मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०८:५५:००
Read Time : < 1 मिनेट
खेलकुद

माउरिन्होले सम्हाले टोटनह्याम

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०८:५५:००

टोटनह्यामले जोसे माउरिन्होलाई नयाँ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । टोटनह्यामले मंगलबार राति माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको थियो । नियमित प्रशिक्षकलाई बर्खास्त गरेको २४ घन्टाभित्रै टोटनह्यामले विश्व फुटबलकै ‘स्पेसल म्यान’ माउरिन्होलाई प्रशिक्षकका रूपमा भित्र्याएको हो । इंग्लिस प्रिमियर लिगमा चेल्सी तथा म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक माउरिन्होले २०२२–२३ को सिजनसम्मका लागि टोटनह्यामसँग सम्झौता गरेका छन् । च्याम्पियन्स लिगको साबिक उपविजेता टोटनह्यामले यस सिजनमा पोचेटिनोको प्रशिक्षणमा राम्रो नतिजा निकाल्न सकिरहेको छैन । टोटनह्याम फाइनलमा लिभरपुलसँग पराजित भएको थियो । 

५६ वर्षीय माउरिन्होले टोटनह्याम सम्हाल्न आतुर रहेको बताए । ‘एकेडेमी र प्लेइङ ११ मा राम्रा खेलाडी छन्, उनीहरूसँग सहकार्य गर्न म इच्छुक छु,’ माउरिन्होले अन्तर्वार्ताका क्रममा भने । यता टोटनह्यामले फुटबलकै एक सफल प्रशिक्षक भिœयाउन पाउँदा खुसी लागेको विज्ञप्तिमार्फत जनाएको छ । माउरिन्होले प्रशिक्षकका रूपमा इंग्लिस प्रिमियर लिगमा तीनपटक उपाधि जितेका छन् । उनले चेल्सीलाई सो सफलता दिलाएका थिए । उनले चेल्सीलाई दुईपटक एफ ए कपको उपाधि पनि दिलाए । 

माउरिन्होकै प्रशिक्षणमा युनाइटेडले सन् २०१६ मा युरोपा लिग र २०१७ मा कार्वाओ कप (लिग कप)को उपाधि जितेको थियो । सन् २०१८ को सिजनमा युरोपियन च्याम्पियन्स लिगमा युनाइटेडलाई छनोट गराउन नसक्दा उनी बर्खास्तीमा परेका थिए । माउरिन्हो बर्खास्त हुनुआघि युनाइटेड शीर्ष स्थानको लिभरपुलभन्दा १९ अंकले पछि थियो । सन् २००४ को सिजनमा अविस्मरणीय रूपमा उनले घरेलु क्लब एफसी पोर्टोलाई च्याम्पियन्स लिग उपाधि दिलाएका थिए । यसैगरी, माउरिन्होले सिरिए क्लब इन्टरमिलानलाई लिग र च्याम्पियन्स लिग उपाधि दिलाए ।