मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ४ बुधबार ०६:५९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

कांग्रेसको आरोप : २१ महिनामा सरकारका २१ असफलता

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ४ बुधबार ०६:५९:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपाको सरकार २१ महिनामा २१ काममा असफल भएको आरोप लगाएको छ । १४ मंसिरको उपनिर्वाचनको चुनावी प्रतिबद्धता मंगलबार जारी गर्दैै कांग्रेसले सरकारका असफलता औँल्याएको हो । 

२१ महिनाअघि मतदाताले समृद्ध नेपाल अघि बढ्ने परिकल्पना गरेर नेकपालाई मत दिए पनि सरकारले बेथिति निम्त्याएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिकिर गरे । उनले उपनिर्वाचनमा सरकारको गहिरो समीक्षा गर्न मतदातालाई अपिल पनि गरे । ‘२१ महिनामा सरकारले अधिनायकवाद आकांक्षा राखे पनि कांग्रेस भएसम्म हामी लोकतन्त्रलाई खतरामा पर्न दिन्नौँ,’ शर्माले भने, ‘हाम्रो नेतृत्वमा शान्ति, संविधानसभा, संविधान र यसको कार्यान्वयन अघि बढ्यो । तर, ऐतिहासिक राजनीतिक जटिलता पूरा गर्नुपर्ने दायित्व नभए पनि २१ महिनामा सरकार नारामै सीमित भयो । यसर्थ, उपनिर्वाचनमा सरकारको गहिरो समीक्षा मतदाताले गर्नुपर्छ ।’ 

राजस्वको आकार, सडक, बिजुलीजस्ता पूर्वाधार, रोजगारी वृद्धि, स्वास्थ्य र शिक्षाको प्रगति र विकासमा कांग्रेसका ०४७ देखि ०७४ सालसम्मका सरकारले गरेको सकारात्मक कामको तथ्य पनि शर्माले चुनावी आह्वानमा सार्वजनिक गरेका छन् । कांग्रेसले ‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहित २२ पृष्ठको ‘नेपाली कांग्रेसको आह्वान’ शीर्षकको प्रतिबद्धतापत्र कांग्रेसका युवा नेताहरूले संयुक्त रूपमा जारी गरे । 

प्रतिपक्षले औँल्याएका सरकारका कमजोरी
राष्ट्रियताबारे उच्चस्तरीय पहल भएन :

नेपालको भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्साको सर्वत्र विरोध भइरहँदा सरकारले उच्चस्तरीय राजनीतिक पहल गर्न नसकेको कांग्रेसको आरोप छ । 
संविधान अपनत्वको विस्तारमा असफल 
सरकारले संविधानमा अपनत्वको दायरा विस्तार गर्न नसक्नुलाई पनि सरकारको कमजोरीको रूपमा कांग्रेसले औँल्याएको छ । कांग्रेसले भनेको छ, ‘मधेसका असन्तुष्टिको हल गर्न सरकार असफल भएको छ ।’ 
सत्ताको सैद्धान्तिक चरित्र निक्र्योल भएन
सरकार एमालेको बहुदलीय जनवाद र माओवादीको एक्काइसौँ शताब्दीको जनवादलाई ‘फ्युजन’ गर्ने नाममा ‘कन्फ्युजन’ भएको कांग्रेसको विश्लेषण छ ।
प्रदेशको नाम र राजधानी तोकिएन
प्रदेशको नामाकरण र राजधानी तोक्ने संघीयताको बाँकी कार्यभार पूरा गर्न सरकार असफल रहेको कांग्रेसको आरोप छ । 
कूटनीतिक मामिलामा अपरिपक्वता 
कालापानी प्रकरणमा सन्तुलित भूमिका निर्वाह गर्न सरकार असफल भएको कांग्रेसले जनाएको छ । 
विप्लव प्रकरण : असफलताको फरक पाठ 
प्रतिबन्धित नेकपाको हिंसाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले सरकारले निषेधको मार्ग लिएकाले द्वन्द्व विस्तारमा बल पुगेको आरोप लगाएको छ । 
निर्मला प्रकरणमा हरायो सरकार
कांग्रेसले शान्ति सुरक्षाको अवस्था खराब रहेको आरोप लगाएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा त सरकार सम्पूर्ण रूपले असफल भएको कांग्रेसको आरोप छ ।
महँगी अत्यधिक बढ्यो
 बजार मूल्य पूरै नियन्त्रणमा आउनेछ भनेर सपना देखाए पनि २१ महिना अवधिमा त्यो खण्डित भएको प्रवक्ता शर्माले बताए । 
भ्रष्टाचारमा ‘क्रान्तिकारी छलाङ’ 
सरकारले भ्रष्टाचारमा क्रान्तिकारी छलाङ मारेको कांग्रेसले टिप्पणी गरेको छ । वाइडबडी जहाज खरिदलगायत भ्रष्टाचारलाई ढाकछोप गरेको पनि कांग्रेसले बताएको छ । 
बुढीगण्डकीमा राष्ट्रघात 
नेपाली आफैँले निर्माण गर्ने भनिएको बुढीगण्डकी चिनियाँ कम्पनीलाई जिम्मा दिनुलाई कांग्रेसले राष्ट्रघाती भनेको छ । 
मेलम्ची खानेपानी परियोजनामाथि खेलबाड 
कांग्रेसले सत्ता हस्तान्तरण गर्दा मेलम्ची खानेपानी आयोजनाको काम सकिएको दाबी गर्दै सरकारकै कारण मेलम्ची परियोजना पूरा हुन अझै समय खर्चिनुपर्ने अवस्था आएको शर्माले उल्लेख गरे । 
निजगढ विमानस्थलकोभविष्य अन्योल 
कांग्रेसले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने उल्लेख गर्दै लगानीका सम्बन्धमा गहिरो राष्ट्रिय विमर्श हुन नसक्नुले एयरपोर्टको भविष्य अन्योलमा पर्दै गएको जनाएको छ । 
चिकित्सा शिक्षाका विद्यार्थी पीडित
डा. गोविन्द केसीसँगको सहमति र शुल्क वृद्धिको आन्दोलनलाई सम्बोधन गर्न सरकार असफल भएको कांग्रेसले बताएको छ । 
असफल संवैधानिक परिषद्
‘सरकार बनेयता २१ महिनामा संविधानले दिएको गरिमाको भूमिका निर्वाह गर्न सरकार असफल रहेको छ,’ कांग्रेसले भनेको छ । 
शब्दमा प्रेस स्वतन्त्रता, व्यवहारमा नियन्त्रण 
मिडिया काउन्सिललगायतका विधेयकमार्फत सञ्चार माध्यमलाई नियन्त्रण गर्न उद्यत् भएको र कैयौँ पत्रकारलाई आस्थाका आधारमा कारबाही गरिएको कांग्रेसको भनाइ छ । 
धर्मको प्रश्नमा होलिवाइन प्रकरण 
सरकारले आफ्नो साझा र उच्च गरिमालाई होलिवाइन प्रकरणमा कामय राख्न नसकेको टिप्पणी गरेको छ । 
गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता 
सरकारले गुठी विधेयक ल्याउँदा हजारौँ नागरिक स्वतस्फूर्त सडकमा ओर्लिएपछि सरकार झुक्न वाध्य भएको शर्माले उल्लेख गरे ।
सामाजिक सुरक्षा कोष कांग्रेसकै कार्यक्रम
कांग्रेस सरकारमा हुँदा ल्याएको सामाजिक सुरक्षा कोषलाई सरकारले कार्यान्वयन गर्नुको सट्टा आफैँले ल्याएजस्तो गरी प्रचार गरेको कांग्रेसको आरोप छ ।
बालुवाटार काण्डमा लिलाम नैतिकता 
बालुवाटार जग्गा काण्डमा पार्टीकै नेताको नाम जोडिएर आउँदासमेत सरकार ढाकछोप गर्नतिर लागेको कांग्रेसको टिप्पणी छ । 
सेयर बजार दिनदिनै ओरालो
कम्युनिस्ट पार्टी उकालो लाग्दा सेयर बजार भने ओरालो लागेको कांग्रेसले टिप्पणी गरेको छ । 
असहिष्णु अभिव्यक्ति : अराजनीतिक चरित्र 
सरकार लोकतान्त्रिक प्रक्रियाबाट निर्माण भए पनि  विरोधका स्वरलाई सुन्नै नसक्ने अलोकतान्त्रिक प्रवृत्ति देखिएको को कांग्रेसको टिप्पणी छ ।