मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
 साङजिन वेई
२०७६ मङ्सिर ४ बुधबार ०८:१७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

असमानता घटाउन डिजिटल प्रविधिको चिनियाँ प्रयोग

Read Time : > 3 मिनेट
 साङजिन वेई
२०७६ मङ्सिर ४ बुधबार ०८:१७:००

विश्व अर्थतन्त्र

एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री वेई, कोलम्बिया विश्वविद्यालयको ‘स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स’ र ‘कोलम्बिया बिजनेस स्कुल’मा अर्थशास्त्रका प्राध्यापक छन् ।

साङजिन वेई

हुन त अधिकांश समाज सबैलाई समान अवसर प्रदान गर्ने आकांक्षा राख्छन् । तर, यसो भन्न जति सजिलो छ, व्यवहारमा उतार्न त्यति नै कठिन छ । फरक–फरक आर्थिक एवं सामाजिक अवस्थामा जन्मे–हुर्केका मानिसका शैक्षिक एवं आर्थिक सुरुवात पनि समान हुँदैनन् । यसकारण मानिसको जन्म, लालनपालन र शिक्षादीक्षाको अवस्थाले उनीहरूलाई फरक–फरक पेसा र अवसरहरू दिलाउँछ । 

डिजिटल प्रविधिको आविष्कार असमानतासँग जुझ्न भएको थिएन, साथै यसले मौजुदा आर्थिक एवं सामाजिक असमानतालाई अझ थप फराकिलो बनाउने जोखिमसमेत उत्तिकै छ । तर, अवसरका यस्ता असमानताको अन्तर साँघुर्‍याउन नयाँ प्लेटफर्महरूले थुप्रै बाटाहरू खोलिदिन सक्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ । 

डिजिटल प्रविधिले कसरी अवसरलाई केही हदसम्म समान बनाउन योगदान गर्न सक्छ भन्ने बुझ्न यी चारवटा उदाहरणलाई हेरौँ । पहिलो, ई–कमर्सका माध्यमबाट भएको लघु एवं साना उद्योगहरूको प्रवर्द्धन । चिनियाँ डिजिटल प्लेटफर्म ताओबाओ डटकम (अलिबाबा स्वामित्वको) उदीयमान मुलुकहरूमाझ परिमाणका हिसाबले सबैभन्दा ठूलो अनलाइन बजार स्थल हो । यस प्लेटफर्मले ग्रामीण भेगका चिया, फर्निचर, सुटकेसलगायतका वस्तु उत्पादक एवं व्यापारीलाई सांघाई एवं बेइजिङजस्ता ठूला सहर (र विदेशमा समेत) का ग्राहकसम्म सहज र सुलभ रूपमा पुर्‍याइदिन्छ । मध्यस्थताको शुल्क उच्च हुने कारण यसअघि ती उद्यमीले पर्याप्त परिमाणमा आफ्ना उत्पादन सीधै बिक्री गर्न सक्दैनथे । तर, आजको ई–कमर्सको युगले त्यो सम्भव भएको छ । 

हुन त ई–कमर्स प्लेटफर्मले सबै स्थानका कम्पनीलाई लाभान्वित बनाउँछ । तर, ग्रामीण एवं दुर्गम क्षेत्रका साना व्यवयासलाई यसले अनुपातका हिसाबले अझै बढी लाभान्वित बनाएको छ । तसर्थ, अवसरमा समानता ल्याउन सहयोग पुर्‍याउँछ । यसैक्रममा, विश्व बैंकको आउँदै गरेको ‘ई–कमर्स डेभलमपेन्ट : एक्सपेरियन्स फ्रम चाइना’ शीर्षकको प्रतिवेदनले यस्ता प्लेटफर्मले लैंगिक समानतालाई समेत प्रवर्द्धन गर्ने औँल्याएको छ । ‘अफलाइन उद्यमी’मा अत्यधिक बहुमत पुरुषको भए तापनि ‘अनलाइन उद्यम’मा भने महिला र पुरुष दुवैको संख्या उत्तिकै हुन सक्ने देखिएको छ । अनलाइन उद्यममा महिलाको उपस्थिति उल्लेख्य देखिन थालेको छ । 

दोस्रो उदाहरणमा ‘फिनटेक’लाई लिऔँ । यसले लघु एवं साना व्यवसायको वित्तीय आवश्यकता पूरा गर्नमा सहयोग गर्न सक्छ । ‘अलिबाबा समूह’कै आंशिक स्वामित्वको ‘एन्ट फाइनान्सियल’ले नगद प्रवाहसम्बन्धी तथ्यांक, अनलाइन ग्राहक समीक्षा तथा अन्य डिजिटल सूचकांकलाई उपयोग गरेर ‘क्रेडिट स्कोर’ (ऋण तिर्न सक्ने क्षमता) निकाल्छन् । र, त्यसपछि ती स्कोरलाई पहिला परम्परागत बैंकबाट ऋण हासिल गर्न नसकेका लाखौँ लघु (चिनियाँ) उद्योगहरूलाई विनाधितो ऋण दिलाउन उपयोग गर्छ ।

हाराल्ड हाउ, यी हुयङ, होङ्छे सान र सिसिया सेङको अध्ययनले, एन्ट फानान्सियलबाट विनाधितो ऋण पाएका लघु उद्यमी (क्रेडिट स्कोर राम्रो भएका) ले त्यस्तो क्रेडिट स्कोर नभएका वा कमजोर स्कोर प्राप्त गरेकाको तुलनामा बिक्री र अन्य व्यावसायिक सूचकमा तीव्र वृद्धि हासिल गरेकोे देखाएको छ । यसरी ऋण प्राप्त गरेका कम्पनीहरू, प्राप्त नगर्ने अन्य कम्पनीभन्दा बढी विस्तारित र उत्कृष्ट रहेको सुनिश्चित गर्न यी अनुसन्धाताले ऋण दिन योग्य रहेको निर्धारण गर्ने न्यूनतम क्रेडिट स्कोर लाइनभन्दा थोरै बढी स्कोर प्राप्त गरेका र अलिकतिले क्रेडिट स्कोर प्राप्त गर्न असफल कम्पनीबीच तुलना गरेर हेरेको थियो ।

ती दुवैखाले कम्पनी एन्ट फाइनान्सियलले उसको ऋण कार्यक्रम सुरु गर्नुअघि आधारभूत रूपले उस्तै थिए । तर, विनाधितो ऋण पाउनेको व्यवसाय, नपाउनेको तुलनामा तीव्र रूपले विस्तारित भएको थियो । यसले, थुप्रै लघु उद्यमीलाई फिनटेकको सानो ऋणले ठूलो फरक पार्न सक्छ भन्ने देखाँउछ ।

तेस्रो, डिजिटल प्रविधिमा शैक्षिक स्रोतका दृष्टिले गरिब र धनी क्षेत्रबीच रहेको असन्तुलनलाई प्रत्यक्ष रूपले कम गर्न सहयोग पुर्‍याउने क्षमता निहित छ । विकासशील मुलुकका अधिकांश ग्रामीण विद्यालयले उच्च गुणस्तरका शिक्षक राख्न वा भइरहेका शिक्षकलाई प्रभावकारी एवं समयसापेक्ष प्रशिक्षणहरू दिने सामथ्र्य राख्दैनन् । परिणामस्वरूप ग्रामीण क्षेत्रका विद्यार्थी सहरी क्षेत्रका विद्यार्थीको तुलनामा पछाडि पर्छन् । 

एसियाली विकास बैंकका सेवानिवृत्त अधिकारी ताङ मिनले स्थापना एवं सञ्चालन गरेको गैरनाफामूलक संस्था ‘युचेन्ज फाउन्डेसन’ले यसलाई परिवर्तन गर्ने प्रयास गरेको छ । ताङले बेङजिङ तथा अन्य ठूला चिनियाँ सहरका शीर्ष प्राथमिक एवं माध्यमिक स्कुलका कक्षाकोठामा भिडियो क्यामेरा जडान गरेर गरिब र दुर्गम गाउँका स्कुलका कक्षा अनलाइन भिडियो लिंकको माध्यमबाट सञ्चालन गर्न सक्ने बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताङले दुईवटा नमुना परीक्षण गर्न ग्रामीण विद्यालयलाई बोलाए । पहिलो परीक्षणअन्तर्गत, ग्रामीण शिक्षकलाई राम्रा विद्यालयमा (गणित र भाषालगायतका विषयमा) कसरी पढाइन्छ, शिक्षकले कस्ता खालका अभ्यासहरू गराउँछन्, त्यसको अवलोकन गर्न लगाइन्छ । र, त्यसपछि उनीहरूले ती टिप्सलाई ग्रहण गरेर अर्काे दिन आफ्नो ग्रामीण स्कुलका कक्षाकोठामा प्रयोग गर्छन् । दोस्रो मोडलमा, ग्रामीण विद्यालयका विद्यार्थीले ठूला सहरका राम्रा विद्यालयका कक्षाकोठाको पढाइलाई सोही समयमा देखाइन्छ । र, ती ग्रामीण कक्षाका शिक्षकले चाहिँ सिकाइलाई सहजीकरण गर्दै सहयोगी शिक्षकको भूमिका निर्वाह गर्छन् ।

दुवै मामिलामा ग्रामीण विद्यालयका विद्यार्थीले राम्रोसँग सिक्न र स्कुलमा बढी रमाउन सकेको देखियो । यसरी, युचेन्जको शिक्षण कार्यक्रमले चिनियाँ ग्रामीण र सहरी क्षेत्रबीचको शैक्षिक अन्तरलाई केही हदसम्म घटाउन सहयोग गरेको छ । 

अन्तिम उदाहरण, नयाँ प्रविधिहरूले सूचीकृत कम्पनीमा रहेका साना सेयरधनीको अधिकारलाई अभिवृद्धि गर्न सक्छ । सन् २०१४ मा चिनियाँ अधिकारीले सूचीकृत कम्पनीमा रहेका सबैले सेयरधनीको साधारणसभामा अनलाइन मतदान र सहभागितालाई मान्यता दिनुपर्ने नीति सार्वजनिक गरे । यसअघि भौतिक रूपले नै उपस्थिति रहनुपर्ने प्रावधान रहँदा भने सबै सेयरधनीको उपस्थिति रहन नसक्ने साधारणसभा वा अन्य बैठकमा ठूला सेयरधनीको मात्रै सहभागिता हुन्थ्यो । 

हुआसेङ गाओ र फुदान विश्वविद्यालयको ‘फानहाई इन्टरनेसनल स्कुल अफ फाइनान्स’का उनका सहकर्मीहरूले गरेको एउटा अनुसन्धानले अनलाइन सहभागिताको विकल्पले कम्पनीका सभाहरूमा साना सेयरधनीको उपस्थिति वृद्धि गरेको देखाएको छ । साथै, यस प्रावधानले कम्पनी व्यवस्थापन वा ठूला सेयरधनीको साना लगानीकर्ताको हितमा आघात पुर्‍याउने प्रस्ताव पास हुने सम्भावनासमेत न्यून बनाएको देखाएको छ । यसर्थ, डिजिटल प्रविधिले साना सेयरधनीका लागि खेल मैदान सम्याएर कर्पोरेट सुशासनलाई प्रजातान्त्रीकरण गर्नमा प्रभावकारी भूमिका खेल्न थालेको छ ।

यी र अन्य क्षेत्रमा पनि डिजिटल प्रविधिले नयाँ उत्साहजनक अवसरहरू प्रस्तुत गरेको छ । साथै, सार्वजनिक नीतिले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नैपर्छ । यदि सरकारले सबैजनाको डिजिटल पूर्वाधारमाथि पहुँच सुनिश्चित गरिदिएको खण्डमा मात्रै डिजिटल प्रविधिले आर्थिक समावेशितालाई प्रवर्द्धन गर्न सक्छ । अवसर असमानता घटाउने खालका डिजिटल पहलकदमी वा उद्यमका लागि कर छुटको व्यवस्था गरिदिनुपर्छ । नीति–निर्माताले पनि डिजिटल क्षेत्र खुला, प्रतिस्पर्धी र सुलभ बनाउन सही कानुन सही स्थानमा लागू भएको सुनिश्चित गर्नुपर्छ ।

असमानता हाम्रो समयको सबैभन्दा जरुरी मुद्दा हो । सार्वजनीक नीति र डिजिटल प्रविधि अझ बढी समावेशी समाजको निर्माणमा एक–अर्काको परिपूरक बन्न सक्छन् । चीनमा मात्रै होइन, अन्य मुलुकमा पनि यही कुरा लागू हुन्छ ।

एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री वेई, कोलम्बिया विश्वविद्यालयको ‘स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स’ र ‘कोलम्बिया बिजनेस स्कुल’मा अर्थशास्त्रका प्राध्यापक छन् ।

Project Syndicate 2019
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य