साल्ट ट्रेडिङ र घोडीघोडाको मूल्य बढेर सर्किट
मंगलबार नेप्से परिसूचक १.१४ अंक घटेर १ हजार १२९ दशमलव ९९ बिन्दुमा बन्द भएको छ । कारोबार सुरु भएको केही समय मात्र सकारात्मक देखिएको बजार सोपछि घटेर बन्द भएको छ । मंगलबार १ हजार १३१.१३ बिन्दुदेखि सुरु भएको परिसूचक १५ मिनेटसम्म बढेको थियो । १ हजार १३२.४१ बिन्दुसम्म यस दिनकै उच्च बिन्दु रहेको छ । यस दिनको नेप्सेचित्रलाई हेर्दा छोटो समयमा उतारचढाव भएको देखिन्छ ।
दैनिकजसो बजार घटिरहेकाले लगानीकर्ताहरूमा निरासा छाएको छ । खरिद गरेको सेयरको मूल्य दिनानुदिन घटिरहेको र बजारमा थप लगानी बढाउन डराएको लगानीकर्ता बताउँछन् । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले घटिरहेको बजारले लगानीकर्ताहरूलाई थप लगानी बढाउन र नयाँ लगानीकर्ता बजारमा आउने मौका मिलेको सोमबार भएको एक कार्यक्रममा बताएका थिए । नेप्से केही वर्षदेखि निरन्तर घटिरहेकाले लगानीकर्ता लगानी बढाउन नै नचाहेको र भएको सेयर पनि घाटामा बेच्दै गरेको बताउँदै आएका छन् ।
नेप्से परिसूचक बढ्दा सेन्सेटिभ बढ्यो
सेन्सेटिभ इन्डेक्स यस दिन ०.३१ अंक बढेर २४८.९१ बिन्दुमा पुगेको छ । नेप्सेले यस इन्डेक्समा सीमित कम्पनीको मात्र कारोबरको मापन गर्छ । त्यसैगरी, फ्लोट इन्डेक्स ०.१२ अंक घटी ८४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंक बढेर ८०.३२ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार २ सय ४७ पटकको कारोबारमा २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँबराबरको १० लाख १६ हजार ४० कित्ता सेयर खरिद–बिक्री भएको छ ।
प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४० दशमलव ९९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ ।
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ६९ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये ५४ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी ३१ कम्पनीको सेयरमूल्य यस दिन स्थिर छ ।
यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से ओरालो लागे १ हजार १ सय २७ दशमलव ८० बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने उकालो लागे १ हजार १ सय ३२ दशमलव ३० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । त्यसैगरी, नेप्सेले १ हजार १ सय २५ दशमलव ६० बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । पहिलो प्रतिरोध बिन्दु तोडेर उकालो लागे नेप्सेले १ हजार १ सय ३४ दशमलव ६० बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३० दशमलव १० रहेको छ ।
घटेको बजारमा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक
घटिरहेको बजारमा साल्ट ट्रेडिङ लिमिटेडको सेयरमूल्य भने सकारात्मक सर्किट ब्रेक भइरहेकोे छ । आइतबारदेखि लगातार यस कम्पनीको मूल्य १० प्रतिशतले बढ्दै गएको छ । कात्तिक १९ गतेदेखि कम्पनीको सेयरमूल्य उच्च दरले बढेको छ । सो दिन प्रतिसेयर ६५८ मा कारोबार भएको कम्पनीको सेयर मंसिर ३ गते मंगलबार प्रतिकित्ता १ हजार २५४ मा कारोबार भएको छ । त्यसैगरी यसै वर्ष आइपिओ बिक्री गरेको घोडीघोडा लघुवित्त वित्तीय संसथा लिमिटेडको सेयरमूल्य पनि केही दिनदेखि सर्किट ब्रेक भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९ दशमलव ५ प्रतिशत बढेर ५२४ रुपैयाँ पुगेको छ । तेस्रोमा नेपाल हाइड्रो डेभलपरस लिमिटेडको सेयरमूल्य ९ दशमलव ३७ प्रतिशत बढेर प्रतिकित्ता १०५ पुगेको छ भने न्यादी गु्रप पावर कम्पनीको ९ दशमलव १८ प्रतिशत बढेर प्रतिकित्ता १०७ पुगेको छ । यी दुई जलविद्युत् कम्पनीको पहिलो त्रैमासिक विवरण सकारात्मक आएकाले मूल्य बढ्न पुगेको हो । साथै, सिन्धु विकास बैंंकको सेयरमूल्य ६ दशमलव ३४ प्रतिशत घटेर प्रतिकित्ता ११८ मा कारोबार भएको छ ।
६ समूह सकारात्मक, एनएमबि बैंकको सर्वाधिक कारोबार
मंगलबार कारोबार भएका १२ समूहको परिसूचकमा ६ समूहको परिसूचक बढेको छ भने ६ समूहको घटेको छ । साल्ट ट्रेडिङको सेयरमूल्य सर्वाधिक बढेकाले व्यापार समूहको परिसूचक ६ दशमलव ५१ प्रतिशत बढ्न पुगेको हो । तारागाउँ रिजेन्सी र सोल्टी होटेलको सेयरमूल्य बढेसँगै होटेल समूहको परिसूचक २ दशमलव ८५ प्रतिशत बढ्न पुगेको छ । सोल्टी होटेलले लाभांश पारित गर्न सभा बोलाएपछि मूल्य बढेको हो । विकास बैंक, उत्पादन, अन्य र म्युचुअल फन्डको परिसूचक भने १ प्रतिशतभन्दा कमले बढेको छ । घट्ने ६ समूहको परिसूचक पनि १ प्रतिशतभन्दा कमले घटेको छ ।
यस दिन एनएमबि बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ३ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकको सेयरमूल्य प्रतिकित्ता बढेर ३८७ सम्म पुगेपछि सेयरधनीहरू सेयर बिक्री आएकाले मूल्य घटेर बन्द भएको छ । बैंकको सेयरमूल्य प्रतिकित्ता ३८४ कायम भएको छ ।
मुक्तिनाथ विकासको नबिकेको हकप्रद लिलामीमा
मुक्तिनाथ विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्दा नबिकेको सेयर मंसिर ८ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ । बैंकले संस्थापकतर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारणतर्फको ३ लाख ७ सय ३ दशमलव ९३ कित्ता गरी कुल ४ लाख ३ हजार २२० दशमलव २५ कित्ता मंसिर १५ गतेसम्म लिलामी बिक्री गर्न लागेको हो ।
बैंकका सेयरधनीले हकप्रद सेयरमा पूर्ण आवेदन नदिएपछि सर्वसाधारणलाई बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । बैंकले सेयरको मूल्य प्रतिसेयर १ सय रुपैयाँ तोके पनि सोभन्दा बढीको मूल्य राखी आवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
स्ट्यान्डर्ड चार्टर्डको ३३औँ सभा मंसिर २३ गते
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३३औँ वार्षिक साधारणसभा मंसिर २३ गते हुने भएको छ । बैंकले दिनको १ बजे आर्मी अफिसर्स क्लब भद्रकालीमा सेयरधनीलाई बोलाएको छ । बैंकले यस वर्षका लागि सेयरधनीलाई प्रतिसेयर २२ रुपैयाँँ ५० पैसा पारित गर्न सभा बोलाएको हो ।
सभाले वार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने तथा बैंकको नियमावलीको नियम समसामयिक संशोधन गर्ने विषय पारित गर्नेछ । बैंकले वार्षिक साधारणसभाका लागि सेयरधनी दर्ता किताब मंसिर ९ गतेदेखि २३ गतेसम्म बन्द गर्न लागेको छ । मंसिर ८ गतेसम्म सेयर कायम रहेका सेयरधनीले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।
गणपतिको लाभांश पारित गर्न बेलायो सभा
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश पारित गर्न तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस ४ गते दिनको ३ बजे जंगलपार्क रिर्सोट, तनहुँमा सेयरधनी बोलाएको हो । कम्पनीको सभाले ७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
कम्पनीले सभामा बोनस सेयर वितरणपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस गरेको छ । कम्पनीले सभाका लागि सेयरधनी दर्ता कित्ताब मंसिर १८ गतेदेखि पुस ४ गतेसम्म बन्द गर्नेछ । कम्पनीको लाभांश र सभामा भाग लिनका लागि मंसिर १७ गतेसम्म सेयर कायम गनुपर्नेछ । कम्पनीले सभामा दुई सञ्चालकको निर्वाचन, वार्षिक प्रतिवेदन पारित र मर्जरको विषय राखेको छ ।