मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:३४:००
Read Time : > 1 मिनेट
खेलकुद

२०२२ को कतार विश्वकप एसियन छनोट : कुवेतसँग दोस्रो खेल खेल्दै नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:३४:००

नेपाली राष्ट्रिय फुटबल टोलीले २०२२ को कतार विश्वकपअन्तर्गत एसियन छनोटको घरेलु खेलका रूपमा कुवेतविरुद्धको दोस्रो खेलमा मंगलबार प्रतिस्पर्धा गर्दै छ । समूह बीमा रहेको नेपाल पहिलो अवे खेलमा कुवेत सिटीको जविर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा ७–० ले पराजित भएको थियो । भुटानको थिम्पुमा मंगलबार हुने प्रतिस्पर्धामा नेपाल कुवेतसँग बदला लिने योजनाका साथ उत्रनेछ ।

नेपालले कुवेतको पोस्टमा गोल गर्न नसकेको ३७ वर्ष भइसकेको छ । सन् १९८२ मा एसियाकपमा कुवेतविरुद्ध नेपालका लागि वाइबी घलेले गोल गरेका थिए । घलेको सफलता नै अहिलेसम्म कुवेतविरुद्ध गरेको एक मात्र गोलका रूपमा रहेको छ । घलेको सो गोल नेपाली फुटबलकै पहिलो अन्तर्राष्ट्रिय गोलसमेत हो । अहिलेसम्म कुवेतले नेपालविरुद्ध २६ गोल गरेको छ ।

तटस्थ भूमिमा खेल
यसअघि ३ मंसिरमै दशरथ रंगशालामा नेपालले कुवेतविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भनिएको थियो । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रंगशाला तयार नहुँदा एसियन फुटबल महासंघ (एएफसी)ले नेपालमा खेल नहुने निर्णय ग-यो । नेपालकै प्रस्तावमा थिम्पुको चाङलिमिथाङमा खेल हुन लागेको हो । प्रतिस्पर्धाका लागि कुवेतको टोली गत साता नै भुटान पुगेको थियो । नेपाली टोली शनिबार मात्रै भुटान पुग्यो । कुवेतविरुद्धको खेलमा स्ट्राइकर अञ्जन विस्ट, विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशी हुनेछैनन् । यी चारै खेलाडी भुटान उड्ने अघिल्लो रात ठमेलको डिस्कोमा पुगेका थिए । अनुशासन तोडेका कारण चारै खेलाडीलाई कुवेतविरुद्धको खेलमा समावेश नगराउने अखिल नेपाल फुटब संघले जनाएको छ । 

आठ महिनामा चार खेल
नेपालले आठ महिनाको अवधिमा कुवेतविरुद्ध चौथोपटक प्रतिस्पर्धा गर्न लागेको छ । गत चैतमा कुवेतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो, जुन १९ वर्ष सम्भव भएको थियो । सो मैत्रीपूर्ण खेलमा युवा खेलाडीले मौका पाएका थिए । प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा पहिलो मैत्रीपूर्ण खेलमा नेपालले कुवेतलाई बराबरीमा रोकेको थियो । दोस्रो खेलमा भने नेपाल १–० ले पराजित भएको थियो ।  

खेलाडीसँग आत्मविश्वास
मुख्य प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलाडीले राम्रो लयमा प्रतिस्पर्धा गर्ने बताए । ‘हामी जतिसक्दो राम्रो खेल्ने कोसिस गर्छौं । अघिल्ला प्रतिस्पर्धा बिर्सिएर मैदानमा उत्रनेछौँ ।’ कालिनले खेलाडीको आत्मविश्वास र कडा मिहिनेतका कारण कुवेतलाई चुनौती दिन सक्षम रहेको बताए । ‘कुवेतले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, हामी बलियो आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्दै छौँ,’ उनले भने । यता कुवेतका प्रशिक्षक थामिर इनादले तीन अंकका लागि खेल हुने जनाए । ‘हामी तीन अंककै लागि प्रतिस्पर्धा गर्नेछौँ । नेपाललाई पराजित गर्दै अंक–तालिकाको दोस्रो स्थानमा कायम रहने लक्ष्य छ,’ उनले भने ।