मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १०:४४:००
Read Time : > 1 मिनेट
अर्थ

ग्लोबल आइएमई र जनता बैंकलाई मर्जरको अन्तिम स्वीकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३ मंगलबार १०:४४:००

दुवै बैंकको साधारणसभाले पारित ग-यो १ः०.८५ स्वाप रेसियो

ग्लोबल आइएमई बैंक र जनता बैंकको वार्षिक साधारणसभाले एक–आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । सोमबार काठमाडौंका अलग–अलग स्थानमा भएको दुवै बैंकको साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । 

मर्जरका लागि तय भएको स्वाप रेसियोसमेत पारित गरेको छ । ग्लोबलको प्रतिसेयर एक सय र जनताको प्रतिसेयर ८५ रुपैयाँ स्वाप रेसियो (१ः०.८५) तय भएको हो । मर्जरपछि बन्ने बैंकको नाम पनि ग्लोबल आइएमई बैंक नै रहनेछ । दुवै बैंकले बोनस सेयरसहित लाभांश घोषणा गरेकाले सोसहित मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ पुग्ने भएको हो । यसो भएमा वाणिज्य बैंकमा यो बैंक पुँजीलगायत आधारमा सबैभन्दा अग्रपंक्तिमा हुनेछ । 

सभाबाट ग्लोबल बैंकले सेयरधनीलाई १२.७५ बोनस सेयर र १२.७५ नगद लाभांश तथा जनता बैंकले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत पारित गरेको छ । 

ग्लोबल बैंकको साधारणसभामा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने योजना रहेको जानकारी दिए । 
मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उनले सेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

मर्जरपश्चात् बन्ने बैंकको निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ र कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् बन्ने बैंक ७७ वटै जिल्लामा पुग्ने बताइएको छ । त्यस्तै, बैंकको ३ सयभन्दा बढी शाखा सञ्जाल, ३ हजार २ सय कर्मचारी, २० लाख ग्राहक संख्या पुग्नेछ । त्यस्तै, बैंकको २५६ एटिएम, २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर ३ वटा वैदेशिक सम्पर्क कार्यालय पुग्ने बताइएको छ । 

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा ग्लोबल आइएमईका तर्फबाट चन्द्र ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री हुने सम्झौता भएको छ । बैंकको वरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् । बिग मर्जरमा लैजाने राष्ट्र बैंकको योजनाअनुसार यी दुई बैंक मर्जरमा जान लागेका हुन् । अन्य वाणिज्य बैंकहरूले समेत मर्जरमा जाने राष्ट्र बैंकलाई जानकारी गराएको भए पनि जोडी भने खोजिसकेका छैनन् ।