मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार ०७:१९:००
Read Time : > 1 मिनेट
राजनीति

समाजवादीको पदाधिकारी बैठक उपनिर्वाचनपछि : सरकार छाड्ने–नछाड्नेबारे पदाधिकारीमा तीन धार

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०७:१९:००

समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक १४ मंसिरमा हुने उपनिर्वाचनपछि मात्रै बस्ने भएको छ । २८ कात्तिकको संघीय परिषद् तथा २९–३० कात्तिकको केन्द्रीय समिति बैठकले सरकार छाड्ने–नछाड्ने र राजपासँगको एकताबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई दिएको थियो । 

पार्टीभित्र र बाहिर चासोको साथ हेरिएको सरकारमा निरन्तरताको विषय संघीय परिषद् र केन्द्रीय समितिले निर्णय गर्न नसकेपछि छिटै पदाधिकारी तहको बैठक बस्ने अपेक्षा गरिएको थियो । तर, उपनिर्वाचन नजिकै आइसकेकाले पदाधिकारी बैठक छिट्टै बस्न नसकेको उपाध्यक्ष नवराज सुवेदीले बताए । 

‘हामीले निर्वाचनमा कास्की, दाङ, बाग्लुङ, भक्तपुरलगायत क्षेत्रमा उम्मेदवार उठाएका छौँ । अध्यक्ष बाबुराम भट्टराईलगायत नेता–कार्यकर्ता प्रचार–प्रसारमा लाग्नुहुन्छ । अर्का अध्यक्ष उपेन्द्र यादव सरकारमा भएकाले कार्यक्रममा सहभागी हुन भारत जानुभएको छ,’ सुवेदीले भने, ‘निर्वाचनपछि पदाधिकारी बसेर सरकारमा बस्ने–नबस्ने र राजपासँगको एकताको अन्तिम टुंगो लगाउँछौँ ।’ 

तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच एकता भई नयाँ पार्टी गठन भएकै समयमा समाजवादीले अल्टिमेटम दिएर सरकार छाड्ने बताएको थियो । तर, पछिल्लो समयमा समाजवादीमा सरकार छाड्ने वा नछाड्ने विषयमा तीन धार देखिएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरू तत्कालै सरकारबाट बाहिरिनुपर्ने पक्षमा रहेका छन् । केन्द्रीय समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव पक्षधर नेताहरू भने तत्काल सरकार नछाड्ने पक्षमा देखिएका छन् । वरिष्ठ नेता अशोक राई तत्काल पक्ष–विपक्षमा देखिएका छैनन् ।

सरकारले संविधान संशोधनमा तत्परता नदेखाएले पदाधिकारी बैठकले अल्टिमेटम दिएर सरकारबाट बाहिरिने निर्णय गर्ने उपाध्यक्ष सुवेदीले बताए । यादवनिकट उपमहासचिव प्रकाश अधिकारीले भने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय नगर्ने बरु सरकारका कामबारे समीक्षा मात्रै गर्ने दाबी गरे । ‘केन्द्रीय समितिले सरकारमा बस्ने–नबस्ने निर्णय गर्ने अधिकार पदाधिकारीलाई दिएकै छैन,’ अधिकारीले भने, ‘पदाधिकारीले सरकारको समीक्षा गर्छ, राजपासँगको एकताबारे कुरा भइराखेकै छ, कुरा मिले एकता हुन्छ ।’ 

सरकारलाई संविधान संशोधनको अल्टिमेटम दिएर पदाधिकारी बैठकको निर्णयबाट सरकार छाड्नुपर्ने मत अध्यक्ष डा. भट्टराई पक्षधरको नेताहरूले केन्द्रीय समिति र संघीय परिषद् बैठकमा पनि राखेको एक नेताले बताए । उनका अनुसार पदाधिकारी बैठकसम्म पुग्दा अध्यक्ष यादवले एकीकृत पार्टी रोज्ने या सरकारमध्ये एक मात्रै रोज्नुपर्ने अवस्था आउने समेत बताए । यादवनिकट नेताहरू भने सरकारबाट तत्काल बाहिरिने पक्षमा छैनन् । वरिष्ठ नेता राई दुवै नेताबीच मध्यमार्गको खोजी गरिरहेको एक नेताले बताए । 

पार्टीको २५ सदस्यीय पदाधिकारीमध्ये भट्टराई समूहका १० जना, यादव समूहका ८ जना र राईका ७ जना छन् । राईका तर्फबाट एकजना पदाधिकारी थप्न बाँकी छ । हालका २४ पदाधिकारीमध्ये राई जता उभिन्छिन्, उतै बहुमत पुग्ने देखिएको छ । 

यादव भारत भ्रमणमा, आज फर्कँदै
समाजवादीका केन्द्रीय समिति अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भारतमा तीन दिनसम्म चल्ने विश्व औषधि उत्पादनसम्बन्धी कार्यक्रममा भाग लिन सोमबार भारत प्रस्थान गरेका छन् । उनले भारतमा राजनीतिक भेटघाट पनि गर्ने अनुमान गरिएको छ । यादव भेटघाट सकेर बुधबार नेपाल फर्कंदै छन् । यादव फर्केपछि पदाधिकारी बैठकको मिति तय हुने समाजवादी पार्टीका एक नेताले बताए । ‘स्वास्थ्यमन्त्रीज्यूले सुरुमा प्रतिनिधि पठाउने तयारी गर्नुभएको थियो,’ स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले भने, ‘भारतका स्वास्थ्यमन्त्रीले छुट्टै पत्र पठाएपछि मन्त्रीज्यू जानुभएको हो ।’