मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
अशोक पहाडी रौतहट
२०७६ मङ्सिर ३ मंगलबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार

रेलमार्गको जमिनको उचित मुआब्जा नपाएको गुनासो

Read Time : < 1 मिनेट
अशोक पहाडी रौतहट
२०७६ मङ्सिर ३ मंगलबार १०:३९:००

रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ८ का जग्गाधनीले उचित मुआब्जा नपाएको भन्दै आन्दोलित भएका छन् । बर्दिवास निजगढ रेलमार्गअन्तर्गतका जमिनको उचित मूल्य नपाएको भन्दै चन्द्रपुर खण्डको निर्माणमा अवरोध गरेका छन् । जग्गाधनीले निर्माणको काममा अवरोध गरेका छन् । चन्द्रपुर नगरपालिका–८ बेतौनाटोलमा सर्भे गर्न आएको निर्माण व्यवसायी प्राविधिक चढेको बा.२१च ३४७३ नम्बर पिकअप भ्यानलाई केही दिनअघि रोकेका थिए । उनीहरूले रेलवेका प्राविधिकलाई काम गर्नसमेत अवरोध गरेका छन् ।

रेलको लिंक बनाउने जमिन तथा स्टेसन बनाउने जमिनको पुनः मूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग जग्गाधनीको रहेको छ । उचित मुआब्जा नपाएको गुनासो गर्दै करिब सय जग्गाधनीले माग सुनवाइ नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने बताएका छन् । उनीहरूले गृह मन्त्रालय, रेल विभाग, जिल्ला प्रशासनमा गुनासो गरे पनि सुनुवाइ नभएको बताएका छन् । चलनचल्तीभन्दा आधा रकम पनि नदिएको स्थानीयको भनाइ छ ।

कट्ठाको १० लाख पर्ने जमिनको साढे ३ लाख मात्रै मुआब्जा दिएको उनीहरूले बताएका छन् । बाटो भएको जमिनमा बाटो नदेखाएर कम मूल्यांकन गरिरहेको जग्गाधनीको भनाइ छ । निर्माणमा खटिएका ओभरसियर कुमार भट्टराईले अवरोधका कारण निर्माण कार्य गर्न असहज भएको बताए । तर, जग्गाधनीको माग समयमै सम्बोधन गरी काम सुरु गर्नुपर्ने माग राखेका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटले गत वर्ष फागुन ७ गते जग्गा अधिग्रहणसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेर जग्गा अधिग्रहणको सूचना निकालेको थियो ।