Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०८:१६:००
Read Time : > 2 मिनेट
सेयर बजार

मन्त्री फेरबदलको तयारीले बजारमा उतारचढाव

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०८:१६:००

आइतबारदेखि लगातार घटेको नेप्से बुधबार पनि बढ्न सकेन । नेप्से परिसूचक १.६५ अंक घटेर १ हजार १ सय २८ दशमलव ३४ बिन्दुमा बन्द भएको छ । कारोबार सुरु भएको केही समयसम्म सकारात्मक देखिएको बजारले वृद्धिलाई कायम राख्न सकेन र घटेर बन्द भयो । 

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरफेर गर्ने खबरले बढेको बजार त्यससम्बन्धी थप जानकारी नआउँदा बजार बढ्न सकेन । अर्थमन्त्री घट्ने हल्लाले केही समय बजार उकालो लाग्दा सो अवधिमा केही लगानीकर्ता महँगो मूल्यमा सेयर खरिद गर्न पुगेको एक लगानीकर्ताले बताए । 

बजार सारांश
यस दिन सेन्सेटिभ इन्डेक्स ०.२५ अंक घटेर २४८.६७ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स ०.०८ अंक घटी ८३.९२ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंक घटेर ०.२६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६५ कम्पनीको ५ हजार ३ सय ३ पटकको कारोबारमा ३० करोड ३७ लाख २४ हजार २०४ रुपैयाँबराबरका १० लाख ९७ हजार ९२० कित्ता सेयर खरिद–बिक्री भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३९ दशमलव ८८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआइले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन ०.९२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने ६८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३४ कम्पनीको सेयरमूल्य यस दिन स्थिर छ ।

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय २४ दशमलव ०७ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३६ दशमलव १६ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय १९ दशमलव ८१ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ४३ दशमलव ९९ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३१ दशमलव ९० रहेको छ ।

साल्ट ट्रेडिङ र घोडीघोडाको मूल्य बढेर सर्किट ब्रेक
लगातार केही दिनदेखि साल्ट ट्रेडिङ कर्पोरेसन र घोडीघोडा लघुवित्तको सेयर मूल्य बढेर सर्किट ब्रेक भइरहेकोे छ । साल्ट ट्रेडिङको सेयरमूल्य बुधबार ९ दमलव ९६ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ३७९ रुपैयाँ पुगेको छ । नियमअनुसार एकैदिन कुनै पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्दा र घट्दा पनि सर्किट ब्रेक लगाउने चलन छ । 

घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य प्रतिकित्ता ९ दशमलव ९२ प्रतिशत बढेर ५७८ रुपैयाँ पुगेको छ । तेस्रोमा जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ८ प्रतिशत बढेर प्रतिकित्ता १ हजार २८० रुपैयाँ पुगेको छ । रिडी हाइड्रोपावर कम्पनीको सेयरमूल्य घटेर आइपिओको भन्दा कम ७० रुपैयाँ कायम भएको छ । मंगलबार बढेको तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य बुधबार ४ प्रतिशत घटेर प्रतिकित्ता २६० रुपैयाँ कायम भएको छ । 

एनएमबि र नेपाल बैंकको कारोबार बढ्दै, १० समूहको परिसूचक घट्यो
मंगलबार कारोबार भएका १२ समूहको परिसूचकमा दुई समूहको परिसूचकबाहेक अरूको घटेको छ । साल्ट ट्रेडिङको सेयरमूल्य सर्वाधिक बढेकाले व्यापार समूहको परिसूचक ७ दशमलव ३ प्रतिशत बढ्न पुगेको हो । बैंकिङ समूहको परिसूचक थोरै ०.०५ प्रतिशत मात्र बढेको छ । बाँकी १० समूहको परिसूचक पनि १ प्रतिशतभन्दा कमले घटेको छ । 

यस दिन पनि एनएमबि बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ३ करोड ५४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकको सेयरमूल्य प्रतिकित्ता ३८६ का बन्द भएको छ । दोस्रोमा नेपाल बैंकको २ करोड ६८ लाख ५५ हजारभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१७ कायम भएको छ । 

हिमालयन डिस्टिलरीको १९औँ वार्षिक सभा
हिमालयन डिस्टिलरी लिमिटेडले १९औँ वार्षिक साधारणसभा पुस १ गते बोलाएको छ । कम्पनीले ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५२ दशमलव ६३ प्रतिशत नगद गरी कुल १ सय २ दशमलव ८३ प्रतिशत लाभांश प्रस्ताव सभामा लगेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजी ५७ करोड ४ लाख ६ हजार पारित गर्नेछ । कम्पनीको सभाले सहायक कम्पनी हिमालयन मल्टी एग्रो लिमिटेड र हिमालयन फिसरिज लिमिटेडको गत आवको एकीकृत वित्तीय विवरण पारित गर्ने विषय राखेकोे छ । 

सभाले आवमा ०७४/७५ को नाफाबाट वितरणको प्रतिसेयर ६८ दशमलव ४२ अन्तरिमसमेत अनुमोदन गर्नेछ । वार्षिक साधारणसभाका लागि कम्पनीले मंसिर १५ गते सेयरधनी दर्ता किताब बन्द गर्न लागेको छ । कम्पनीको लाभांशको हकदार हुन र सभामा भाग लिन मंसिर १२ गते बिहीबारसम्म सेयर सदस्य कायम हुनपर्नेछ । 

नेपाल बैंकका सेयरधनीलाई २३ वर्षपछि लाभांश
नेपाल बैंक लिमिटेडका सेयरधनीले २३ वर्ष पछि लाभांश पाउन लागेका छन् । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र करका लागि १० प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले सो लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड ११ लाखभन्दा बढी छ ।