मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार ०८:३५:००
Read Time : > 2 मिनेट
खेलकुद

नेपालले जित्ने स्वर्ण कति ?

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०८:३५:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता मुखैमा आइसक्यो । अबको आठ दिनपछि त १३औँ सागअन्तर्गत भलिबलको प्रतिस्पर्धा नै सुरु हुँदै छ । नेपालले प्रतियोगितामा समावेश सबै २८ खेल (२९ खेलमध्ये प्याराग्लाइडिङ नहुने लगभग निश्चित भएपछि) मा आफ्नो सहभागिता जनाउँदै छ । यो प्रतियोगिताका लागि नेपाली टोली बन्द प्रशिक्षणमा छ । नेपाली टोलीको तयारीको जिम्मेवारी राष्ट्रिय टिम तयारी समितिले हेरिरहेको छ ।

प्रतिस्पर्धा सुरु हुनु सात दिनअघि राष्ट्रिय टिम तयारी समितिले पत्रकार सम्मेलनको आयोजना गरेर पदकको दृष्टिकोणले १३औँ साग अहिलेसम्मकै सफल हुने दाबी गरेको छ । त्यसो भए नेपालले यो सागमा कति स्वर्ण पदक जित्ला त ? स्वर्ण पदकको रूपमा नेपालले प्राप्त गर्ने सफलताको बारेमा भने  समिति मौन छ । न उसले कुन खेलबाट कति पदक जित्न सक्छौँ भनेरै जानकारी दिन सक्यो । 

‘हामीले अहिलेसम्म संघहरूसँग बसेर कति स्वर्ण पदक जित्छौँ भनेर हिसाब गरेका छैनौँ । त्यसैले १३औँ सागमा हामी यति नै स्वर्ण जित्छौँ भनेर ठोकुवा गर्न सक्दैनौँ,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भने, ‘तर, यति भन्न चाहन्छौँ कि पदकको दृष्टिकोणले १३औँ साग अहिलेसम्मकै सफल बन्नेछ । हामी आठौँ साग खेलकुदमा हात पारेको सफलतालाई ब्युँताउनेछौँ ।’

नेपालले यसअघि सन् १९९९ मा काठमाडौंमै भएको आठौँ सागमा ३२ स्वर्ण पदक जितेको थिथो । नेपालले साग खेलकुदको इतिहासमा जितेको यो नै अहिलेसम्मको सर्वाधिक स्वर्ण पदक हो । सोही सागमै हो नेपाल पहिलो र अन्तिमपटक अंकतालिकाको दोस्रो स्थानसम्म उक्लन सकेको पनि ।

त्यसपछिको कुनै पनि सागमा नेपालले यो इतिहासलाई दोहोर्‍याउन सकेको छैन । संयोजक रानाभाटले १३औँ सागमा भने आठौँ सागको यही इतिहासलाई ब्युँताउने जनाएका हुन् । त्यसको आधार के त ?

‘हामीले १३औँ सागका लागि लामो समयदेखि तयारी गरिरहेका छौँ । यसपटक हामीले धेरै वैदेशिक प्रशिक्षण पनि गरेका छौँ,’ संयोजक रानाभाटले भने, ‘यसबीचमा खेलाडीहरूले नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पनि पाए । त्यसमा नेपाली खेलाडीहरूको प्रदर्शन र सफलता पनि राम्रो छ । त्यसैले पनि हामीले १३औँ सागमा धेरै पदक जित्नेछौँ ।’

नेपालले विशेष गरी १५ जेठ २०७६ बाट १३औँ सागका लागि तयारी सुरु गरेको हो । त्यसयता विभिन्न चार चरणमा नेपाली टोलीको तयारी गरिएको छ । हाल २८ खेलका पाँच सय ९९ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । आवश्यकताअनुसार विदेशी प्रशिक्षक झिकाएर वा वैदेशिक प्रशिक्षणमा पठाएर पनि नेपाली टोलीको तयारी गरिएको छ । राष्ट्रिय टिम तयारी समितिले अहिलेसम्म साग खेलकुदको बन्द प्रशिक्षणमा रहेकामध्ये २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरिसकेको जनाएको छ । 

१३औँ सागका लागि राज्यले नेपाली टोलीको तयारीका लागि मात्रै ४५ करोड खर्च गरेको छ । खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकका लागि समेत भत्ताको व्यवस्था गरेर १३औँ सागको तयारी गरिएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औँ सागमा नेपालले ५० स्वर्ण जित्ने दाबी गरिसकेका छन् । गत शनिबार प्रचारप्रसार समितिले १३औँ सागको आधिकारिक ‘वेबसाइट’ सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव सिलवालले आसन्न सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक जित्ने दाबी गरेका हुन् । 

रोकियो प्याराग्लाइडिङको तयारी
१३औँ सागमा समावेश भएर पनि प्रतियोगिता नहुने भएपछि प्याराग्लाइडिङको तयारी रोकिएको छ । राष्ट्रिय टिम तयारी समितिले १३औँ साग खेलकुदका लागि प्याराग्लाइडिङको तयारी रोकिएको जानकारी दिएको हो । 

‘प्याराग्लाइडिङ संघले १३औँ सागमा खेल हुन लगभग असम्भव रहेको जानकारी गराएपछि हामीले उहाँहरूको तयारी हेर्न छाडेका छौँ । १३औँ सागका लागि तयारीमा बस्दा प्याराग्लाइडिङका खेलाडीहरूले पाउँदै आएको भत्ता र सुविधा पनि रोकिएको छ,’ राष्ट्रिय टिम तयारी समितिका संयोजक रानाभाटले भने, ‘त्यसअघि उहाँहरूलाई पनि नियमअनुसार सुविधा दिएर हामीले प्रशिक्षणमा राखेका थियौँ ।’ यससँगै १३औँ सागमा २८ खेलको मात्रै प्रतिस्पर्धा हुने भएको हो । 

अन्य देशबाट सहभागी नहुने भएपछि १३औँ सागअन्तर्गत प्याराग्लाइडिङ खेल आयोजना असम्भव भएको हो । सन् २०१८ को अगस्ट–सेप्टेम्बरमा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत पदक जितेको नेपाललाई प्याराग्लाइडिङमा स्वर्ण पदकको दाबेदार मानिएको थियो । प्रशिक्षणसहित खाने–बस्ने व्यवस्था गरिदिने आश्वासन दिँदासमेत अन्य देशबाट प्याराग्लाइडिङमा सहभागिता जनाउन नमानेको राखेपले जनाएको छ ।

नेपाली टोलीको तयारी
१५ जेठदेखि असार मसान्त २०७६ सम्म – विशेष प्रशिक्षण
१ साउनदेखि १५ भदौ २०७६ सम्म – प्रथम चरणको तयारी
१६ भदौदेखि ३० असोज २०७६ सम्म – दोस्रो चरणको तयारी
१ कात्तिकदेखि – तेस्रो चरणको तयारी जारी

हाल वैदेशिक प्रशिक्षणमा रहेको नेपाली टोली
फेन्सिङ, जुडो, स्क्वास, टेबल टेनिस, पौडी, तेक्वान्दो, टेनिस, भारोत्तोलन, भलिबल, कबड्डी, खोखो

साग र नेपालले जितेको स्वर्ण

१९८४ साफ, काठमाडौं, ४ स्वर्ण 
१९८५ साफ, बंगलादेश, १ स्वर्ण
१९८७ साग, भारत, २ स्वर्ण
१९८९ साग, पाकिस्तान, १ स्वर्ण
१९९१ साग, श्रीलंका, २ स्वर्ण
१९८३ साग, बंगलादेश, १ स्वर्ण
१९९५ साग, भारत, ४ स्वर्ण
१९९९ साग, नेपाल, ३२ स्वर्ण
२००४ साग, पाकिस्तान, ७ स्वर्ण
२००६ साग, श्रीलंका, १५ स्वर्ण
२०१० साग, बंगलादेश, ८ स्वर्ण
२०१६ साग, भारत, ३ स्वर्ण