मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ३ मंगलबार १६:४९:००
Read Time : > 11 मिनेट
सप्तरंग

फिल्म उद्योगमा म एक्लो छु : आर्यन सिग्देल

Read Time : > 11 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १६:४९:००

‘मेरो एउटा साथी छ’ बाट फिल्म उद्योगमा छिरेका आर्यन सिग्देलले धेरै हिट फिल्म दिए । उस्तै संख्यामा उनका फुलप फिल्म पनि रहेका छन् । फिल्मी क्षेत्रमा आउनेबारे सोच्दै नसोचेका आर्यनको आर्यनको अहिले ‘च च हुईँ’ प्रदर्शनका तयारीमा छ । यही बीचमा आर्यनले फिल्मी यात्रा, करियरको उतारचढावबारे नवीन प्यासीसँग खुलेर कुरा गरे । 

आर्यन घरिघरि ऐना हेरिरहन्छन् । ऐना उनको देब्रे साइडमा छ । आर्यन भन्दैछन्, ‘अलि डढेँ घामले ।’ 

मानिस करिब साता लामो मनकामना, हेटौडा यात्राका क्रममा घामले अलि कालो बनाएको छ आर्यनको अनुहार । आँखामा चश्मा भिरेका छन् । कफी–टेबलको छेउमा रहेको ऐनामा आफूलाई घरिघरि देखाउँछन् । जतिपटक हेरे पनि देख्ने त आफ्नै अनुहार न हो, त्यो पनि आफ्नै आँखाले । 

र पनि घरिघरि आर्यन–ऐनाबीच हेराहेर चलिरहन्छ । 

अक्सर चश्मा लगाएर कुरा गर्ने मानिसहरूले अलि झुट बोल्छन् कि लाग्छ । चश्मा लगाएर कुरा गर्नेहरू आफू लुकेर या आफूलाई लुकाएर कुरा गर्छन् जस्ता लाग्छ । कुरा गर्दा त आँखा जुधाएरै गरेको राम्रो, कमसेकम आँखाले त झुट बोल्दैनन् । तर चश्मै लगाएर पनि आर्यनले झुट बोलेनन् ।  

सायद, आर्यन झुट बोल्नुपर्ने अवस्थाबाट धेरै टाढा पुगिसकेका छन् । बरु आफूले गरेका कामप्रति मज्जाले कन्फेस गर्छन् ।

टेबलबाट कफीको अर्डर लिएर वेटर गयो । ऊ केही समयपछि आउने छ । ऊ आउनुभन्दा अघि आर्यनसँग केही जिज्ञासा मेटाइसक्नु छ । 

चकलेटी अनुहारको आर्यनको फिल्म उद्योगमा आगमन फिल्मी तरिकाबाटै भयो । साच्दै नसोचेको अवस्थामा भयो । र पनि आर्यन सफल भए । वर्षौं संघर्ष गरेर आएकाहरू धेरै होलान् । तर, आर्यनले फिल्म उद्योगमा छिरेपछि संघर्ष गरेका रहेछन्, कुराकानीको क्रममा थाहा भयो । 

नेपाली फिल्मलाई प्रेम गर्ने धेरै दर्शकलाई लागिरहन्छ, आर्यन सफल कलाकार हो । हुन् पनि । तर, मानिसले के कुरालाई सफलता मान्ने र केलाई असफलता मान्ने ? यस प्रश्नको उत्तर आर्यनले मात्र होइन, संसारको कुनै पनि मानिसले दिन सक्दैन होला । किनभने एउटा मानिसको जीवनको समग्रतालाई हेरेर यो प्रश्न सोधियो भने उत्तर कहिल्यै आउन सक्दैन । र प्रश्न एक्लै रहिरहन्छ । 

मानिसले सधैं आफूलाई  सफलता र असफलताबीचको बिन्दुमा रहेर नियाल्ने गर्छ । किनभने मानिस मिश्रित जीवन बाँच्ने न हो– कहिले सफल र कहिले असफल । र यही बीचमा मानिसले आफूलाई वेला–वेला पछाडि फर्केर पनि हेरिरहन्छन्– कहाँबाट कहाँ आइपुगेँ ? 

दुई दशकको नेपाली फिल्मको यात्रा दौरान आर्यन सिग्देलको क्रेज, सफलता अर्कै थियो र असफला पनि थिए । ती  दिनलाई आर्यन यसरी सम्झन्छन्;

मलाई मेरो विगत सम्झनुपर्दा, पहिले फिल्म भन्नु ठूलो कुरा थियो । लगानी, कलाकार, सेट निकै दुर्लभ र महँगो कुरा थियो । अहिले त जोसुकैले फिल्म बनाउन सक्छन् । एउटा मोबाइल छ भने फिचर फिल्म बन्न सक्छ । मेरो समय जुन थियो, त्यो अलि फरक थियो । मेरो समयमा स्टारडम र फिल्मको महत्व एकदम थियो जस्तो लाग्छ । अहिले त फ्यानहरूलाई मन परेको कलाकारसम्म पुग्न सहज छ, सामाजिक संजाल छन् । त्यो वेला एउटा कलाकारलाई देख्न पनि ठूलो कुरा थियो । 

त्यो वेला फिल्ममा लाग्नु नै ठूलो कुरा थियो । नेगेटिभमा काम गर्नुपथ्र्यो । सबै कुरामा इफोर्ट लाग्थ्यो । चित्त बुझेन भन्ने कुरा विरलै हुन्थे । सिनेम्याटोग्राफरले ‘ल हुन्छ’ भनेपछि ‘हुन्छ’ । पछि एकपैटक आफूलाई इडिटिङ र डबिङमा मात्र देख्न पाइन्थ्यो ।    

त्यो वेला ‘धुवाँ’ फिल्मका लागि मैले आठ लाख लिएको हल्ला आयो । तर अन्तिममा मैले एक लाख पनि लिइनँ । मलाई फिल्म मन परेको थियो । फिल्म फरक धारको थियो । पछि फिल्म चलेन, पैसा लिइनँ । म सन्तुष्ट भएँ, त्यति भए मलाई पुग्यो ।

मोबाइलमा कुराकानी रेकर्ड भइरहेको छ या छैन भनेर चेक गरेपछि मोबाइल आर्यनको अलि नजिक पुग्छ ।। आर्यनले भनेजस्तो अहिले सजिलो भएको छ । पहिले कुराकानी डायरीमा टिपोट हुन्थ्यो । त्यही टिपोटलाई सम्झिएर टाइप गर्नुपथ्र्यो । 

अहिले रेकर्डडरमा नै सबै कुरा हुन्छन् । सम्झिरहनुपर्ने झण्झटबाट मुक्ति मिलेको छ । कतिपय अवस्थामा त टाइप गर्नुपर्ने अवस्थाबाट पनि मुक्ति मिलेको छ (जसले भिडियो रेकर्ड गर्छन्) ।
प्रविधिको द्रूत आविष्कारले सहज बनाएको छ । मन परेको कलाकारलाई सहज रूपमा देख्न पाइन्छ । कलाकार–दर्शक टाढाको कहानीका विषय बन्न छाडिसके । 

सबै कुरा समय न हो, बदलिरहन्छ । तर एक्लै बदलिँदैन, परिवर्तनसहित बदलिन्छ । त्यही बदलावमा मानिसले आफ्नो उपस्थिति खोज्ने हो । आफ्नो उपस्थिति खोज्न नसक्नेहरू इतिहासको गर्तमुनि बिलाएर जान्छन् । आर्यन सिग्देलले त्यो क्रेज र स्टारडम फेरि ल्याउन सक्छन् त ? आर्यन भन्छन्;

अब परिस्थिति अनुसार यसरी नै जान्छ । यसलाई करेक्सन गर्ने काम हुँदैन । यही चिजहरूलाई नै स्वीकारेर जाने हो । नत्र अब सम्भव छैन । आफूलाई पनि परिमार्जन गरेर अगाडि जानुपर्छ । स्टारडम ल्याउने, नल्याउने भन्ने कुराका लागि समय छँदैछ नि !  

(आर्यनले फिल्म खेल्ने समयमा गाउँतिर डिभिडीमा पुग्थे फिल्म । त्यो पनि डुब्लिकेट । ब्ल्याक एण्ड ह्वाइट (कतैकतै रंगिन पनि) टिभीमा हुर्नुपथ्र्यो । त्यो पनि रु पाँचदेखि दशसम्मको टिकट काटेर । फिल्म हेरिसकेका मान्छे छ महिनासम्म फिल्मको कहानी सुनाएर बस्थे । कतिपय अवस्थामा त कहानी सुनेर नै रुनेहरू भेटिन्थे ।)
अहिले त समय फेरिएको छ । 

हामीसँग विकल्पहरू पनि टन्नै छन् । कलाकारसँग स्टारडम, क्रेज ल्याउनका लागि अनेक छनोटहरू छन् । हामीले बाँचिरहेको जीवन पनि त एउटा छनोट न हो– पत्रकार, फिल्ममेकर, व्यवसायी.... ।

आर्यन पनि स्टारडम र क्रेज असम्भव कुरा नभएको बताउँछन्, 

नसक्ने भन्ने कुरा अल्छी मानिसहरूका लागि बनेका हुन्छन् । 

कलाकारको क्रेज आफ्नै किसिमको हुन्छ  । चकलेटी अनुहार भएका कलाकारका लागि त प्रेमिका, अफेयरको हल्लाले पनि क्रेजमा असर गर्छ भनिन्छ । त्यसपछि पनि क्रेज ल्याउनका लागि ऊ अभिनयमा पारंगत हुनैपर्छ भनिन्छ । तर आर्यन यो कुरा मान्दैनन्; 

त्यो म गलत मान्छु । दर्शकले फिल्म हेर्ने हो र फिल्ममा कलाकार हेर्ने हो । व्यक्तिगत जीवनले असर गर्दैन । मैले फिल्म नचलिरहँदा वैवाहिक जीवनको समाचार आयो र पनि फिल्म राम्रोसँग चल्यो । त्यस्ता कुरा त मिडियालाई समाचार र गसिप मात्र हुन्छन् । दर्शकले फिल्म हेर्ने हो, कलाकारको व्यक्तिगत जीवन होइन । 

खैर, मानिसलाई त कसैले बाँचेको व्यक्तिगत जीवनले पनि असर गर्छ होला । एउटा मान्छे सबैको चासोको विषय बनेर गइसकेपछि मान्छेहरू उसको व्यक्तिगत जीवन बुझ्न उत्सुक हुन्छन् नै । त्यही व्यक्तिगत जीवन र उसले गरेको कर्मले नै मानिसलाई ‘आइडल’ बनाउँछ कि !

मानिस यात्रा गरिरहन्छ । यात्रा सीधा बाटोमा मात्र भइरहन्छ भन्ने छैन । आर्यनको फिल्मी यात्रा पनि सीधा छैन । साथै आर्यन फिल्ममा आउँदाको अवस्थामा र अहिलेका अवस्थामा केही फरक त छ नै  । तर आर्यनप्रतिको दर्शकको धारणा उस्तै रहेको बताउँछन् आर्यन;

दर्शकको मप्रतिको धारणा चाहिँ फरक छैन । फरक छ जस्तो पनि मलाई लाग्दैन । उहाँहरूको जुन दृष्टिकोण थियो, त्यो अहिले पनि छ । मलाई उहाँहरूले कलाकार भएर मात्र मन पराइदिनुभएको हो । अन्य प्रोपोगाण्डाका कारण होइन । 

दश वर्ष अगाडि मलाई चाहने दर्शक त धेरैजसो विदेशमा होलान् । विदेश जाँदा त्यो फिल पनि हुन्छ । म जुन वेला पिकमा थिएँ, अगाडि बढिरहेको थिएँ र त्यो वेला जो दर्शक हुनुुहुन्थ्यो उहाँहरू प्रायः सबै विदेशमा हुनुहुन्छ । अहिले नायाँ पुस्ता आएको छ । उहाँहरूले काम र अभिनय हेरेर मन परउानुभएको छ । 

दर्शकले फिल्म हेर्ने हो र फिल्ममा कलाकार हेर्ने हो । व्यक्तिगत जीवनले असर गर्दैन । मैले फिल्म नचलिरहँदा वैवाहिक जीवनको समाचार आयो र पनि फिल्म राम्रोसँग चल्यो । त्यस्ता कुरा त मिडियालाई समाचार र गसिप मात्र हुन्छन्

पिकमा पुगेपछि त झर्नैपर्छ ! शिखरमा पुगेर अडिरहन मान्छेले सक्दैन नै । 

कफीको ग्लासलाई वेटरले टेबलमा छाडेर गएको छ । अब ग्लासलाई हातहरूले सम्हाल्छन्, सम्हालेजस्तो गरिदिन्छन् । केही समयपछि ग्लास रित्तो हुनेछ, पहिलेजस्तै । 
आर्यन कुराकानीभित्र मज्जाले छिरिसकेका छन् । अब उनलाई प्रश्न कम गरे पुग्छ, उनका कुरा बढी सुने पुग्छ ।

मानिसको जीवनको खास मूल्यंकन जमिनमै हुने हो । मानिसले आफू हुनुको अर्थ पनि जमिनमा समानान्तर रूपमा उभिएरै खोज्ने हो । आर्यनले भनेको ‘पिकमा थिएँ’ ‘अगाडि बढिरहेको थिएँ’ को मतलव एउटा कलाकार सधैं एउटौ पइन्टमा मात्र रहन सक्दैन । आर्यनको अनुभवले भन्छ; 

म मात्र होइन, सबैको जिन्दगीमा ‘तल–माथि’ हुन्छ । सबै क्षेत्रका करियरमा हुन्छ । त्यो कुरालाई आत्मासात गर्न सक्नुपर्छ । समय, उमेर सधैं उही अवस्थामा नरहेको कारण पनि त्यो कुरालाई सहज रूपमा स्वीकार्ने हो । र मेरो सवालमा के हो भने पहिलेदेखि नै वर्षमा एकदुई फिल्ममा काम गर्थें । त्यही कारण तलमाथिले केही असर गरेकोे छैन । म जे थिएँ, अहिले पनि त्यही छु जस्तो लाग्छ । 

कतिपय कलाकारले आफ्नो ओरालो लागेको करियरलाई सम्हाल्न नसक्दा डिप्रेसनको सिकार भएका छन् । औषधिको ओभरडोजका कारण जीवनलाई सकाएका पनि छन् । त्यस्तो अवस्थाबाट पुनः ब्युँतिएका पनि छन् । त्यसका लागि संयमता चाहिने मत राख्छन् आर्यन;

सबैभन्दा ठूलो कुरा मान्छेमा संयममता हुन जरुरी छ । किनभने आफूले जे चिज गरिन्छ, त्यसप्रति अपेक्षा धेरै राख्नुहुन्न । नत्र डिप्रेसनमा जान्छ मान्छे । सधैं आत्मसन्तुष्ट हुन जरुरी छ । आफू आत्मसन्तुष्ट रहन सक्यो भने डिप्रेसन, डरले कहिल्यै असर गर्दैन जस्तो लाग्छ । 

आर्यनको पनि पछिल्लो फिल्महरू अलि बढी संख्यामा असफल भएका छन् । अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । त्यसले आर्यनलाई आफू ओरालो लागेको महसुस भने हुँदैन; 

त्यस्तो मलाई कहिल्यै पनि भएन, हुँदैन । मेरो फिल्म गर्ने शैली, प्रक्रिया उस्तै छ । मेरा फिल्म नित्तान्त रूपमा असफल भएका छैनन्  । बरु फिल्मको बजेट धेरै भएकाले असफल भएका छन् । सामान्यतया फिल्मले औसतमा राम्रै कमाइरहेको छ । म काम गर्छु र मसँग निर्माता खुसी पनि छन् भने मेरो जे स्थान हो त्यो यथावत् नै छ । 

फिल्मी कलाकारका कुरा गर्दा व्यवसायिकताले निकै ठूलो स्थान ओगट्ने गर्छ । विशेष गरेर मूलधारका भनिएका फिल्ममा । फिल्मको व्यवसायले नै कलाकारलाई हिट र फ्लपको ट्याग झुण्डाउने परिपाटी छ । कलाकार सफल भइरहेको वेला उसले लिने पारिश्रमिकले पनि राम्रै चर्चा पाउने गर्छन् । 

केही वर्ष अगाडि आर्यन सग्देलले ‘धुवाँ’ फिल्मका लागि आठ लाख लिएको खबर खुब चर्चामा थियो । त्यो आठ लाखबारे आर्यन भन्छन्; 

पैसा मेरो म्याटरको विषय कहिल्यै पनि भएन । त्यो वेला ‘धुवाँ’ फिल्मका लागि मैले आठ लाख लिएको हल्ला आयो । तर अन्तिममा मैले एक लाख पनि लिइनँ । मलाई फिल्म मन परेको थियो । फिल्म फरक धारको थियो । पछि फिल्म चलेन, पैसा लिइनँ । म सन्तुष्ट भएँ, त्यति भए मलाई पुग्यो । 

पैसाको लागि काम गर्ने भएको भए बीस वर्ष भयो काम गर्न थालेको । बीस वर्षमा कम्तिमा सय फिल्म गर्थें होला । तर बीस वर्षको अन्तरालमा ३०÷३५ फिल्म रनिङ छन् । पैसा भन्ने चिज र जिनिसले मलाई कहिल्यै अर्थ राख्दैन । 

तर पनि संसार पैसाको पछि त दौडिएकै छ ! 

मलाई त बाँच्न पुगे हुन्छ ।

बाँच्न मात्र भन्दा पनि मानिस प्रायः भोलिका लागि सोचेर बाँच्छन् । सपना पनि भोलिको पर्खाइकै उपज हो । तर आर्यन भोलिबारे सोच्दा पनि सोच्दैनन्;

भोलिको दिनबारे कहिल्यै सोच्दिनँ । म वर्तमानमा बाँच्ने हो । वर्तमान मेरो खुसी हुनुपर्छ । यदि भोलिका लागि प्रेसर लिन थालियो, अरूको सम्पत्ति र बैंक ब्यालेन्स हेर्न थालियो भने त्यसपछि मान्छे डिप्रेसनमा जाने हो । त्यसपछि मान्छे पीडामा हुने हो । पैसा भनेको जति खर्च गर्न भ्याउँछु, कति खर्च गर्दा खुसी हुन्छु, त्यति भए पुग्यो त ! जब म धेरै सपना बुन्न थाल्छु, सोच्न थाल्छु त्यसपछि मलाई पैसाको जरुरी हुन्छ । त्यता लाग्दा काम गर्ने शैली र गुणस्तरमा परिवर्तन आउन सक्छ । त्यही भएर आजको दिन खुसी भएर बाँच्न्ुपर्छ, भोलि पनि त्यस्तै हुनेछ । 

तरै पनि आर्यन सिग्देल फिल्म क्षेत्रमा संघर्ष गरिरहेको मान्छेका लगि ठूलो सपना हो । उनीहरूका लागि आर्यन भोलि हो, अर्थात सपना हो । यो अवस्थामा आइपुग्दा पनि आर्यनको यात्रा त सकिएको छैन । आर्यनले कयौं भोलिहरूको सामना गर्नुपर्नेछ । तर, अर्यन भने फरक मत राख्छन्;

मेरो सपना केही छैन । त्यो वेला पनि म ठूलो स्टार र कलाकार बन्छु भनेर फिल्ममा लागेको पनि होइन । राम्रो हुन्छ भन्दाभन्दै लागेको हुँ । म जे छु, परिस्थिति अनुसार छु । म जे चिजमा गर्न सक्छु जस्तो लाग्छ, त्यही चिजमा राम्रो गरेर देखाउने हो । म सन्तुष्ट पनि छु । 

त्यो वेला पनि मलाई हिरो हुन्छु भन्ने सपना नै थिएन । अहिले पनि छैन । भोलि जे आउँछ, त्यसलाई राम्रोसँग गर्छु । जे कुरा आउँछ, आनन्दले आफ्नो तरिकाले गर्छु । तर सपना कहिले पनि देख्दिनँ । बीस वर्षसम्ममा जे पाएँ, वर्तमानमा बाँचेर पाएको हुँ । भोलिका दिनबारे सोचेर हिँडेको भए आज यहाँ हुँदिन थिएँ । जे अवसर आयो, त्यसैलाई स्वीकार गरेर अगाडि गएँ । 

आर्यन फिल्ममा एक्सिडेन्टली आएका थिए– 

निराज सिग्देल भन्ने दाइ हुनुहुन्थ्यो । उहाँले एकदिन ‘यार हिँड्, नाटक गर्ने हो, हिरो पनि छस्’ भन्नुभयो । मेरो कलेजको तीन महिनाको छुटी पनि थियो । त्यसपछि नाटक, स्टेज पर्फमेन्सतिर लागेँ । त्यसरी म अगाडि बढेको हो । काम गर्दा रमाइलो लाग्दै भयो, सिरियलहरू गर्दागर्दै यता आएँ । जे गर्थें, त्यही ठाउँमा राम्रो गर्न कोसिस गर्थेंं ।  

फिल्ममा ‘मेरो एउटा साथी छ’ गरेपछि जुन प्रतिक्रिया आयो, त्यसपछि यही क्षेत्रमा लाग्छु भनेर सोचेँ । सुरुवातमा कुनै सोच नै थिएन । मलाई केही बन्छु भन्ने नै थिएन । पढिरहेको थिएँ । म कहिल्यै पनि कुनै योजना बनाउँदिनँ । जे आउँछ, त्यसलाई अगाडि बढाउने हो । 

मानिसको प्रगतिको ग्राफ उकालो लाग्नका लागि ऊसँग केही न केही त हुनैपर्छ । जुन चिजलाई उसले इमान्दार भएर पनि प्रस्तुत गर्नुपर्छ । र ऊ उकालो लाग्छ । उत्तिकै मात्रामा साधना र संघर्ष पनि चाहिन्छ । तर आर्यन भने आफूसँग भएको क्षमताबारे नै अनभिज्ञ थिए;

हो, मलाई थाहै थिएन, मसँग अभिनय गर्ने कला थिएछ । नाच्ने क्षमता रहेछ । मभित्र के छ भन्ने पनि थाहा थिएन । दर्शकले ममा भएको कुरालाई रुचाइदिनुभयो, त्यही कारण नै म यहाँ छु । 

आर्यनको यो कुरा सुनेपछि लाग्छ– उसो भए आर्यन अहिलेसम्म गरेका फिल्मसँग सन्तुष्ट छन्, पछुतो छैन । तर पनि आर्यन सन्तुष्ट थिएनन्÷छैनन्;

म आफूले गरेका फिल्मसँग सन्तुष्ट थिइनँ । काम आउँथ्यो, गर्थें । मेकरहरू अहिलेका जस्ता थिएनन् । स्क्रिप्ट खासै राम्रो आउँदैन थियो । मैले राष्ट्रिय अवार्ड जितेको फिल्म ‘मौसम’ पनि ‘मैने प्यार क्यु किया’को कपी थियो । नराम्रोमध्ये यो चाहिँ ठिकै छ भनेर छानेर फिल्म गर्नुपर्ने अवस्था थियो । त्यही भएर म आएको पात्रलाई निभाउँथेँ, तर फिल्मप्रति सन्तुष्ट भने थिइनँ । 

र पनि त्यस्तै फिल्मले नै आर्यनलाई यो स्थानसम्म ल्याइपु¥यायो । तर विगतप्रति त हरकोहीको पछुतो र गुनासो भइहाल्छ नै । आर्यनसँग पनि अलिअलि छ;

त्योभन्दा राम्रो वातावण भएको भए, राम्रो स्क्रिप्ट पाएको भए अझै राम्रो गर्न सक्थेँ भन्ने लागिरहन्छ । अहिले फिल्मको टेक्नोलोजी, परिश्रमिक बढेको छ । तर स्क्रिप्टको कुरामा प्रगति भएको छैन । एकाँध बाहेक गुनासो आइरहेको छ । त्यही भएर चित्त त कहिले पनि बुझ्दैन नै । न आज बुझ्छ, न भोलि बुझ्छ न त हिजो नै बुझ्थ्यो ।

वेलावेला सुनिने गर्छ, निर्माताहरू पैसा खन्याउन मात्र आउँछन् । फिल्म हलमा पुगेर डुब्छ र निर्माता टाट पल्टन्छन् । तर आर्यनलाई भने त्यो हल्ला मात्र लाग्छ;

त्यो त हल्ला मात्र हो । किनभने यत्रो वर्ष भयो, मैले पनि त फिल्म उद्योगलाई नियालिरहेको छु । मेरो फिल्ममा आजको दिनसम्म पनि त्यस्ता निर्माता आएनन् । आजको दिनसम्म खुसी छु, यात्रा ठीकठाक छ । 

भोलिको यात्रा–

म खुसी छु आज । भोलिको बारेमा सोचेर किन दुःखी हुनु । फिल्म रिलिज हुँदैछ, च च हुइँ । खुसी नै छु । सबैजना खुसी हुनुहुन्छ । भोलिको दिनमा खुसी हुने कुरा अर्कै आउला ।

वेलावेला अर्को कुरा पनि सुनिन्छ, फिल्म उद्योगमा सिण्डिकेट छ, गुट छ । त्यस्ता कुराको चपेटामा आर्यन पनि परेका होलान् । तर, एकछिन सोचेर आर्यन आफूलाई एक्लो बताउँछन्;

छ है त्यस्तो पनि ? अहिले पनि म चाहिँ व्यक्तिगत रूपमा काम गरिरहेको छु । मेरो ग्रुप भन्ने कहिले पनि थिएन र छैन पनि । ग्रुपहरू होलान्, भयो भने राम्रो । मलाइ चाहिँ त्यो चिजले असर गर्दैन । फिल्ममा मेरो एक्लो यात्रा हो, एक्लै छु ।

मलाई थाहै थिएन, मसँग अभिनय गर्ने कला थिएछ । नाच्ने क्षमता रहेछ । मभित्र के छ भन्ने पनि थाहा थिएन । दर्शकले ममा भएको कुरालाई रुचाइदिनुभयो, त्यही कारण नै म यहाँ छु ।

एक्लो ?

हो । एक्लो यात्रा । अघि भनेँ त, खुसी थिएँ म र छु पनि । मानिस आफू सन्तुष्ट हुन जरुरी छ । आफ्नो कारणले अरूलाई दुःखी नबनाउने हो । म सिंगल छु, ग्रुप छैन, सबैका लागि अभाइलेवल छु र खुसी छु ।  

त्यता रमाइलो हुन्छ रे ! सुनेको हुँ । तर म समूहमा मात्र छैन, त्यस्ता समाचार पनि हेर्दिनँ । सरर शीर्षक हेर्छु, कसैले बोलिरहेको छ भने यसो सुनिदिन्छु । फिल्म सकिएपछि मेरो फिल्मभन्दा बाहिरको संसार छ । त्यो कारणले गर्दा पनि त्यस्ते महसुस कहिल्यै गरिनँ ।

अरूको चासो राखेर बस्न मन लाग्दैन । मैले चासो राख्ने भनेको कसैले फिल्म बनाउन चाहन्छ भने कसरी राम्रो बनाउने भन्ने कुरामा छलफल गर्ने हो । ग्रुपमा जाने, राजनीति गर्ने होइन । सबैले यही बानी अपनाए भने सबै खुसी हुन्छन् । 

म सिधा मान्छे छु । राजनीति जान्दै जान्दिनँ । सीधा मात्र हो । खेल पनि टेबल टेनिस हो मैले खेल्ने । तासमा म्यारिज कहिलेकाहीँ खेल्छु, तर हार्छु । म दिमाग लगाउन कहिल्यै सक्दिनँ । 

तर पनि फिल्म उद्योगप्रति त आर्यनलाई चासो हुने भइहल्यो । केही होस् चाहन्छन्;

अहिले पनि हामी अगाडि नै छौं । मुख्य कुरा स्क्रिप्टमा मिहेनत गर्नुपर्छ । मेरो समयमा त कलाकार थोरै थिए । कलाकार पाउन पनि गाह्रो थियो । अहिले त धेरै कलाकार छन् । काम गर्न सहज छ । खोजेको पात्र तुरुन्त पाइन्छ । मेरो एउटा इच्छा भनेको कुनै दिन नेपाली फिल्मक वल्र्डवाइड रिलिज हुँदैछ भन्ने सुन्दा खुसी हुनेछु । 

त्यसका लागि त आर्यनसँग पनि समय छ त ?

मैले मात्र होइन । हामी सबै मिलेर गर्ने हो । एक्लैले गरेर हुने कुुरा हुँदै होइन । 

आर्यनको केही अगाडि प्रदर्शन भएको ‘हजार जुनीसम्म’ ले बक्स अफिसमा त्यति राम्रो गर्न सकेन । तर, आर्यन स्वीकारिहाल्दैनन्;

औसत गरेको हो । कमाइ गरेकै हो । बजेटको हिसाबले गर्दा फिल्मले राम्रो गर्न नसकेको भन्ने हो । नत्र फिल्मले डेढ, दुई करोडको व्यापार गरेकै हो । अहिले आउन लागेको चच हुई कमेडी जनरा हो । दर्शकले ट्रेलर मन पराइरहनु भएको छ । 

चच हुई पनि बजेटको हिसाबले नै औसत भइदिने हो कि !

बजेट त मलाई थाहा छैन । डेढ–दुई करोडको होला सायद । तर दर्शकले अवस्य रुचाउनुहुनेछ । ढुक्क छु । 

आर्यनले कुराकानीको बिट मारे । डबिङको काममा जानुपर्ने रहेछ । लगभग ४५ मिनेटको कुराकानीमा आर्यनले एकपटक पनि चश्मा खोलेनन् । जाँदाजाँदै आर्यनतिर एउटा प्रश्न पनि गयो– अब त निर्देशनमा पनि आउने होला नि ?

अहिले कुनै सोच छैन । भोलिको दिनमा केही गर्न सकिएला । 
०००