मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी हङकङ
२०७६ मङ्सिर ३ मंगलबार ०९:४०:००
Read Time : > 1 मिनेट
विश्व

हङकङ प्रदर्शन झन् उग्र : विश्वविद्यालय बन्यो रणभूमि

Read Time : > 1 मिनेट
एजेन्सी हङकङ
२०७६ मङ्सिर ३ मंगलबार ०९:४०:००

हङकङमा प्रहरी र प्रदर्शनकारीबीचको हिंसा झन् चर्किएको छ । केही दिनयता क्याम्पसमा जम्मा भएका प्रदर्शनकारी र प्रहरीबीच रातभर दोहोरो भिडन्त भएको छ । आइतबार रातभर भएको झडप सोमबार दिउँसोसम्म जारी रहेको थियो । झडप भएको मुख्य स्थान हङकङ युनिभर्सिटीलाई प्रहरीले सोमबार घेरा हालेको थियो । क्याम्पसबाट बाहिर निस्कन लागेका सयौँ प्रदर्शनकारीलाई प्रहरीले टियर ग्यास र रबरका गोली प्रहार गरेपछि झडप झन् हिंसात्मक बनेको थियो ।

मास्क लगाएका ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरीले राखेको अवरोध हटाउन खोजेपछि टियर ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । त्यसअघि प्रहरीले पोलिटेक्निक युनिभर्सिटी प्रवेश गर्ने प्रयास गरेको थियो । तर, विद्यार्थीले पेट्रोल बम र इँटा प्रहार गरेपछि भित्र जान हच्किएको थियो । सो विश्वविद्यालयका विद्यार्थी युनियनका कार्यवाहक अध्यक्ष केन वुका अनुसार कम्तीमा पाँच सय व्यक्ति क्याम्पसभित्रै छन् । आन्दोलन चर्किंदै गएपछि प्रदर्शनकारीले केही विश्वविद्यालयमा अखडा जमाएर सरकारको विरोध गर्दै आएका छन् । 

सोमबार दिउँसो प्रहरीले प्रदर्शनकारीलाई क्याम्पसबाट हट्न र आफ्ना हतियार तथा ग्यास मास्क त्याग्न आग्रह गरेको थियो । तर, क्याम्पसबाट बाहिर निस्कनेबित्तिकै पक्राउ पर्न सक्ने भन्दै त्यहीँभित्र बस्ने निर्णय गरेको एक आन्दोलनकारीले बताए ।

के भइरहेको छ विश्वविद्यालयमा ?
प्रदर्शनकारीले धेरै दिनदेखि क्याम्पस ओगटेका छन् । सोमबार रातभर प्रदर्शनकारीले प्रहरीलाई पेट्रोल बम, भाला र इँटा प्रहार गरेका थिए भने प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । ‘प्रहरीले युनिभर्सिटीमा टियर ग्यास र पानीको छर्रा तथा घातक निलो तरल पदार्थ फालेको छ,’ हङकङ युनिभर्सिटीका प्राध्यापक जिन जुवाङ तेङले भने, ‘छातालाई कवचको रूपमा प्रयोग गरेका प्रदर्शनकारीले बम, ढुंगा तथा भाला प्रहार गरेका छन् ।’


स्थानीय समयअनुसार सोमबार बिहान साढे पाँच बजे प्रहरी क्याम्पसमा प्रवेश गर्न खोज्दा उनीहरूमाथि प्रदर्शनकारीले अन्धाधुन्द बम प्रहार गरेका थिए । पूर्ण रूपमा उज्यालो भएपछि प्रदर्शनकारी सो क्षेत्रबाट भाग्न खोज्दा प्रहरीले टियर ग्यास र रबरका गोली प्रहार गरेको थियो ।आइतबार हङकङ युनिभर्सिटीले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण क्याम्पस भवन नराम्रोसँग भत्किएको जनाएको छ ।

पोलिटेक्निक युनिभर्सिटीमा रहेका प्रदर्शनकारीमध्ये अधिकांश विश्वविद्यालयका विद्यार्थी भएको बताइन्छ । प्रदर्शनकारीले यसअघि विश्वविद्यालयका विद्यार्थी र आफ्नो आन्दोलनप्रति सहानुभूति राख्ने समुदायलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका थिए । आइतबार साँझ पोलिटेक्निकका अधिकारीले क्याम्पसलाई कार्यकर्ताले घेरेको भन्दै खाली गराउन सम्पूर्ण कर्मचारी र विद्यार्थीलाई आह्वान गरेका थिए । अधिकांश प्रदर्शनकारी किशोर र माध्यमिक विद्यालयका विद्यार्थी भएको बताइएको छ ।