मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३ मंगलबार १२:०४:००
Read Time : < 1 मिनेट
प्रदेश

भाडाको घरमा बस्न बाध्य स्थानीय सरकार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३ मंगलबार १२:०४:००

फालेलुङ गाउँपालिकाको कार्यालय स्थानीय तह गठन भएदेखि नै मासिक २० हजार रुपैयाँ भाडा तिर्ने गरी घर भाडामा लिएर सञ्चालन हुँदै आएको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको आफ्नै भवन बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भने तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत मौसम ढुंगेलले जानकारी दिए । उनले भने, ‘भवन निर्माणको कार्य चालू आर्थिक वर्षमै गर्ने तयारी भए पनि अहिलेसम्म भाडाको घरमै कार्यालय सञ्चालन गरिँदै आएको छ । यता, फिदिम नगरपालिका पनि भाडाकै घरमा सञ्चालित छ । मासिक ३७ हजार भाडा तिरिरहेको नगरपालिकाको निर्माणाधीन भवन चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको प्रमुख प्रशासकीय अधिकृत विनोद दाहालले जानकारी दिए । त्यसैगरी कुम्मायक गाउँपालिका पनि भाडाको घरमा सञ्चालन भइरहेको छ । भवनका लागि जग्गा प्राप्ति गर्ने चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

आफ्नै भवन नभए पनि याङ्वरक गाउँपालिकाले भने भाडा तिर्नुपरेको छैन । साँघुरो स्थानमा कोचिएर भए पनि साबिक थर्पु गाविसको भवनबाटै गाउँपालिकाले प्रशासनिक कार्य सञ्चालन गरिरहेको छ । याङ्वरकको पनि भवन निर्माणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङले जानकारी दिए । हिलिहाङ गाउँपालिकाको पनि प्रशासनिक कार्य साबिक गाविस भवनबाट सञ्चालन भइरहेको छ ।

फाल्गुनन्द गाउँपालिकाले भने तत्कालका लागि स्थानीय विद्यालयको माथिल्लो तलामा स्थान पाएको हुन्छ । जिल्लाका आठवटै स्थानीय तहले स-साना कोठा र साँघुरो स्थानबाट सेवा प्रदान गरिरहेको छ । जसका कारण न सेवाग्राहीले समयमै सेवा प्राप्त गर्न सकिरहेका छन् न कर्मचारीलाई नै सेवा प्रदान गर्न सहज भएको छ ।

अधिकांश स्थानीय तहको भवन निर्माण भइरहेका कारण छिटै प्रशासनिक कार्य चुस्त–दुरुस्त हुने अपेक्षा गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद दाहालले बताए ।