१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:४९:००
Read Time : > 1 मिनेट
खेलकुद

इमर्जिङ टिम्सबाट बाहिरियो नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:४९:००

नेपाल एसियाली क्रिकेट परिषद् (एसिसी) इमर्जिङ टिम्स एसियाकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल सोमबार भएको खेलमा आयोजक बंगलादेशसँग आठ विकेटले पराजित भयो । पराजयसँगै प्रतियोगितामा नेपालको उपाधि सम्भावना टुङ्गिएको हो । नेपाललाई सेमिफाइनलमा स्थान सुरक्षित गर्न बंगलादेशविरुद्धको यो खेलमा जित अत्यावश्यक थियो । यद्यपि, नेपाल जित्नैपर्ने खेलमा पराजित हुन पुग्यो ।

प्रतियोगिताअन्तर्गत चार टोली सहभागी समूह बीमा एक जितसँगै दुई अंक जोडेको नेपाल तेस्रो स्थानमा रह्यो । समूह बीबाट आयोजक बंगलादेश विजेता र भारत उपविजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेका छन् । जितविहीन हङकङ अंक–तालिकाको पुछारमा छ । नेपालले प्रतियोगितामा एक मात्र जितहङकङविरुद्ध निकालेको थियो ।

समस्या ब्याटिङमै
बंगलादेशको साभरमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा १३८ रनको सामान्य योगफलमै समेटिन पुगेको थियो । जवाफमा बंगलादेशले २४ ओभरमै मात्र दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालले ब्याटिङमा निरन्तर कमजोर प्रदर्शन ग-यो ।

नेपालका लागि सोमपाल कामीले ३८ रन जोड्नुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । अघिल्लो दुई खेलमा खाता खोल्नुअघि नै आफ्नो विकेट गुमाएका कप्तान ज्ञानेन्द्र मल्लले बंगलादेशविरुद्ध २२ रन जोडे । करण केसी १८, आरिफ सेख ११ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपाललाई सस्तो योगफलमा समेट्न सुमोन खान र मिनहाजुल अबेदिन अफ्रिदीले तीन–तीन विकेट लिए । तन्विर इजलाम र महेदी हसनले समान दुई विकेट लिए । 

करणलाई सौम्याको विकेट
बंगलादेशले नेपालविरुद्धको खेलमा आफ्ना अनुभवी खेलाडीलाई मैदानमा उतारेको थियो । त्यसमध्ये बंगलादेशी राष्ट्रिय टोलीबाट १५ टेस्ट र ५५ एकदिवसीय मान्यताप्राप्त खेल खेलिसकेका सौम्या सरकारलाई ११ रनमै आउट गर्दै करण केसीले नेपाललाई सुखद सुरुवात दिलाएका थिए । यद्यपि, कप्तान नजमुल हुसेन सान्टोले ५६ बलमा अविजित ५९ रन जोडेपछि नेपालले आफ्नो सामान्य योगफल जोगाउन सकेन । कप्तान सान्टो र प्रारम्भिक खेलाडी मोहम्मद नइम (४५)ले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए । यासिर अली ११ रनमा आउट भए । नमइमको विकेट सुसन भारीले लिएका थिए । 

भारतविरुद्ध पाकिस्तान
प्रतियोगिताअन्तर्गत मिरपुरमा हुने पहिलो सेमिफाइनल खेलमा दुई कट्टर टोली भारत र पाकिस्तान भिड्ने भएका छन् । पाकिस्तान समूह एको विजेताका रूपमा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो । यी दुई टोलीबीचको खेल बुधबार हुनेछ । यस्तै, सोही दिन हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक बंगलादेश र अफगानिस्तान भिड्नेछन् । अफगानिस्तान समूह एको उपविजेता टोली हो । समूह एबाट ओमान र श्रीलंका भने बाहिरिएका छन् ।