मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:०५:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंका  पशु वधशाला सुधार्न कठिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार ११:०५:००

मासु व्यवसायीले घरधनीसँग कुरा नमिल्दा काठमाडौं महानगरपालिकामा सञ्चालित पशु वधशाला सुधारमा समस्या देखिएको बताएका छन् । महानगरको कृषि तथा पशुसेवा विभागको अगुवाइमा विष्णुमती नदी किनारामा सोमबार भएको अनुगमनका क्रममा व्यवसायीले घरधनीका कारण समस्या भएको बताएका हुन् । 

‘व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ, तर घरधनीले जग्गा लिजमा दिन सम्झौता गरेका छैनन् । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न,’ गणेश रोय नेवाः क्वालिटी मिट सपका सञ्चालक सबिक शाहीले भने, ‘आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ । कसरी लगानी गर्नु ?’

व्यवसायीले गुणस्तर सुधारमा स्थानीय सरकारले पनि सहयोग गर्नुपर्ने बताएका छन् । क्वालिटी फ्रेस एन्ड फ्रोजन मिट प्रालिका विनोद खड्गीले भने, ‘हामी प्रयास गर्दै छौँ । काठमाडौंबाहिर वधशाला बनाउँदै छौँ, काठमाडौंको पनि सुधार गर्छौँ । महानगरले सहयोग गर्नुपर्छ ।’

वधशाला वरपरका बासिन्दाले भने समस्या नपर्ने गरी व्यवसाय गर्नुपर्ने बताएका छन् । ‘हामीले व्यवसाय नगर्नु भनेका छैनौँ, तर व्यवसाय गर्ने नाममा हामीलाई समस्यामा पार्नुभएन । लादी भरिएर ढल टालिन्छ, घरभरि ढल छिर्छ । दुर्गन्धले घरमा बस्न नसक्ने हुन्छ,’ स्थानीय लक्ष्मीदेवी खड्गीले भनिन्, ‘राति ११÷१२ बजेसम्म भैँसी ल्याउने । १÷२ बजेदेखि वध गर्न थाल्ने । ग्यास बालेर डढाउन थाल्दा जहाज आएको जस्तो हुन्छ । कसरी सुत्नु ?’

पहिले खोलाकै किनारामा पशु वध हुने गरे पनि अहिले भने टहराभित्र काम हुने गरेको वडा नम्बर १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठले बताए । ‘केही सुधार त भयो, तर यतिले पुग्दैन । अहिले घरधनी र व्यवसायीका बीचमा कुरा नमिलेको देखिएको छ,’ उनले भने, ‘उहाँहरूलाई एक ठाउँमा ल्याएर छलफल गराउँछौँ । त्यसपछि व्यवसाय सुधारका लागि व्यवसायीसँग कुरा गर्छौँ ।’ वडासदस्य चन्द्रमान डंगोलका अनुसार वडा १९ भित्र सानाठूला गरी करिब ३५ वटा पशु वधशालाछन् ।