प्रविधिबारे चीनको चिन्ता र अमेरिकी भूमिका
चीनले प्रविधि क्षेत्रमा गरेको लगानीमा अमेरिकाले गर्ने समान र सम्मानजनक व्यवहार नै चीन–अमेरिका आर्थिक सम्बन्धको सहमतिको बिन्दु हो
चिनियाँ टेलिकम कम्पनी हुवावे अहिले अमेरिका र चीनबीचको व्यापारको केन्द्रमा छ । यदि अमेरिकाले छिटोभन्दा छिटो व्यापार युद्ध टुंग्याउन चाहन्छ भने वासिंटनले तत्कालै अमेरिकी कम्पनीलाई चिनियाँ टेलिकम जाइन्टका लागि सामग्री निर्यात गर्न अनुमति दिनुपर्छ । विश्वका दुई प्रमुख अर्थतन्त्रबीच पछिल्लो १६ महिनायता देखिएको आर्थिक समस्याले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाएको छ । यसलाई हल गर्नका लागि अमेरिकाले चिनियाँ कम्पनीसँग समान र अनुशासित व्यवहार गर्नुपर्छ ।
हुवावेले बेइजिङका लागि जासुसी गर्न सक्छ र चीन सरकारसँग युजर डाटा सेयर गर्न सक्छ भन्ने अमेरिकी चिन्ता छ । हुवावेका अमेरिकास्थित प्रमुख सुरक्षा अधिकृत एन्डी पुर्डेले यसलाई हल गर्न परीक्षण संयन्त्र राख्न सकिने बताएका छन् । हुवावेको प्रयासबारे अमेरिकी सरकारले जवाफ दिनुपर्छ, हुवावेले स्वस्थ, सम्मानजनक र पारदर्शी वातावरणमा विदेशी कम्पनीसँग काम गर्ने बताएको छ । त्यसैले यो अमेरिकी सरकारको विश्वसनीयता परीक्षणको समय हो ।
सिएनबिसीले ३ नोभेम्बरमा अमेरिकी वाणिज्यमन्त्री विल्बुर रोसलाई उद्धृत गर्दै हुवावेलाई सामान बिक्री गर्ने अनुमति अमेरिकी कम्पनीलाई छिट्टै दिइने उल्लेख गरेको छ । तर, यो नै पर्याप्त छैन । लाइसेन्स तत्कालै जारी गर्नुपर्छ । योभन्दा पनि महत्वपूर्ण, हुवावेलाई ‘युएस इन्टिटी लिस्ट’बाट हटाउनुपर्छ । यस सूचीमा परेका कम्पनी अमेरिकी उत्पादन खरिद गर्नबाट वञ्चित छन् र अहिले हुवावेले यस्तो नियति व्यहोरिरहेको छ ।
अमेरिका छिटोभन्दा छिटो व्यापार युद्ध टुंग्याउन चाहन्छ भने वासिंटनले तत्कालै अमेरिकी कम्पनीलाई चिनियाँ टेलिकम जाइन्ट हुवावेका लागि सामग्री निर्यात गर्न अनुमति दिनुपर्छ
बिहीबार वाल स्ट्रिट जर्नलले चीन र अमेरिकाबीचको व्यापार संवादमा कृषि सामग्री खरिदबारे अमेरिकाले जोड दिएको उल्लेख गरेको छ । चीनले मात्रै एकपक्षीय सहुलियत दिन सक्दैन । चिनियाँ पक्षले कृषि उत्पादनमा सहुलियत दिनका लागि उसले अमेरिकी पक्षबाट अन्य क्षेत्रमा सहुलियत पाउनुपर्छ, जस्तो– सूचना प्रविधिमा । चीनको उच्च–प्रविधि लगानीमा स्वस्थ व्यवहार गर्नका लागि अमेरिका कति गम्भीर छ भन्ने परीक्षा हो, हुवावे प्रकरण ।
अमेरिका र चीनबीच बहुपक्षीय लगानीका लागि सम्झौता (बिआइटी) सन् २००८ देखि सुरु भएको थियो र यसमा २०१३ मा महत्वपूर्ण प्रगति भयो, जतिवेला चीन ‘नेगेटिभ लिस्ट’ अप्रोचका आधारमा सम्झौता गर्न राजी भयो । यद्यपि अमेरिका अझै पनि चिनियाँ कम्पनीले सामना गर्दै आएका समस्या समाधानमा निकै टाढा छ । विशेषगरी उच्च–प्रविधि उद्योगमा, जब चिनियाँ कम्पनीले अमेरिकामा लगानी गर्छन् ।
चीनले प्रविधि क्षेत्रमा गरेको लगानीमा अमेरिकाले गर्ने समान र सम्मानजनक व्यवहार नै चीन–अमेरिका आर्थिक सम्बन्धको सहमतिको बिन्दु हो । अमेरिकाले लामो समयसम्म चीनका मागलाई बेवास्ता गर्न सक्दैन र उसले चीनको वास्तविक चिन्ताप्रति तर्कसंगत प्रतिक्रिया जनाउनैपर्छ । त्यसैले, हुवावेका लागि आवश्यक सामग्री सप्लाई गर्न केही अमेरिकी कम्पनीलाई इजाजत दिइनुपर्छ ।
(लेखक ग्लोबल टाइम्सका रिपोर्टर हुन्)चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सबाट