मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार ०९:१०:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

जनशक्ति अभावमा योजना कार्यान्वयन भएनन् : राजेशकुमार महर्जन

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०९:१०:००

हाम्रा प्रतिनिधि

ललितपुर महानगरपालिका–२ मा मिश्रित समुदायको बसोवास छ । विभिन्न पीठ, मन्दिरलगायत सम्पदा वडामा छन् । वडाको विकास निर्माण र सेवा प्रवाहका विषयमा वडाध्यक्ष राजेशकुमार महर्जनसँग नयाँ पत्रिकाका विजय कार्कीले गरेको संवाद :

राजेशकुमार महर्जन
वडाध्यक्ष, ललितपुर महानगरपालिका–२ 

जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? 
निर्वाचनको वेला हामीले सरसफाइ, सडक विस्तार, आधारभूत स्वास्थ्य सेवा प्रवाह, ढल निर्माणलगायत प्रतिबद्धता जनाएका थियौँ । जनतासँग गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै छौँ । साढे दुई वर्षको अवधिमा घोषणा गरेका करिब ७० प्रतिशत काम भएका छन् । कतिपय विकास निर्माणका काम भने पूरा हुने चरणमा छन् । हामीले पूर्वाधार विकाससँगै सामाजिक विकासका काम पनि अघि बढाएका छौँ । जनताको साथ र सहकार्यमा सबै प्रतिबद्धता पूरा गर्नेछौँ । सेवाग्राहीको काम चुस्तदुरुस्त रूपमा गर्ने प्रयास गरिराखेका छौँ । कतिपय अवस्थामा वडावासीका गुनासा हुन्छन् । ती गुनासा तत्काल सम्बोधन गर्ने प्रयासमा हामी हुन्छौँ । 

निर्वाचनका वेला लगाइएको ‘सिंहदरबारको अधिकार घर/घरमा’ भन्ने नाराको महसुस जनताले गर्न पाएका छन् त ?
हामीले सिंहदरबारको अधिकार जनताको घर–घरमा पुर्‍याउने प्रतिबद्धता गरेका थियौँ । संघीयता कार्यान्वयन हुनुअघि र अहिलेको अवस्थामा जनताले भिन्नता महसुस गरेका छन् । स्थानीय सरकारलाई स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत अधिकार प्राप्त भएको छ । तर, यो पूर्ण होइन् । विगतमा स्थानीय निकायलाई नाता प्रमाणित गर्ने, व्यवसाय कर उठाउनेलगायत सिफारिस गर्ने अधिकार थिएन । अहिले वडाबाटै यो सेवा वितरण भएको छ । कतिपय अवस्थामामा कानुनी चुनौती छ । तर, महानगरपालिकाको बोर्ड बैठकबाट कानुनी समस्या समाधान गर्ने गरेका छौँ । जनशक्ति अभाव हुँदा सिंहदरबारको अधिकार जनताको घरमा पुगेको पूर्ण महसुस भने हुन सकेको छैन । तर, जनताले अधिकांश अधिकारको प्रयोग गर्न पाएका छन् । 

विकास निर्माणका काम कसरी अगाडि बढेका छन् ?
सबैभन्दा पहिला हामीले आवश्यकता पहिचान गर्न वडा भेला राख्छौँ । वडा भेलाबाट आवश्यकता पहिचान गर्छौँ । सो आवश्यकतालाई प्राथमिकीकरण गरेर सडक, ढललगायत अन्य विकास निर्माणका योजना तर्जुमा गरी काम गर्ने गरेका छौँ । ढल निर्माण गर्ने, ढुंगा बिछ्याउने, आधारभूत स्वास्थ्य सेवा वितरणलगायत काम गरेका छौँ । वडा भवन निर्माण गर्ने, आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने, सडक बत्ती राख्ने र हरियाली वडा बनाउनेलगायत काम अघि बढेका छन् । 

वडाका योजना

  •  ढल व्यवस्थापन
  •  वडा भवन निर्माण
  •  सेन्सरसहितको सडक बत्ती 
  •  हरियाली सडक 
  •  आधारभूत स्वास्थ्य सेवा सञ्चालन

वडाका समस्या 

  •  खानेपानी अभाव 
  •  बिग्रिएका सडक
  •  धुवाँ, धुलो
  •  अव्यवस्थित तार
  •  सडक दुर्घटना 

वडामा सडकको अवस्था कहिलेसम्म सुधार्नुहुन्छ ? 
वडालाई चार मिटरसम्म मात्र सडकको जिम्मा लिएको छ । हामीले आवश्यकताअनुसार सडकको ढलान गर्ने, ढुंगा बिछ्याउने, मर्मत संहार गर्ने काम गरेका छौँ । बागमती किनारको सडकमा भने सडक विभागसँग पहल गरेका छौँ । कालोपत्रेका लागि सडक विभागले टेन्डर आह्वान गरेको छ, तर, कालोपत्रे गर्ने काम अघि बढेको छैन । अहिले ग्राभेल राख्नेसम्मको काम भएको छ । 

आठ लेनको चक्रपथ सडकको केही भाग तपाईंको वडामा पर्छ । दुर्घटना बढी हुने क्षेत्र (धोबिघाट, मेगा अस्पताल सडक) पनि यही वडामा पर्छ । दुर्घटना न्यूनीकरणका लागि केही सोच्नुभएको छ ? 
चक्रपथ सडक विभागअन्तर्गत पर्छ । सडक सुरक्षित बनाउने सन्दर्भमा हामीले विभागसँग छलफल पनि गरेका छौँ । तर, सडक सुरक्षाका विधि कार्यान्वयनको पक्ष प्रभावकारी भएको छैन । विभागले यो सडकको अडिट गरेको छ । यो अडिटको सुझाब कार्यान्वयनमा आएपछि सडक सुरक्षित हुने विश्वास लिएका छौँ । 

योजना कार्यान्वयनमा कस्ता समस्या भोग्नुपरेको छ ? 
योजना कार्यान्वयन गर्दा जनशक्ति अभाव मुख्य समस्याको रूपमा देखापरेको छ । संघीय सरकारले कर्मचारी समायोजन गर्दा एकै स्तरका कर्मचारी स्थानीय सरकारलाई पठाउन सकेन । त्यसैले, दक्ष जनशक्ति अभाव हुँदा योजना कार्यान्वयनमा समस्या परेको छ । 

विगतमा कर्मचारीले स्थानीय निकाय सञ्चालन गरेका थिए । केही हदसम्म कर्मचारीको त्यस वेलाको मानसिकता यथावत छ । तर, यो अवस्था सुध्रिने क्रममा छ । संघीय सरकारले प्राविधिक जनशक्ति पठाउन सकेको छैन । महानगरमा भएका प्राविधिकले दुई/तीनवटा वडा हेर्न बाध्य छन् । कतिपय प्राविधिक जनशक्ति अवकास लिने अवस्थामा पुगेका छन् । जनशक्ति अभावको समस्या समाधान गर्न महानगरमा छलफल चलेको छ । योजना सम्झौता गर्दा वडामै सम्झौता गर्न पनि पहल भएको छ । तर, कार्यान्वयन भएको छैन ।

पानी र ढलको समस्या समाधानका लागि के–के गर्नुभयो ? 
वडामा ढलको खासै समस्या छैन । ढल निर्माणका काम हुँदै छन् । मुख्य समस्या खानेपानीको हो । खानेपानीको दीर्घकालीन समस्या मेलम्ची नै हो । मेलम्ची आयोजनाले पाइप बिछ्याउने काम गरिरहेको छ । 

वडामा पर्यटकीयस्थान झमेल पनि पर्छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन तपाईंको योजना के छ ? 
नेपाल भ्रमण वर्ष सफल बनाउन महानगरपालिकाको आफ्नै योजना छ । महानगरपालिकाले समितिसमेत बनाएको छ । समितिले पर्यटक आकर्षित गर्ने कार्यक्रम राखेको छ । वडाको भने खास विशेष योजना छैन ।