । संयोग नै भन्नुपर्छ, मेरा बाउन्ड्रीहरू लागिरहेका थिए, जसले आत्मविश्वास बढेको थियो,’ करण त्यो इनिङ सम्झँदै भन्छन् । क्यानडाविरुद्धको उनको त्यही इनिङ नै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त देशका रूपमा गर्व गर्ने ठाउँमा पु-याउन कोसेढुंगा बन्यो । 

आरिफ ‘आउट’ भएपछिको दबाब
वसन्त रेग्मी आउट भएपछि करण क्रिजमा उत्रिएका थिए । उनलाई क्रिजमा जाँदै गर्दा प्रशिक्षक र कप्तानले फरक भूमिका दिएका थिए । किनकि, क्रिजमा ब्याट्सम्यान आरिफ सेख थिए । ‘प्रशिक्षक र कप्तानले अन्तिमसम्म खेललाई लैजान भन्नुभएको थियो । आरिफलाई स्ट्राइक रोटेट गर्नुपर्ने थियो । तर, जब आरिफ नै आउट भए, त्यसपछि मैले नै केही गर्नुपर्ने चुनौती आयो,’ विगत सम्झिँदै करण भन्छन्, ‘एकमनले नराम्रो पनि लागिराखेको थियो । फेरि त्यही दिन (डिभिजनस्तरीय खेल)मै फर्कनुपर्ने भयो भन्ने पनि लाग्यो, तर मेरा बाउन्ड्रीहरू लागिराखेकाले आत्मविश्वास बढेको थियो ।’

त्यो रोमाञ्चक अन्तिम ओभर
नेपाललाई अन्तिम ओभरमा आठ रन आवश्यक थियो । त्यतिवेला क्यानडाका लागि बलिङमा आएका सेसिल पर्भेजले लगातार चार बल डट फाल्दै नेपालमाथि दबाब बढाए । उनी भन्छन्, ‘लगातार चार बल डट भयो, तर अगाडिबाटै बाउन्ड्री लागिरहेकाले मलाई कसो बाउन्ड्री नलाग्ला भन्ने थियो ।’  स्ट्राइकमा रहेका करणले सोचेजस्तै भयो, उनले पाँचौँ बलमा छक्का प्रहार गर्दै नेपाललाई फेरि एकपटक खेलमा फर्काए । अन्तिम बलमा जितका लागि दुई रन चाहिएको वेला पर्भेजले दबाब धान्न सकेनन् र वाइड बल फाले । सोही वाइडका कारण नेपालले खेल बराबरी ग-यो । ‘मलाई अन्तिम बलमा जसरी पनि बराबरी गर्नुपर्छ भन्ने थियो । तर, बलरले वाइड फाल्दै खेल बराबरीमा ल्याइदिए,’ करण सम्झिन्छन्, ‘बराबरीपछि ढुक्कजस्तै भयो । अब अन्तिम बलमा एक रन त जसरी पनि ल्याइन्छ भन्ने विश्वास आयो । एक रन बनाउँदा आँसु झरेको पत्तै पाइनँ ।’

सन्दीपको साथ
करणलाई अन्तिम विकेटका रूपमा सन्दीप लामिछानेले स्ट्राइकमा साथ दिए । त्यसका लागि उनीहरूबीच कुराकानी पनि चलिरहेको थियो । क्रिजमा आएपछि सन्दीपले भनेको कुरा सुनाउँदै करण भन्छन्, ‘उसले भन्यो– दाइ, तपाईंको बाउन्ड्री लागिराखेको छ, तपाईंले नै जिताउनुपर्छ, म टिकेर साथ दिन्छु । मैले पनि उसलाई धैर्यपूर्वक खेल्न र जसरी पनि खेललाई अन्तिमसम्म पु-याउनुपर्छ भनेँ ।’ 


करणको अपेक्षाअनुसार नै खेल अन्तिम ओभरसम्म पुग्यो । अन्तिम ओभरका चार बल डट भएपछि दबाब त भयो, तर दुवै हतोत्साहित भने भएनन् । ‘सेकेन्ड लास्ट बलमा छक्का लाग्यो । त्यसपछि सन्दीपलाई भनेँ– भाइ, जसरी पनि भाग्नुपर्छ है ! अन्तिम बलमा एक रन लिनैपर्छ,’ करण भन्छन्, ‘तर, बलरले वाइड फाले । सन्दीप भाग्यो । क्रिजको बीचसम्म आइपुगेको थियो । तर, वाइडबाट एक रन आएकाले उसलाई रोकेँ ।’ अन्तिम बलमा एक रन लिएपछि त खेलको रौनक नै बदलियो । करणका लागि मात्रै होइन, सबै नेपाली क्रिकेट खेलाडीका लागि खेल जीवनकै महत्वपूर्ण क्षण बन्न पुग्यो, अविस्मरणीय बन्यो । उनी भन्छन्, ‘सबै खेलाडीले बोकेर मैदानमा उचाल्दाको खुसी सायदै बिर्सन सक्छु ।’

ऐतिहासिक साझेदारी
करण र सन्दीप बलरका रूपमा खेल्दै आएका थिए । त्यो दिन भने उनीहरू भिन्न भूमिकामा उभिए । १ सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल हारनजिक पुगेका वेला वसन्त रेग्मी आउट भए । त्यसपछि क्रिजमा आएका करणले आरिफ सेखलाई साथ दिइरहेका थिए । तर, खेल ४२.१ ओभरमा पुग्दा २६ रन बनाएर आरिफ पनि आउट भए । त्यसपछि नेपालले हार टार्न नसक्ने अनुमान गरिएको थियो । यसैबीच करण र सन्दीपले १०औँ विकेटका लागि ५१ रनको साझेदारी गरे, जुन उक्त विकेटका लागि ऐतिहासिक अविजित साझेदारी बन्न पुग्यो । 

चार बल डटपछि पाँचौँ बलमा छक्का प्रहार गरेका करण केसीलाई नेपाललाई जिताउन अन्तिम बलमा दुई रन लिनु थियो । क्यानेडियन बलरले वाइड फालेपछि खेल बराबरीमा पुग्यो । त्यसपछि अन्तिम बलमा जसरी पनि दगुर्छु भन्ने संकल्प गरेका करण भन्छन्, ‘एक रन बनाउँदा आँसु झरेको पत्तै पाइनँ ।’

जितले नथामिएको आँसु
नेपाल अहिले एकदिवसीय मान्यताप्राप्त देशका रूपमा छ । त्यही इनिङले चार वर्षका लागि यो वरीयता दिलाएको हो । करण यसलाई सामूहिक प्रयासको प्रतिफलका रूपमा लिन्छन् । ‘यो ऐतिहासिक सफलताका पछाडि समग्र टिमको भूमिका महत्वपूर्ण छ । यही उपलब्धिका लागि हामी दुई÷तीन वर्षदेखि निरन्तर लागेका थियौँ ।’ त्यो जितको खुसी सबैको अनुहारमा झल्किएको थियो । करणले सबैको अनुहार नियालेका थिए । ‘मेरो मात्रै आँसु झरेको होला भन्ने सोचेको थिएँ, सबैको आँखामा आँसु देखेँ,’ उनी भन्छन्, ‘जीवनमा देशले जितेको गौरवभन्दा ठूलो केही पनि हुँदोरहेनछ । देशको जितमा भागीदार हुने भाग्यमानी बन्न पाउँदाको त्यो क्षण सम्झँदा अझै पनि शब्दविहीन हुन्छु ।’

फेरिएको परिचय
त्यो इनिङ अघिका करण र पछिका करणमा धेरै फरक छ । उनलाई लाग्छ, करण केसी भनेर चिनाउने खेल त्यही बन्यो । त्यसले उनको परिवार, आफन्तलाई त खुसी बनायो नै, उनमा आत्मविश्वास पनि बढायो । भन्छन्, ‘त्यो खेलपछि परिवार र आफन्तमा छाएको खुसीले ममा एकदमै आत्मविश्वास बढायो ।’ यससँगै उनी बलरमा सीमित रहेनन्, अलराउन्डरका रूपमा चिनिए । ‘म बलिङमा नै रमाउँथेँ, तर त्यसपछि एउटा फिनिसर र अलराउन्डरको छवि बनाउन सकेँ,’ उनी भन्छन् । उनी चुनौतीपूर्ण खेलमा रमाउन सक्ने पनि भएका छन् । ब्याटिङमा पनि आत्मविश्वास बढ्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले अब ब्याटिङमा पनि न्याय गर्न सक्छु भन्ने लाग्छ । नेपाली टिमले चाहेको अवस्थामा जुनसुकै नम्बरमा खेल्नका लागि म तयार भएको छु ।’ 

उसो त अहिले सबै खेलाडीलाई चुनौती नै छ । उनी पनि नयाँ खेलाडीको आगमनले टिममा रहिराख्ने चुनौती बढेको बताउँछन् । राम्रा–राम्रा नयाँ खेलाडी आएकाले राष्ट्रिय टिममा पर्न मात्रै होइन, टिकिराख्न पनि गाह्रो छ । सिनियर खेलाडीले राम्रो गर्नैपर्ने दबाब छ । राम्रो गर्न नसके नयाँले मौका पाउनु स्वाभाविक भएको उनको ठम्याइ छ । तथापि, उनी त्यो इनिङबाट ब्याटिङमा रमाउन सक्ने भएका छन् । ‘ब्याटिङ चुनौतीपूर्ण हुन्छ । बलरसँग एक बल बिगारे पनि पाँच बल बाँकी हुन्छ, तर ब्याट्सम्यानको एक गल्ती पेभिलियन फर्कन पर्याप्त हुन्छ । तैपनि राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ,’ उनी भन्छन् । 

एकदिवसीयले अवसर
नेपाल चार वर्ष एकदिवसीय बरियतामा सुरक्षित छ । त्यसैले खेलाडीलाई पनि मौका छ । जित्नै पर्ने दबाब छैन । यो बीचमा कुनै ठुलो प्रतियोगिता पनि नभएकाले बढी भन्दा बढी ‘एक्सपोजर’को बातावरण बनाउनु पर्ने केसीको तर्कको छ । करण भन्छन, ‘यहि वेला हो, नेपाली क्रिकेटले दीर्घकालिन यात्रा तय गर्नु पर्ने किनकी हामीसँग चार वर्ष खेल्नका लागि मौका छ ।’

तस्बिर : विनोद बिष्ट